सेयर धितो कर्जाको सीमा बढ्यो: बढेन सेयर बजार, किन उत्साहित देखिएनन् लगानीकर्ता ?

काठमाडौं । चौतर्फी आलोचना र दबाबपछि गत बिहीबार नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको क्याप परिमार्जन गरेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा १२ बाट बढाएर १५ करोड रुपैयाँ पुर्याएको छ ।
राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । नीतिगत फेरबदल गरि राष्ट्र बैंकले सीमा बढाए पनि सेयर लगानीकर्ताहरु खुसी देखिएनन् । यस्तो नीतिले सेयर बजारमा झन् नकारात्मक प्रभाव पारेको छ ।
बिहीबार राष्ट्र बैंकले परिमार्जन गरेको सेयर धितो कर्जाको सीमा बढाएपछि सेयर बजारमा उछाल आउने अपेक्षा गरिएको थियो । तर, आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन बजार ३५.६७ अंकले घटेको हो । सो दिन बजार परिसूचक पनि २ हजार बिन्दु तल झरेको वछ ।आइतबार परिसूचक १९२१ अंकको बिन्दुमा पुगेर बन्द भएको हो ।

आज पुरै सबइन्डेक्स राताम्य बनेका छन् । बजार घटेपनि गत बिहीबारको तुलनामा भने कारोबार रकम वृद्धि भएको छ । आज १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको ५८ लाख १५ हजार १८९ कित्ता सेयर किनबेच भएको छ ।
लगानीकर्ताले हाल कायम रहेको भारित औषत १५० बाट १०० प्रतिशत कायम गर्न माग गरेका थिए । तर, केन्द्रीय बैंकले यसमा कुनै पनि परिवर्तन गरेको छैन । सोही कारण नै लगानीकर्तामा उत्साह नदेखिएको हो । एक लगानीकर्ताले भने,– ‘हामीले हाल कायम रहेको भारित औषत १५० बाट १०० प्रतिशत कायम गर्न भनेका थियौं । तर, यसमा केन्द्रिय बैंकले कुनै परिवर्तन गरेन् । सेयर कर्जाको सीमा बढाए पनि खास खुसी छैन । पछिल्लो नीतिले लगानीकर्ताको मनोबल बढाउन नसकेको हो ।’