सेयर बजार: चार दिनको राताम्य यात्रामा लाग्यो ब्रेक, १० उपसूचक हरियाली, अबको बाटो कता ? « Arthapath.com
४ असार २०८२, बुधबार

सेयर बजार: चार दिनको राताम्य यात्रामा लाग्यो ब्रेक, १० उपसूचक हरियाली, अबको बाटो कता ?



काठमाडौँ । चार दिनको राताम्य पछि आज सेयर बजारमा सुधार देखिएको छ । चार दिन देखि भारी गिरावट आइरहेको सेयर बजारमा बुधबार ब्रेक लागेको छ । नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जामा लगाइएको क्याप परिमार्जन व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । नीतिगत फेरबदल गरी राष्ट्र बैङ्कले सीमा बढाए पनि सेयर लगानीकर्ताहरू खुसी देखिएका छैनन् ।

सेयर धितो कर्जाको सीमा हटाएपछि सेयरमा उछाल आउने अपेक्षा थियो । तर, राष्ट्र बैङ्कको सर्कुलर पछि सेयर बजार लगातार तीन दिन राताम्य भएको बजार आज सामान्य सुधार मात्र देखिएको हो ।

लगानीकर्ताले लामो समयदेखि सेयर धितो कर्जामा लगाइएको क्याप हटाउन माग गर्दै आइरहेका थिए । उक्त कर्जामा लगाइएको क्याप हटाएपछि बजार सकारात्मक दिशामा अघि बढ्ने लगानीकर्ताहरूले अनुमान लगाउँदै आएका थिए । तर, केन्द्रीय बैङ्कले सेयर धितो कर्जाको सीमा बढाएपछि पनि बजार सुधार तिर लम्कीन सकेको छैन ।

अझ, यति बेला लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयर किन्ने वा होल्ड गरेर राख्नेले केही समयमै लाभांश हात पार्न सक्छन् । यो बेला चहलपहल हुनुपर्ने समय हो । तर, बजारले घट्दा लगानीकर्ता निराश बनेका छन् । नियामक निकायले लगानीकर्ताको नीतिगत रूपमा अभिभावकत्व ग्रहण नगर्दा नै बजारमा नकारात्मक प्रभाव पारेको लगानीकर्ताहरुको भनाइ रहेको छ ।

बजार आज ५.१६ अकंले बढेर १८९४.७६ बिन्दुमा बन्द भएको छ । बुधबार २८६ कम्पनीको ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।

बुधबार १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.०८ प्रतिशत, विकास बैंक समूहको ०.२५ प्रतिशत, फाइनान्स समूहको ०.५४ प्रतिशत, होटल पर्यटन समूहको १.८० प्रतिशतसहित १० उपसूचकमा सुधार छ ।

आज माण्डु हाइड्रोपावरको ४ करोड ८० लाख ९०हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्