के सेयर बेचेर जग्गा किन्दै छन् लगानीकर्ता ? जराबाटै हरियो बन्दै छ अर्थतन्त्र

काठमाडौं । अहिले सेयर बजार राताम्मे छ । दशैंपछि यसले बृद्धिको बाटो समात्ला भन्ने आशामा रहेका साना लगानीकर्ता अहिले निरास भएका छन् । तै पनि केही लगानीकर्ताले ऋण–धन गरेर थोरैथोरै लगानी सेयर बजारमै थप्न पनि थालेका छन् ।
त्यसो त, सेयर बजार अहिले निरन्तर ओरालोमै छ । पछिल्लो पटक गत साउन ७ गते २२२७ अंकमा बन्द भएयता नेप्से लगातार घटेर विहीबार १८४७ अंकमा झरेको छ ।
२०७७ मंसिरपछि न्यूनतम विन्दुहरुको परक्षिण गर्ने क्रममा अहिले पनि सेयर बजारले तल्ला टेवा विन्दुहरु खोजिरहेको देखिन्छ । ऐतिहासिक रुपमा ३२२७ अंकसम्म पुगेर ओरालो लागेपछि नेप्सेले सबैभन्दा न्यून विन्दुको रुपमा १८०६ अंकमा टेवा पाएको देखिन्छ ।
त्यसपछि भने नेप्से २२७७ अंकभन्दा माथि उक्लिन सकेको छैन । २०७९ असार १० मा कायम भएको १८०६ अंकको न्यूनतम विन्दुपछि नेप्से अहिलेसम्म ८ पटक १८५० भन्दा तल आएर टेवा पाइसकेको छ । यो हप्ता फेरी एक पटक सेयर बजारले उक्त मनोवैज्ञानिक स्तरलाई पार गरेर तल ओर्लिएको छ ।
बाह्य र आन्तरिक अर्थतन्त्रका थुप्रै सूचकहरु सकारात्मक बन्दै गएको बेलामा पनि सेयर बजारको यो निरासाजनक प्रस्तुतिले कयौं साना लगानीकर्तालाई अक्क न बक्क बनाइदिएको छ । तर यसो हुनुको कारण अर्कैतिर सोझिएको हुनसक्ने पनि कतियको बुझाइ छ ।
जग्गामा आकर्षण
सरकारले अर्थतन्त्र चलायमान बनाउन र अंशबण्डाजस्ता सामाजिक थितिहरुलाई सहजिकरण गर्न भन्दै जग्गाको कित्ताकाट फुकुवा गरिदिएपछि घरजग्गाको कारोबार र कित्ताकाटमा क्रमिक सुधार देखिएको छ ।
पछिल्लो समय शहरोन्मुख इलाकामा घरजग्गाको मूल्य ब्यापक कममी आएको छ । आर्थिक गतिविधिमा आएको सुस्तता र ठूलो मात्रामा बढेको युवा पलायनले स्वदेशमा जग्गाको माग र कारोबार दुबैलाई संकुचनमा पुर्याएको थियो । तर अव विस्तारै त्यसतर्फ माहोल फेरिँदै छ ।
अघिल्लो सालको असोजको तुलनामा यो वर्ष पाँच गुणाभन्दा धेरैले जग्गाको कारोबार बढेको तथ्यांक भूमि व्यवस्थापन तथा अभिलेख विभागले दिएको छ ।
विभागका अनुसार गत साल १९,१७८ कित्ताकाट भएको थियो भने यो वर्ष १,०६,३४९ कित्ताकाट भएको छ । साउनदेखिकै कारोबारको आँकडा हेर्ने हो भने भदौ र असोजमा क्रमशः कारोबार बढ्दै गएको देखिन्छ । यसले आउँदा दिनमा पनि घरजग्गाको कारोबार बढ्दै जाने प्रबृत्तिको बलियो संकेत प्रस्तुत गरेको छ ।
यसको अर्को पक्ष चाहीँ व्यावसायिक प्रयोजनका लागि लगानी गरिएका ठूला प्लटको कित्ताकाट बढेको देखिएको छ । विभागका अनुसार गत साउनमा जम्मा २९१ वटा कित्ता टुक्राएर ७७,०६८ कित्ता बनाइएको छ । भदौमा पनि ३६,२८० कित्ता टुक्राएर ८०,३१७ कित्ता बनाइएको छ । असोजमा ४७,३९८ कित्ता टुक्राएर १,०६,३४९ कित्ता बनाइएको छ ।
विगतमा नेपाली अर्थतन्त्रलाई ठूलो समस्या निम्त्याउने मुख्य कारण सहकारीको लगानी हो । ६० लाखभन्दा धेरै सदस्यलाई जोडेको सहकारी संयन्त्र नै सुरुमा धरासायी बन्न पुग्यो । यसमा अर्बौंको कारोबार गर्ने ठूला सहकारी संस्थाले ब्यापक मात्रामा जग्गामा लगानी गरेका थिए ।
तर सरकारले २०७९ जेठमा भू–उपयोगसम्बन्धि नियमावली ल्याएर स्थानीय तहमार्फत जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट हुने व्यवस्था गर्यो । त्यसरी वर्गीकरण नभएको जग्गा किनबेच भएमा बैंकले पनि ऋण दिन नपाउने प्रबन्ध गरियो । यसले घरजग्गाको कारोबार ठप्पप्रायः बनाएपछि सहकारीमा तुरुन्तै समस्या आयो ।
सहकारीको पैसा घरजग्गामा लगानी गरेर सट्टेबाजीमार्फत् रातारात अर्बैं कमाउने उद्देश्य लिएका संस्थाहरु बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि सहकारीमात्रै होइन, ब्यापार प्रणालीमै तल्लो तहबाट भुक्तानी रोकिन थाल्यो । त्यसपछि उद्योगी र आयातकर्तासम्म आइपुग्दा ठूला बैंकको ऋण नै नउठ्ने समस्या बन्यो ।
अहिले हाम्रो आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याको जरो त्यही विन्दु हो । अहिले त्यही जराबाटै अर्थतन्त्रको पाउला हरियो हुन थालेको देखिएको छ । गत साउन ३० को मन्त्रीपरिषद बैठकले कित्ताकाट, नामसारी सहितका जग्गासम्बन्धि रोकिएका सबै प्रक्रिया फुकाउने निर्णय सहित भूउपयोग नियमावली संशोधन गरेपछि विस्तारै घरजग्गाको समस्या सल्टिने छाँटकाँट देखिएको छ ।
अव बैंकमा लगानीयोग्य पैसा बढेको र विस्तारै ब्याजदर बढाउने प्रतिस्पर्धा पनि मन्द हुँदै औसतमा ब्याजदर घट्न थालेको छ । यस्तो अवस्थामा ज्यादै सस्तो मोलमा पाइने जग्गामा लगानी गर्न ठूला लगानीकर्ता आकर्षित भएको हुनसक्ने देखिएको छ ।
सेयर बजारमा उनीहरुको संलग्नता बिना परिसूचक हरियो हुने छैन । तर अहिले सस्तो भाउमै भए पनि सेयर बेचेर त्यो पैसाले ज्यादै सस्तो भएको जग्गा उठाउनेतिर ठूला लगानीकर्ता लागेको हुनसक्ने विश्लेषक बताउँछन् । बढ्दो कारोबारको आँकडाले पनि यो अनुमानमा बल पुगिरहेको छ ।
त्यसो त, गत सालको व्यवसथाले १३० वर्गमिटर अर्थात् ४ आनाभन्दा सानो हुनेगरी कित्ताकाट गर्न नपाइने भनेको थियो । तर यो साल सरकारले ८० वर्गमिटर अर्थात् साढे २ आनाको टुक्रा हुने गरी कित्ताकाट गर्ने सुविधा दिएको छ । यसले पनि घरजग्गाको कारोबारलाई छिट्टै उकास्न मद्दत पुग्ने अनुमान धेरैको छ ।
बढ्दो रेमिटेन्सका कारण त्यो पैसा लगानी गर्ने राम्रो विकल्पको रुपमा छिट्टै घरजग्गा कारोबार चम्किन सक्ने आनँकलन व्यवसायीको छ । अहिले सस्तो भाउमा जग्गा किनेर राख्न पाए पछि त्यही जग्गाको धितोमा सेयर किन्ने ऋण पाइने पनि कतिपयको बुझाइ हुनसक्ने ब्रोकरहरु बताउँछन् ।