सेयर बजारमा झिनो सुधार, कारोबार पनि पुग्यो १ अर्ब

काठमाडौँ । तिहार र छठमा १० दिन बन्द भएको सेयर बजार आज खुलेको छ । लामो समय पछि खुलेको बजारले समान्य बढेको छ । आज दिनभर बजारमा उताप चडाप देखिएको छ ।
ठुला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् देखिन्छन् । साना लगानीकर्ताले बजार उठाउन सकेका छैनन् । कारोबार रकम समेत निरन्तर खुम्ची रहेको छ । कारोबार पछिल्ला दिनमा एक अर्ब पुग्न समेत सकस परी रहेको छ । तर, आज भने लामो समयपछि बजारमा १ अर्ब माथिको कारोबार भएको छ ।
सेयर बजारमा प्रभाव पार्ने प्रमुख कारण भनेको नै बैङ्कहरूको ब्याजदर हो । वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर लागू गरेका छन् । मङ्सिर महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् । सोहि प्रभाव समेत सेयर बजारमा परेको छ ।
धितोपत्र बोर्ड नयाँ ब्रोकरलाई लाइसेन्स खुला गरेसँगै ब्रोकर सङ्ख्या बढेको छ । तर अहिलेसम्म नयाँ ब्रोकर सहर केन्द्रित छन् । बजारलाई प्रभाव पार्ने विषय अब नयाँ स्टक एक्सचेन्ज हो । कात्तिक २४ गते अर्थ समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यसको प्रभाव समेत सेयर बजारमा देख्न सकिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अकंले बढेर १८५३.४८ बिन्दुमा बन्द भएको छ । सोमबार २८४ कम्पनीको ३३लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ९ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ०.२०प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको ०.३२ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज हिमालयन डिष्टीलरीको ७ करोड ३६ लाख रुपैयाँ, सोल्टी होटलको ६ करोड ८४ लाख रुपैयाँ र सोनापुरको ५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।
