टाटा टेक्नोलोजीको ६ करोड कित्ता आईपीओ १ घण्टामै सब्सक्राइब, ग्रे मार्केटमा ७० प्रतिशत अधिक मूल्य « Arthapath.com
६ मंसिर २०८०, बुधबार

टाटा टेक्नोलोजीको ६ करोड कित्ता आईपीओ १ घण्टामै सब्सक्राइब, ग्रे मार्केटमा ७० प्रतिशत अधिक मूल्य



काठमाडौं । भारतमा टाटा टेक्नोलोजि लिमिटेडको आइपीओ खुलेको एक घण्टामै पुरापुर सब्सक्राइब भएको छ । यो टाटा ग्रुप अन्तरगतको कम्पनी टाटा मोटर्सको भगिनी संस्था हो । टाटा समूहले १९ वर्ष पनि आफ्नो नयाँ आईपीओ बजारमा ल्याएको छ । यसअघि सन् २००४ मा टाटा कन्सल्टेन्सी सर्भिसेजले आइपीओ बेचेको थियो ।

टाटाको नयाँ आइपीओले भारु ४७५ देखि ५०० सम्मको ‘प्राइस ब्याण्ड’ पाएको छ । ५१ अर्ब ४२ करोडभन्दा धेरै सम्पत्ती भएको टाटा टेकसँग २८ अर्ब ५३ करोडभन्दा धेरैको नेटवर्थ छ । कम्पनीले ६६.७९ प्रतिशत प्रबद्र्धक समूहमा राखेर बाँकी ३३.२१ प्रतिशत स्वामित्व सर्वसाधारणमा बेच्न लागेको हो ।

भारतीय बजारमा बुधबारबाट आईपीओमा आवेदन खुला गरिएको छ । एक घण्टाभित्रै पुरा सेयर सब्सक्राइब भए पनि आगामी शुक्रबारसम्म रिटेल लगानीकर्ताले आवेदन दिन पाउँछन् । डिसेम्बर ५ मा भारतका दुबै स्टक एक्सचेञ्जमा एकसाथ सूचीकृत हुने उक्त आइपिओ अहिले नै ‘ग्रे मार्केट’मा ७० प्रतिशत अधिक मूल्यमा कारोबार भइरहेको छ । यसको मतलव आइपीओ प्राप्त गर्ने लगानीकर्ताले सूचीकरण हुनासाथ ७० प्रतिशत नाफा आर्जन गर्न सक्ने देखिएको छ ।

टाटा टेकको सेयरमा एक जना रिटेल लगानीकर्ताले ३० देखि ३९० कित्तासम्म सेयर किन्न बोलपत्र दिनसक्छ । माथिल्लो प्राइस ब्याण्ड अर्थात् प्रतिकित्ता ५०० का दरले ३० कित्ता सेयर भर्ने हो भने भारु. १५ हजार लगानी गर्नुपर्ने हुन्छ, यो न्यूनतम अंक हो ।

अधिकतम लगानी गर्नेले १३ लट (३० कित्ताको १ लट मानेर) अर्थात् ३९० कित्तासम्म लगानी गर्न पाउँछ । यसमा माथिल्लो प्राइस बण्डमा मूल्य राख्ने हो भने ३९० कित्ता सेयर किन्न भारु १ लाख ९५ हजार लगानी गर्नु पर्ने हुन्छ ।

कम्पनीले अहिले ६ करोड ८ लाख ५० हजार २७८ कित्ता सेयर बेच्न आईपीओ जारी गरेको हो । यो सबै सेयर माथिल्लो प्राइस बण्डमा बेच्नसक्दा कम्पनीले भारु ३० अर्ब ४२ करोड ५१ लाख पुँजी संकलन गर्ने छ ।

२७ वर्षअघि अर्थात् सन् १९९४ मा स्थापना भएको टाटा टेक्नोलोजिज विश्वस्तरीय इञ्जिनियरिङ सेवा प्रदायक कम्पनी हो । यो कम्पनी अहिले मूल रुपमा अटोमोटिभ (गाडी उत्पादन गर्ने) क्षेत्रमा अनुसन्धान र विकासमा काम गरिरहेको छ ।

कम्पनीले दुई तरिकाले व्यवसाय गर्दै आएको छ । सर्भिसेज र टेक्नोलोजि रिसोलुशन गरी दुई शाखाको अलग्गै वित्तीय विवरण तयार पारिन्छ । सन् २०२३ को आर्थिक वर्षमा सर्भिसेजतर्फबाट भारु ३५ अर्ब ३१ करोड र टेक्नोलोजि रिसोलुशन तर्फबाट ८ अर्ब ८३ करोड आम्दानी गरेको थियो ।

टाटा समूहका अरु १९ कम्पनीहरु अहिले पनि भारतीय सेयर बजारमा सूचीकृत छन् । यसमा टाटा मोटर्स, टाटा कम्युनिकेशन, टाइटन, टाटा पावरजस्ता ठूला र प्रतिष्ठित कम्पनीहरु छन् ।


प्रतिक्रिया दिनुहोस्