खस्किदै लगानीकर्ताको मनोबल, बजार लगातार पाँचौ दिन समेत राताम्य, कारोबार पनि खुम्चियो « Arthapath.com
१७ मंसिर २०८०, आईतवार

खस्किदै लगानीकर्ताको मनोबल, बजार लगातार पाँचौ दिन समेत राताम्य, कारोबार पनि खुम्चियो



काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । बजार लगातार पाँचौ दिन समेत राताम्य भएको हो । बजारले निरन्तर ओरालो यात्रा तय गर्दा लगानीकर्ता निराश बन्दै गएका छन् ।

लगानीकर्ताको मनोबल कमजोर भन्दै गएको अवस्था छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आउनमा ढिलाई भइरहेको छ । लगानीकर्तालाई मौद्रिक नीतिले कहिले खुसी बनाउन सकेको छैन सोहि कारण पनि लगानीकर्ता डराएको अवस्था छ । नियामक निकायले सेयर बजारलाई फाइदा हुने गरी मौद्रिक नीति बन्ने आश्वासन दिने गरे पनि अन्तिममा लगानीकर्तालाई रुष्ट बनाउने विगतको घटना रहेको छ ।

अर्थतन्त्र सुधार हुने गरी मौद्रिक नीति समीक्षा सार्वजनिक गर्न अर्थमन्त्री तथा प्रधानमन्त्रीले अप्रत्यक्षरुपमा र व्यवसायीहरुले केन्द्रीय बैंकले निकै नियन्त्रण गरेकाले अर्थतन्त्र चलायमान हुन नसकेको सार्वजनिक कार्यक्रममा तर्क दिदै आइरहेका छन् । तर केन्द्रीय बैंक सरकार र निजी क्षेत्रले भनेजस्तो एकैपटक नीगितगत व्यवस्थाहरु खुकुलो पारिहाल्ने मनस्थितिमा देखिएको छैन । सोहि प्रभाव समेत बजारमा परेको जानकारहरुका तर्क छन् ।

लाभांश सिजन चलि रहेको छ । सेयरधनी यो समयमा लाभांश हात पार्न सक्नेछन् । सस्तो मूल्यमा सबल वित्तीय सूचक र लाभांश क्षमता राम्रो भएका कम्पनी सेयर किन्ने मौका हो । तर यसको प्रभाव बजारमा देखिएको छैन ।

सेयर बजारमा अहिले चाहे भन्दा बढी नकारात्मक कुरा फैलिने गरेका छन् । लगानीकर्ताले यस्तो बेला आफ्नो मनोबल उच्च बनाउनु जरुरी छ । बजार कता तिर लैजाने लगानीकर्ताको मनोबलमा भर पर्ने गरेको हुन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२९ अकंले घटेर १८५१.२३ बिन्दुमा बन्द भएकोछ । आइतबार २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

साताको पहिलो कारोबारको दिन १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४८ प्रतिशत, विकास बैंक समूहको ०.४६ प्रतिशत, फाइनान्स समूहको ०.५५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५४ प्रतिशतसहित १२ उपसूचक राताम्य भएका हुन् ।

आइतबार सोनापुरको ६ करोड ९५ लाख रुपैयाँ र ह्थावे इन्भेष्टमेन्टको ३ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्