सुपर खुदी हाइड्रोपावर आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल « Arthapath.com
१० असार २०८२, मंगलबार

सुपर खुदी हाइड्रोपावर आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता एक सय दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।

हाइड्रोले सेयर निष्कासन तथा विक्रीको लागी ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बिच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

आज माघ १० गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा सुपर खुदी हाइड्रोपावरको तर्फबाट वरिष्ठ आयोजना प्रबन्धक रबी कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

वि.सं. २०६५ सालमा प्रा.लि. को रूपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रूपमा परिणत भएको सुपर खुदी हाइड्रोपावरको रजिस्टर्ड केन्द्रीय कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लीबजार, चारखालमा रहेको छ । अधिकृत पुँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको निर्माणाधीन माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल वैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो । भविष्यमा थप हाइड्रोपावर क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको यस कम्पनीमा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरूको लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्