‘बाह्र वर्षमा २०० प्रतिशतसम्म प्रतिफल दिने योजनामा म्युचुअल फन्ड ल्याएका छौँ’ « Arthapath.com
१२ माघ २०८०, शुक्रबार

‘बाह्र वर्षमा २०० प्रतिशतसम्म प्रतिफल दिने योजनामा म्युचुअल फन्ड ल्याएका छौँ’



सचिन्द्र ढुङ्गाना

महाप्रबन्धक, एनआईएमबी एस क्यापिटल लिमिटेड

एनआइएमबी एस क्यापिटलले १ अर्ब रुपैयाँको बन्द मुखी म्युचुअल फन्ड बजारमा विक्रीका लागि ल्याएको छ । फन्डमा आवेदन दिने म्याद यही माघ १५ गतेसम्म रहेको छ ।

अहिले सेयर बजारमा आएको गिरावटलाई धेरैले लगानीको अवसर पनि भनेका छन् । कम्पनीको सूक्ष्म वित्तीय विश्लेषण गरेर लगानी गर्ने हो भने अहिले जोखिम कम हुने एनआईएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गाना बताउँछन् । गत असोज ८ गते क्यापिटलको जीएम बनेका ढुङ्गानाले द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेट नेपालबाट सीए उपाधि हासिल गरेका छन् ।

आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएका उनी वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्छन् । ढुङ्गानासँग लेखा परीक्षण, परामर्श र सल्लाहकार सेवामा काम गरेको अनुभव छ । उनले एसआर पाण्डे एन्ड कम्पनीमा अडिटर म्यानेजरका रूपमा ६ वर्षभन्दा बढी समय बिताएका थिए । करिब दुई वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लि.मा बिजनेस सपोर्ट र म्युचुअल फन्ड विभाग प्रमुख पनि थिए । 

ढुङ्गानाले यसअघि नबिल इन्भेस्टमेन्ट बैंकिङमा साढे दुई वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिट पद सम्हालेका थिए । अहिले एनआइएमबी क्यापिटलले निष्कासन गरेको फन्डको मार्केटिङमा व्यस्त रहेका ढुङ्गानासँग अर्थपथले गरेको कुराकानीको सार संक्षेपः

एनआईबीएल स्टेबल फन्ड कस्तो किसिमको फन्ड हो ? 

– यो नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक रहेको सातौँ म्युचुअल फन्ड हो । यो एक बन्धमुखी म्युचुअल फन्ड हो । यसको अवधि १२ वर्षको छ । यो योजनामा हामीले १ अर्ब रुपैयाँ रकम जुटाउने भनेका छौँ । यो पैसा अधिकतम रूपमा स्थायी प्रतिफल दिने क्षेत्रमा लगानी हुने छ । सेयर बजारमा ५० प्रतिशत र मुद्दती निक्षेप लगायत अन्य स्थिर प्रतिफल प्राप्त हुने क्षेत्रमा ५० प्रतिशत हुने गरी पोर्टफोलियो मिश्रण गर्ने योजना बनाएका छौँ ।

यसलाई हामीले न्यून जोखिम भएको र मध्यम प्रतिफल प्रदान गर्ने गरी डिजाइन गरेका छौँ । बजारको अवस्था र हाम्रो लगानी रणनीतिलाई तुलना गर्दा हरेक साल औसत १६ प्रतिशत बराबरको प्रतिफल प्राप्त हुने प्रक्षेपण गरिएको छ । यसमा पुरानो इतिहासलाई हेर्ने हो भने पनि हामीले एनआईबीएल समृद्धि फन्ड–१ लगायत अरू पनि म्युचुअल फन्डहरू परिपक्व भइसकेका छन् । ती अनुभवको आधारमा पनि १६ प्रतिशत प्रतिफल प्राप्त हुने देखिन्छ । जोखिम कम लिने, मुद्दती निक्षेपमा दरखास्त गर्ने किसिमको योजना बनाइएको छ । 

बन्दमुखी र खुलामुखी योजनामा के फरक छ ? 

– बन्दमुखी र खुला मुखीमा मूलतः दुई वटा कुराहरू भिन्न हुन्छन् । एउटा यसको अवधि र अर्को आकार हो । खुलामुखि योजनामा असीमित अवधि र असीमित आकार हुन्छ । तर बन्धमुखी योजनामा कति पैसाको कोष हो र कति अवधिका लागि हो भन्ने पहिले नै निश्चय गरिएको हुन्छ । बन्धमुखी योजना एक पटक विक्री भइसकेपछि धितो पत्रको दोस्रो बजारमा कारोबार हुन्छ । खुलामुखि योजना चाहिँ दोस्रो बजारमा सूचीकृत हुँदैन । अर्को फरक यो हो ।

खुलामुखि योजनाको एकाइहरू ‘नेट एसेट भ्याल्यू–न्याभ’मै कारोबार हुन्छ । तर बन्धमुखी योजनाका एकाइहरू दोस्रो बजारमा कारोबार हुने भएकाले न्याभमा नभएर बजार मूल्यमा कारोबार हुन्छ । तर अहिलेको अवस्था हेर्दा ‘डिस्काउण्टेड ट्रेड’ अर्थात् अङ्कित मूल्यभन्दा पनि सस्तो भाउमा कारोबार भएजस्तो देखिन्छ ।

जोखिम र प्रतिफलको हिसाबमा कुन प्रकृतिको म्युचुअल फन्ड बढी लाभदायक हुन्छ ? 

– लगानीकर्ताले कस्तो किसिमको लगानी गर्न खोजेको हो भन्नेमा भर गर्छ । खुलामुखि भनेको चाहिँ दीर्घकालसम्म अर्थात् १०–१५ वर्षको अवधिलाई सोचेर लगानी गर्ने योजना हो । यसमा हामीले एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) भन्छौँ । यो योजना अलि व्यक्तिगत केन्द्रित हुन्छ । बन्धमुखी म्युचुअल फन्डचाहिँ व्यक्तिगत नभई संस्थागत लगानीकर्तालाई प्राथमिकतामा राखेर जारी गरिएको हुन्छ ।

यसमा ठुला संस्थागत लगानीकर्ताहरूले निश्चित समयका लागि आफ्नो नगद प्रवाहको गणना गरेर लगानी गर्छन् । उनीहरूले दोस्रो बजारबाट निश्चित प्रतिफल आउँछ भन्ने अनुमान गरेका हुन्छन् । जोखिमको हिसाबले हेर्ने हो भने खुला मुखिभन्दा दोस्रो बजारमा कारोबार हुने बन्दमुखी योजनाहरू बढी जोखिमयुक्त हुन्छन् । त्यसैले प्रतिफल पनि यसैमा बढी हुन्छ । 

तपाईँहरूले अहिले ल्याउनु भएको म्युचुअल फन्डमा सर्वसाधारणले किन लगानी गर्ने ? 

– हामीले अहिले १ अर्ब रुपैयाँ बराबरको कोष खडा गर्न लागेका हौँ । त्यसमा १५ प्रतिशत अर्थात् १५ करोड रुपैयाँ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईएमबी एस क्यापिटलले लगानी गर्छ । बाँकी ८५ करोड व्यक्तिगत र संस्थागत लगानीकर्ताबाट जुटाइने छ । यो योजनामा कुनै एक जना व्यक्ति वा संस्थाले कम्तीमा १ हजारदेखि बढीमा १० करोडसम्म लगानी गर्न मिल्छ ।

म्युचुअल फन्डमा लगानी किन गर्ने भनेर सोच्नुअघि जहाँकहीँ लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ खोज्नु पर्छ । सामान्यतया मान्छेहरूले आफूसँग भएको बचत रकमलाई त्यत्तिकै थन्क्याएर त्यसको मूल्य बढ्दैन । तसर्थ कहीँ न कहीँ लगानी गरेर त्यो पैसालाई बढाउँदै जानुपर्छ भन्ने सामान्य सिद्धान्त हो । अव म्युचुअल फन्डको कुरा गर्दा दोस्रो बजारमा सिधै लगानी गरेर त्यहाँको उतारचढावलाई थेग्न नसक्ने र पर्याप्त समय पनि व्यवस्थापन गर्न नसक्ने लगानीकर्ताले म्युचुअल फन्डमा लगानी गर्ने हो । 

म्युचुअल फन्डसँग सेयर बजारको विशेष दखल हुन्छ । उसले कुन कम्पनीको सेयर किन्ने र कुनको बेच्ने भन्ने गहिरो अध्ययन र विश्लेषण गर्न सक्छ । बजारको उतारचढाव के हुन्छ भनेर बुझेर उसले लगानी गरिदिन्छ । त्यस कारण दोस्रो बजारमा सक्रिय लगानीकर्ताले नभई त्यहाँ निष्क्रिय लगानीकर्ताले म्युचुअल फन्डमा लगानी गर्ने हो ।

बन्धमुखी म्युचुअल फन्डमा तपाईँले पुँजीगत लाभका लागि लगानी गर्नुहुन्छ भने त्यो असल छनोट होइन । त्यसका लागि तपाईँ ‘पोर्टफोलियो म्यानेजर’सँग जानुपर्छ । म्युचुअल फन्डमा लगानी गर्नेहरूले लाभांश लिने र कोष परिपक्व भएपछि ‘म्याच्योरिटी भ्याल्यू’ लिने हुनुपर्छ । लगानीकर्ताले म्युचुअल फन्डको यो प्रकृति बुझ्नु पर्छ । यसमा धेरै लगानीकर्ताले राम्रोसँग नबुझेकोजस्तो पनि देखिएको छ । 

तपाईँले अहिले वार्षिक औसत १६ प्रतिशतको प्रतिफल भनिरहँदा यसअघिका म्युचुअल फन्डमा त त्यस्तो धमाकादार प्रतिफल दिएको देखिँदैन नि ? 

– तपाईँले म्युचुअल फन्डहरूको विगत हेर्नु भयो भने राम्रै प्रतिफल पनि दिएका छन् । सिद्धार्थ ग्रोथ स्किम भन्ने नेपालकै पहिलो म्युचुअल फन्डले वार्षिक ४३ प्रतिशतभन्दा माथिको प्रतिफल दिएको थियो । त्यसपछि नबिल ब्यालेन्स फन्ड–१ ले २७ प्रतिशतभन्दा बढीको प्रतिफल दिएको थियो । त्यसपछि पनि अरू म्युचुअल फन्डहरू परिपक्व हुँदासम्म १५–१८–२० प्रतिशतसम्म प्रतिफल दिइरहेका छन् । सबैभन्दा कम दिनेले १२–१३ प्रतिशत दिएका छन् ।

त्यस हिसाबमा हेर्दा हामीले अहिले प्रक्षेपण गरेको औसत १६ प्रतिशतको प्रतिफल हासिल हुन्छ भन्ने लाग्छ । कुनै साल हात खालि होला, तर कुनै साल म्युचुअल पण्ढहरूले ५० देखि १०० प्रतिशतसम्म पनि प्रतिफल दिएको दृष्टान्त छ । त्यसलाई पनि याद गर्नुपर्ने हुन्छ । म्युचुअल फन्ड धेरै पारदर्शी हुन्छ । हरेक हप्ता यसको खुद सम्पत्ति मूल्य (न्याभ) प्रकाशित हुन्छ । न्याभ घटेको बेलामा मूल्य घट्ने र न्याभ बढेको बेलामा मूल्य बढ्ने हुन्छ । दोस्रो बजारमा झुकाव भएका उपकरणहरू (ट्रेड इन्सटुमेन्ट) मा यत्तिको पारदर्शी अरू छैन । तपाईँले बैंक तथा वित्तीय संस्थालाई हेर्नुभयो भने हरेक ३ महिनामा मात्रै प्रतिवेदन प्रकाशित हुन्छ । 

अझै पनि तपाईँले यस प्रतिफल प्रक्षेपणका बारेमा लगानीकर्तालाई विश्वस्त तुल्याउन के गर्नु भएको छ ? 

– हामीले यस म्युचुअल फन्डमा ‘पोर्टफोलियो मिक्स’ बनाएका छौँ । त्यसमध्ये बढीमा ५० प्रतिशतसम्म सेयरमा, बढीमा १५ प्रतिशतसम्म मुद्दती निक्षेपमा, बढीमा १५ प्रतिशत डिबेञ्चरमा भनेर हामीले मिश्रित खालको लगानी ढाँचा तयार पारेका छौँ । ती सबै पक्षको प्रतिफल दरलाई मूल्याङ्कन गरेका छौँ ।

सेयर बजार पनि विगतबाट जुन प्रवृत्तिमा बसेको छ, त्यस अनुसार भविष्यको बजार प्रक्षेपण गरेका छौँ । ब्याजदरको प्रबृत्तीलाई पनि हामीले विस्तृत विश्लेषण गरेर प्रक्षेपण गरेका छौँ । यसरी हामीले मिश्रित प्रतिफललाई समग्रतामा ढालेका कारण यो कुनै कोरा अनुमान नभइ र गणितीय हिसाब किताबमा गरिएको प्रक्षेपण हो । 

अहिले सेयर बजार यसरी घटेको छ । आम मनोविज्ञान कमजोर भएको छ । तपाईँहरूले कोष खडा गर्न यो कत्तिको उपयुक्त समय हो ? 

– बजारमा अहिले त कुनै कुरा पनि सकारात्मक देखिँदैन । तपाईँले उद्योग क्षेत्र हेर्नु भयो भने त्यहाँ बन्द छ । आयात पनि घटेको छ । विदेशी मुद्रा सञ्चिति बढेको देखिए पनि आयात घटेका कारण त्यसो भएको देखिन्छ । हाम्रो मात्रै होइन, संसारभर नै मन्दीको समय छ अहिले । यस्तो समयमा कुनै न कुनै रूपमा बजारलाई चलायमान बनाउने कोसिस गरिरहनु पर्छ । त्यसो भएन भने अर्थतन्त्र कहिल्यै लयमा फर्किन सक्दैन ।

बजार निष्क्रिय बसिरह्यो भने झनै अर्थतन्त्र ओरालो लाग्ने र अझै बढी निराशा छाउने जोखिम हुन्छ । त्यस कारण अहिलेको अवस्थाकै बिचमा पनि प्रस्थान बिन्दु खोज्न सकिन्छ भनेर हामीले यो फन्ड अघि बढाएका हौँ । 

तपाईँहरूको फन्ड कति बिक्यो, कति बिक्न बाँकी छ ? यसअघिका धेरै फन्डहरूजस्तै नबिक्ने अवस्था छ की पुरै एकाइ बिक्ने अनुमान गर्नु भएको छ ? 

– अहिलेसम्मको तथ्याङ्क अनुसार (मङ्गलवार बिहान) ८० करोडभन्दा बढी बिक्री भइसकेको विवरण आएको छ । त्यसमा ‘रिजेक्सन’ को विवरण छान्न बाँकी छ ।

अचेल रद्द हुने परिपाटी पनि बढी नै देखिन्छ । १ करोड लगानी गर्न आवेदन दिएको हुन्छ, तर खातामा पैसा हुँदैन । बुझेर हो वा नबुझेर हो यस्ता समस्या बढ्न थालेका छन् ।

धितो पत्र बोर्डले योभन्दा अगाडीको आइपीओमा यस्तै अवस्था आएको भनेर अध्ययन नै गरेको थियो । हरेक दिन ५० हजार हाराहारी नयाँ आवेदन सङ्कलन भइरहेको छ । यस हिसाबले हेर्दा पुरा एकाइ विक्री हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । 

हामीले सैद्धान्तिक रूपमा म्युचुअल फन्ड भनेको दोस्रो बजारमा अभ्यस्त नभएका आम सर्वसाधारणका लागि हो भनेर बुझ्छौँ । तर तपाईँहरू कर्पोरेट क्षेत्रलाई नै लगानीका लागि उत्साहित गरिरहनु भएको छ । आम सर्वसाधारणलाई यसबारे बुझाउन नसकेर हो ?  

– हामीले खुलामुखि र बन्धमुखी दुवै किसिमका म्युचुअल फन्डहरू सञ्चालन गरिरहेका छौँ । बन्धमुखी योजनामा सर्वसाधारणको सहभागिता निकै कम छ । अहिले आइपीओमा लगानी गर्ने परिपाटीका कारण दोस्रो बजारमा सूचिकृत भए लगत्तै उच्च दरमा कारोबार हुने र त्यसमा बढी पुँजीगत लाभ प्राप्त हुने अवस्था छ ।

धेरैजसो लगानीकर्ताले त्यही मानसिकतामा लगानी गर्नुहुन्छ । म्युचुअल फन्डमा त्यसरी एकै पटक पुँजीगत लाभ हुँदैन । त्यस कारण पनि व्यक्तिगत लगानीकर्ताहरू म्युचुअल फन्डमा धेरै आकर्षित हुन नसकेको होला । लामो अवधिका लागि निष्क्रिय रूपमा लगानी गर्ने लगानीकर्ताहरूले चाहिँ अहिले पनि लगानी गरिरहनु भएको छ । 

धितो पत्र बोर्डले म्युचुअल फन्डहरूलाई आइपिओ सूचिकृत भएको ६ महिना पछिमात्रै बेच्न पाउने नियम बनाइदिएको छ । यस व्यवस्थाले नयाँ आउने फन्डहरूलाई कस्तो प्रभाव पार्छ ? 

– बजारमा ४० अर्बको म्युचुअल फन्ड स्किम भइसकेको छ । यस्तो अवस्थामा जतिसुकै ठुलो आइपिओ आए पनि ४०–५० हजार कित्ताभन्दा बढी पाइँदैन । पछिल्लो समय हिमालयन रिइन्स्योरेन्सले ठुलो आकारको प्राथमिक सेयर निष्कासन गरेको थियो । त्यसमा ३०–३५ हजार कित्ताभन्दा बढी सेयर एउटा स्किमले पाएको छैन ।

त्यति सानो आकारमा उपलब्ध हुने सेयरले तात्त्विक फरक पार्दैन । कसैको एउटा मात्रै स्किम छ भने चाहिँ अलिकति फरक पर्ला । यसमा हामीले धितो पत्र बोर्डको निर्देशनलाई बुझेका छौँ । कतिपय मानिसले लगानीसम्बन्धी निर्णय लिँदा म्युचुअल फन्डलाई पनि पच्छ्याउने गर्छन् । संस्थागत लगानीकर्ताहरूले चाल्ने कदमले बजारलाई प्रभावित पार्न सक्छ ।

६ महिना लकिङ भएपछि त्यो सेयरको मूल्य प्रवृत्ति कसरी अघि बढ्छ, प्रतिफलको सम्भाव्यता कस्तो हुन्छ भन्ने कुराहरू परीक्षण गर्न सजिलो हुन्छ । यसले व्यक्तिगत तवरमा बजारमा सक्रिय हुने आम लगानीकर्ता बस्दैनन् भन्ने कुराको सुनिश्चित गर्न सेबोनले ‘फयरवाल’ तयार पार्न खोजेको हो । यसले म्युचुअल फन्डलाई पनि खासै फरक पर्दैन । 


प्रतिक्रिया दिनुहोस्