हाइड्रोपावरको सर्वाधिक सेयर किनबेच: वाणिज्य बैंक र बीमा समूहमा पनि आकर्षण, कुनको हिस्सा कति ? « Arthapath.com
२५ चैत्र २०८०, आईतवार

हाइड्रोपावरको सर्वाधिक सेयर किनबेच: वाणिज्य बैंक र बीमा समूहमा पनि आकर्षण, कुनको हिस्सा कति ?



काठमाडौं । आठ महिनामा सवा ४ खर्ब बढीको सेयर किनबेच भएको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको साउनदेखि फागुन मसान्तसम्म कुल ४ खर्ब १४ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएका छ । डिबेन्चर र म्युचुअल फन्ड इकाईसमेत गरेर आठ महिनामा सो बराबरको सेयर कारोबार भएको हो ।

आठ महिनामा कुल १ अर्ब २५ करोड ७४ लाख ३० हजार कित्ता बराबरको सेयर किनबेच भएको राष्ट्र बैंकले जनाएको छ । कारोबार रकम भने गत वर्षको फागुन मसान्तसम्मको तुलनामा ३९.७५ प्रतिशत बढेको हो । गत आवको फागुन मसान्तसम्ममा कुल २ खर्ब ९७ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ बराबरको ८० करोड ८३ लाख ५ हजार कित्ता सेयर किनबेच भएको देखिन्छ ।

कारोबार रकममा सर्वाधिक हिस्सा हाइड्रोपावर समूहको छ । आठ महिनामा भएको कुल कारोबारको ३०.२ प्रतिशत हिस्सा हाइड्रोपावर समूहको छ । समिक्षा अवधिमा सो समूहको कुल १ खर्ब २५ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ४५ करोड १९ लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकममा दोस्रो ठूलो हिस्सा वाणिज्य बैंकको छ । वाणिज्य बैंक कुल कारोबारमा ११.२ प्रतिशत हिस्सा छ । आठ महिनामा सो समूहको ४६ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ बराबरको १७ करोड ३८ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ ।

तेस्रोमा ठुलो हिस्सा भने जीवन बीमा समूहको ९.८ प्रतिशत छ । जीवन बीमा समूहको आठ महिनामा ४० अर्ब ९२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उत्पादन तथा प्रशोधन समूहको हिस्सा ८.८ प्रतिशत, निर्जीवन बीमा समूहको ६.४ प्रतिशत, लगानी समूहको ६ प्रतिशत, विकास बैंकको ५.१, माक्रोफाइनान्सको ४.९ प्रतिशत, फाइनान्सको ४.१ प्रतिशत, होटेल तथा पर्यटनको ३.७ प्रतिशत, संस्थापक सेयरको २.३ प्रतिशत हिस्सा रहेको छ । तर, समिक्षा अवधिमा अग्राधिकार सेयरको एउटा पनि कारोबार नभएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

समिक्षा अवधिमा सबैभन्दा कम कारोबार म्युचुअल फन्ड र डिबेन्चरको भएको छ । आठ महिनामा म्युचुअल फन्डको १ अर्ब २५ करोड ४५ लाख र डिबेन्चरको १ अर्ब १२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल कारोबारमा यी दुई समूहको शून्य दशमलव ३ प्रतिशत हिस्सा छ ।

कुन समूहको हिस्सा कति ?


प्रतिक्रिया दिनुहोस्