सत्ता हल्लिन थालेपछि सेबोनमा नयाँ अध्यक्ष नियुक्त गर्न अर्थमन्त्री तयार, नियामक कब्जा गर्ने योजना अपुरै

धितोपत्र बोर्डले आगामी साता नयाँ अध्यक्ष पाउने, सोमबारै हुन सक्छ नियुक्ति
काठमाडौँ । एकातर्फ कर्मचारीबाट नियामक सञ्चालन गर्न खोजेको विरोध र अर्कातिर सत्ताको सेतुमा आउनसक्ने भूकम्पका कारण अन्ततः नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाउने भएको छ ।
नियामक कब्जा गर्न खोजेको भन्ने चौतर्फी आरोप खेपेका अर्थमन्त्री वर्षमान पुन नयाँ अध्यक्ष नियुक्ती गर्ने प्रक्रिया अघि बढाउन सहमत भएका छन् । सत्ता साझेदार दलको प्रतीक्षाको घडी टुट्न थालेपछि पनि उनी मन नलाग्दा नलाग्दै यस्तो प्रक्रिया अघि बढाउन बाध्य बनेको स्रोतको दाबी छ ।
गत पुस २० देखि रिक्त सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया बीचैमा रोकेर अर्थमन्त्रीले कर्मचारीमार्फत् नियामक सञ्चालन गर्ने कोसिस गरेका थिए । यसका लागि उनले अर्थ मन्त्रालयलबाट सेबोनमा पठाउने प्रतिनिधी समेत बदलेका थिए । आफू अनुकुल निर्णय गराउन यसरी प्रतिनिधी बदल्दै बसेको भनेर सेबोनका कर्मचारीले समेत चर्को विरोध गरे ।
आफ्नो गतिविधिमाथि विरोध हुने देखेपछि अर्थमन्त्री केही दिन अघि आयोजित सेबोनको वार्षिकोत्सवमा समेत सहभागि भएनन् । यसरी नियुक्ति टार्दै आएका पुन अब भने प्रक्रिया अघि बढाउन लचक देखिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्ता घटक एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समझदारी बनेपछि दाहालले अर्थमन्त्रीलाई प्रक्रिया अघि बढाउन भनेका थिए । यसै साता अर्थमन्त्री र प्रधानमन्त्री बीच अध्यक्ष नियुक्तिको प्रक्रिया टुंग्याउने बारे छलफल भएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सत्ता सन्तुलनका लागि भए पनि केपी ओलीले भनेका पात्रलाई नियुक्ति दिने प्रबन्ध मिलाउन अर्थमन्त्रीलाई भनेका छन् । अर्थमन्त्रीले नयाँ अध्यक्षमा कर्पोरेट क्षेत्रको द्वन्द्व देखिएको र त्यसले विबाद निम्त्याउन सक्ने प्रधानमन्त्रीलाई सुझाएका थिए ।
कतिपयले बजेटमा नीतिगत व्यवस्थाहरु गर्दा प्राप्त हुने आर्थिक एवम् अन्य लाभलाई प्रभाव नपरोस् भनेर पनि अर्थमन्त्रीले उक्त नियुक्ति बजेट अघि नगरेको बताउँदै आएका थिए । उक्त आरोपको सत्यता पुष्टि गर्न कठीन हुने भए पनि अघि बढिसकेको प्रक्रिया भने रोकियो ।
यसबाट सत्ता साझेदार दलबीचको सम्बन्धमा चिसो पना आएको रिपोर्टिङहरु पनि भएका थिए ।
प्रत्यासीलाई आमन्त्रण
शुक्रबार विहानै अर्थ मन्त्रालयबाट छनोटमा परेका ५ जनालाई टेलिफोन गएको छ । उनीहरुलाई आगामी आइतबार र सोमबार प्रस्तुतिकरणका लागि बोलाउने संभावना भएकाले ‘तयार रहन’ भनिएको छ । सिफारिस समितिको बैठक शुक्रबार बसेर प्रस्तुतिकरणका लागि बोलाउने निश्चय भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजकत्वको समितिले गत चैत २५ मै पाँच जनाको नाम ‘शर्टलिस्ट’ गरेर सार्वजनिक गरेको थियो ।
उक्त प्रत्यासी सूचीमा सन्तोषनारायण श्रेष्ठ, चिरञ्जिवी चापागाईँ र कृष्णबहादुर कार्की छन् । साथै सेबोनकै दुई कार्यकारी निर्देशकहरु डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ पनि यो सूचीमा छन् ।
यी प्रत्यासीहरुबाट आइतबार र सोमबार प्रस्तुतिकरण सुनेपछि सिफारिस समितिले सोमबार नै मन्त्री परिषदमा ३ जनाको नाम सिफारिस गर्ने संभावना छ । त्यो भयो भने सोमबार बस्ने मन्त्री परिषदको नियमित बैठकले कुनै एक जनालाई अध्यक्ष नियुक्त गर्न सक्छ ।
यदी सोमबारको बैठकबाट नभ्याएमा विहीबारसम्म सेबोनले नयाँ अध्यक्ष पाउने संभावना बलियो बनेको छ ।