सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया टुंगिँदै, आज १२ बजेसम्म प्रस्तुती र अन्तरवार्ता सकिने « Arthapath.com
१६ असार २०८२, सोमबार

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया टुंगिँदै, आज १२ बजेसम्म प्रस्तुती र अन्तरवार्ता सकिने



काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया जसोतसो टुंगिने भएको छ । यसअघि छनोट प्रक्रियामा सहभागि हुन नसकेका ३ जना प्रतिद्वन्द्वीलाई आज विहान ९ देखि ११ बजेसम्म हरेक घण्टाको फरकमा बोलाइएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले ३ जनाको नाम मन्त्री परिषदमा सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ । तर गत आइतबार बोलाइएको अन्तरवार्ता र प्रस्तुतिकरणमा २ जना प्रत्यासीमात्रै उपस्थिति भएपछि उक्त प्रक्रियाबारे अन्योल भएको थियो ।

सिफारिस समितिले पुन बुधबारलाई अन्तरवार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको छ । आज नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल बीमा प्राधिकरणका पूर्र्व अध्यक्ष चिरञ्जिवी चापागाईँ र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई आज बोलाइएको छ ।

यसमध्ये कुनै एक जनामात्रै प्रस्तुतीकरणमा सहभागि भए पनि नियमानुसर सिफारिस समितिले काम गर्न सक्ने छ । स्रोतका अनुसार अधिकारी र चापागाईँले यसअघि नै आफूहरुलाई ‘प्रतिस्पर्धाबाट बाहिरिएको’ प्रतिक्रिया आफ्ना निकटस्तलाई दिएका थिए ।

तर कार्की भने प्रतिस्पर्धामा भिड्न तयार देखिएका छन् । गत आइतबार रारा घुम्न गएको बेलामा बोलाइएकाले अन्तरवार्ता र प्रस्तुतिकरणमा सहभागि हुन नसके पनि आज भने सहभागि हुने उनले अर्थपथलाई बताएका छन् ।

कार्कीमात्रै सहभागि भए भने पनि सिफारिस समितिले उनी सहित आइतबार सहभागि भएका मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफरिस गर्न सक्ने छ । चापागाईँ र अधिकारी पनि सहभागि भएमा यो सूचीमा नाम बदलिन पनि सक्छ ।

त्यसपछि भोलि (बिहीबार) बस्ने मन्त्री परिषदको नियमित बैठकले कुनै एक जनालाई सेबोनको नयाँ अध्यक्षको नियुक्त गर्न सक्ने छ । ती अध्यक्षको कार्यकाल ४ वर्षको हुने छ । भीष्मराज ढुंगाना जसरी कार्यकालको बीचमै निस्कन नपरे २०८६ असारसम्म सेबोनको नेतृत्व गर्ने मौका कसले पाउँछ भन्ने अबको ३० घण्टाभित्र स्पष्ट भइसक्ने संभावना छ ।


प्रतिक्रिया दिनुहोस्