सेबोन अध्यक्ष छनोट गर्ने प्रक्रिया महान्यायाधिवक्ताको हातमा, अब कसरी अघि बढ्ला ? « Arthapath.com
५ असार २०८१, बुधबार

सेबोन अध्यक्ष छनोट गर्ने प्रक्रिया महान्यायाधिवक्ताको हातमा, अब कसरी अघि बढ्ला ?



काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष छान्ने प्रक्रिया अब महान्यायाधिवक्ताको जिम्मामा पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको हो ।

सिफारिस समितिले शर्टलिस्टमा परेका ५ जना प्रतिद्वन्द्वीलाई गत आइतरबार प्रस्तुतिकरण र अन्तरवार्तामा बोलाएको थियो । त्यस दिन ५ मध्ये २ जनामात्रै उपस्थित भए । बाँकी ३ जना प्रतियोगीलाई बुधबार बिहान बोलाइएको थियो ।

तर बुधबार अनेकौँ शक्तिकेन्द्रहरुको भिन्दाभिन्दै दवाबका बीच तीनै जना प्रतियोगी उपस्थित भएनन् । सेबोनकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी र चिरञ्जिवी चापागाईँले आफूहरु नियुक्त हुने संभावना टरेको भन्दै पहिले नै प्रतिस्पर्धाबाट बाहिरिएको बताउन थालेका थिए ।

आइतबार र बुधबार पनि उनीहरु प्रस्तुतीकरणमा सहभागि भएनन् । तर बुधबार विहानमात्रै अर्थपथसँगको टेलिफोन सम्बादमा आफू प्रतिस्पर्धामा भाग लिने प्रतिबद्धता जनाएको कृष्णबहादुर कार्की समेत एक घण्टाभित्रै ‘मुड’ बदलेर अनुपस्थित भए ।

त्यसपछि सिफारिस समितिले कसरी प्रक्रिया अघि बढाउने भनेर महान्यायाधिवक्तासँग राय मागेको जनाएको छ । सरकारको न्यायिक सल्लाहकार रहने महान्यायाधिवक्ताले दिने सुझाव अनुसार प्रक्रिया अघि बढउने तयारी समितिको छ ।

स्रोतका अनुसार समितिले महान्यायाधिवक्तालाई तीन वटा सम्भावित विकल्प समेत उल्लेख गरेर राय मागेको छ । शर्टलिस्टमा छानिएका पाँचै जनाको नाम मन्त्री परिषदमा सिफारिस गर्ने वा प्रस्तुतिकरणमा भाग लिएका दुई जनाको मात्रै नाम पठाउने वा प्रारम्भिक मूल्यांकनमा प्राप्त अंक अनुसार शीर्ष ३ जनाको नाम पठाउने विकल्प प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्