एक दर्जन बढी १४ हाइड्रोपावर कम्पनीले ‘राइट सेयर’ ल्याउँदै, कसको कति ?
नयाँ आयोजनामा लगानी गर्ने र ऋण तिर्ने
काठमाडौं । एक दर्जन बढी जलविद्युत कम्पनीहरुले हकप्रद सेयर जारी गर्ने भएका छन् । झन्डै १४ वटा कम्पनीहरुले पौने ११ अर्ब बराबरको हकप्रद सेयर बिक्री गर्न लागेका हुन् ।
ती कम्पनीहरुले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । कम्पनीहरुले १० अर्ब ८६ करोड ८९ लाख २० हजार रुपैयाँ बराबरको १० करोड ८६ लाख ८९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।
कम्पनीहरुले नयाँ आयोजनामा लगानी गर्न तथा ऋण तिर्नका लागि पनि हकप्रद सेयर जारी गर्न लागेका हुन् । कम्पनीहरुलाई कर्जा भुक्तानीका लागि पनि हकप्रद ल्याउने व्यवस्था छ ।
बोर्डका अनुसार ङादी ग्रुप पावरले १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न गत वर्षको भदौ २१ गते बोर्डसँग अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ ।
यस्तै, बलेफी हाइड्रोपावरले पनि १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार कित्ता, शिवश्री हाइड्रोपावरले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता, दोर्दी खोलाले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यी कम्पनीहरुले शतप्रतिशत हकप्रद सेयर ल्याउन लागेका हुन् ।
बोर्डका अनुसार लिवर्टी इनर्जीले पनि ७ लाख कित्ता, राप्ती हाइड्रो एण्ड कन्ट्रक्सनले ६१ लाख २७ हजार, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार, खानीखोलाले ४६ लाख ५७ हजार, तेह्रथुम पावरले ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारीमा छन् । बोर्डका अनुसार लिवर्टीले ५० प्रतिशत प्रतिशत र त्यसबाहेका कम्पनीहरुले शतप्रतिशत हकप्रद सेयर ल्याउन लागेको हो ।
यता, छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत (३८ लाख ६९ हजार कित्ता), पिपुल्स पावरले ५० प्रतिशत (३१ लाख ६३ हजार कित्ता), बाराही हाइड्रोपावरले शतप्रतिशत (२५ लाख कित्ता) र जोशी हाइड्रोपावर डेभलपमेन्टले ६५ प्रतिशत अर्थात् २४ लाख १४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।