बैंकबाट ऋण लिएर सेयर किन्नेहरु बढेको बढ्यै, बजारमा ठुला लगानीकर्ता पसेका हुन् ?

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा कर्जाको माग सुस्त देखिएको बेला सेयर धितो कर्जा भने ह्वात्तै बढेको छ । एक वर्षमा सेयर धितोमा बैंकहरुले साढे १३ अर्ब बढी ऋण प्रवाह गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । एक वर्षमा सेयर धितो कर्जा १८.१ प्रतिशत बढेको देखिन्छ। अघिल्लो असार मसान्तसम्ममा बैंकहरुले कुल ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, गत असार मसान्तसम्म आइपुग्दा भने १३ अर्ब १३ अर्ब ७८ करोड ४९ लाख रुपैयाँ बढेको छ । योसँगै बैंकहरुले सेयर धितो कर्जामा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
पछिल्ला समय महिनैपिच्छे बैंकहरुको ब्यादर निरन्तर घटीरहेको छ । ब्याजदर घट्न थालेपछि सेयर धितो कर्जा प्रवाह पनि वृद्धि भएको हो । आर्थिक शिथिलतका कारण समग्रमा कर्जाको माग ज्यादै नै सुस्त छ । तर, पनि सेयर धितो कर्जा भने दोहोरो अंकमा बढेको हो ।
पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढेको छ । प्रणालीमा तरलता सहज भएपछि बैंकहरुको ब्याजदर घट्दै गएको छ । ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह भने बढ्दै गएको हो । विस्तारै सेयर बजार पनि बढ्दो क्रममा छ ।
नीतिगत लचकता र सस्तिँदो बैंक ब्याजदरका कारण समय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर किन्ने लगानीकर्ताहरु निरन्तर बढी रहेका छन् । ब्याजदर सस्तिँदै गएपछि सेयर धितो राखी ऋण लिएर सेयर खरिदबिक्री गर्ने लगानीकर्ता बढेको पाइन्छ ।
गत आवमा सबैभन्दा धेरै १ करोड भन्दा बढी सेयर धितो कर्जा लिने बढेका छन् । एक वर्षको अवधिमा यस्तो सीमाको कर्जा २५.१ प्रतिशत बढेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, गत आवमा आइपुग्दा भने १ करोड भन्दा माथिको सीमाको सेयर धितो कर्जामा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ पुगेको छ। सो सीमा लगानीकर्ताहरुले एक वर्षमै ११ अर्ब २१ करोड ४१ लाख रुपैयाँ ऋण लिएर सेयर खरिद गरेका छन् ।
यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सीमा जाने सेयर धितो कर्जा पनि १२.८ प्रतिशत बढेको छ । यस्तो सीमा बैंकहरुले एक वर्षमा १ अर्ब ६४ करोड १२ लाख रुपैयाँ दिएका छन् । अघिल्लो असार मसान्तसम्म यस्तो सीमामा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, गत आवमा सोही अवधिमा आइपुग्दा भने बढेर १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ कायम भएको छ ।
गत आवमा ५० लाख माथिको सेयर धितो कर्जा ५.५ प्रतिशत र २५ लाखसम्मको कर्जा प्रवाह ३.९ प्रतिशत वृद्धि भएको छ । गत वर्ष यस्तो सीमा क्रमशः ६५ करोड ३२ लाख र २७ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो आवको असार मसान्तसम्म ५० लाख माथिको सीमा बैंक तथा वित्तीय संस्थाहरुले ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ र २५ लाखसम्मको सीमा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, गत आवसम्म आइपुग्दा भने यस्तो सीमामा क्रमशः १२ अर्ब ४२ करोड ७७ लाख र ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ कायम भएको छ।
विशेष गरि नीतिगत लचकताले पनि सेयर धितो कर्जा बढ्न टेवा पुगेको देखिन्छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही खुकुलो नीति ल्याएको छ। केन्द्रिय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा खारेज गरेको छ । यसले आगामी दिनमा पनि सेयर धितोमा प्रवाह हुने कर्जा थप बढाउने बताइन्छ ।
यस्तै, पछिल्लो समय मुलुकको अर्थतन्का विभिन्न सूचकहरु सकरात्मक छन् । सेयर बजार पनि बढ्दो क्रममा नै छ । पछिल्ला केही दिनमा नेप्से परिसूचक र कारोबार रकमले दैनिकजसो नै रेकर्ड बनाउँदै आएको छ। सुधारोन्मुख अर्थतन्त्रका बाह्य तथा आन्तरिक क्षेत्र तथा नियामकीय लचकताले लगानीकर्ताको मनोबल पनि दरिलो बन्दै गएको छ । यसले आगामी दिनमा बजारमा लगानीको वातावरण सहज बनाउने बताइन्छ ।