सेबोन अध्यक्ष छनोटः ‘अन्तरवार्तामा नगई सुखै भएन’

काठमाडौँ । अन्ततः नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि संक्षिप्त सूचीमा परेका प्रतियोगीहरु अन्तरवार्तामा नगइ सुखै नपाउने अवस्था बनेको छ । सरकार फेरिएसँगै ढिलागरी पुनः अघि बढेको उक्त नियुक्ति प्रक्रियालाई अब लत्याउन मुस्किल परेको एक प्रतिस्पर्धीले बताए ।
‘पहिले पनि कम्ति दबाब आएको थिएन । तर त्यस बेला सहभागि भइएन’ ती प्रतियोगीले भने, ‘अब चाहीँ गयल हुन नसकिने भयो । नगई सुखै पाइएन ।’
अर्थ मन्त्रालयले लामो माथापच्चिसी पछि एक साताभन्दा धेरै समय दिएर शुक्रबारका लागि उनीहरुलाई बोलाएको थियो । कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि भनेर मन्त्रालयले शुक्रबार विहान ८ बजे तीन जना प्रतियोगीलाई बोलाएको हो ।
संक्षिप्त सूचीमा परेका ५ मध्ये ३ जना गयल भएपछि यसअघि उक्त नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन । दुई पटकसम्म गयल हुने प्रतियोगीहरुमा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ छन् ।
सन्तोषनारायण श्रेष्ठ सेबोनकै अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ भने यसअघि नै छनोट प्रक्रियामा भाग लिएर प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागि भइसकेका थिए । तर सिफारिस समितिले कम्तिमा ३ जनाको नाम सिफरिस गर्नुपर्ने कानूनी व्यवस्थाका कारण धितोपत्र बजारको नियामक निकाय प्रमुख नियुक्ति प्रक्रिया बीचैमा रोकिएको थियो ।
गत पुस २० मा तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएयता सेबोन नेतृत्व बिहिनकै हालतमा छ । सरकारले ऐन संशोधन गरेर अर्थ मन्त्रालयबाट सेबोनको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सहसचिव नै सेबोनको निमित्त अध्यक्ष रहेने व्यवस्था गरेको छ ।
अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा धितोपत्र बजारको नियमनमात्रै होइन, कयौँ निर्णयहरु रोकिएका छन् । नियुक्ति प्रक्रियामा भाग लिएर अन्तिममा प्रक्रिया टुंग्याउन असहयोग गरेको भन्दै तीन जना प्रतियोगीको आलोचना पनि भएको थियो ।
उनीहरुले अप्रत्यक्ष रुपमा नियुक्तिमा ‘फिक्सिङ’ भएको अर्थात् कुनै अमुक व्यक्तिलाई नियुक्त गर्ने पूर्वनिर्धारित योजना अनुसार प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै आएका थिए । तर उनीहरुको अनुपस्थितिले नियामक निकाय लामो समयदेखि नेतृत्व बिहिन भएपछि अन्ततः प्रतियोगीहरु अन्तरवार्तामा सहभागि हुन तयार भएका हुन् ।
अर्थ मन्त्रालयले तीनै गना गलय प्रतियोगीसँग सल्लाह गरेपछि गत असोज ९ मा अन्तरवार्ताका लागि पुनः आह्वान गरेको थियो ।
यो प्रक्रिया अघि बढेसँगै अब दशैँ अघि नै सेबोनले नयाँ अध्यक्ष पाउने संभावना बढेको छ ।