दशैँपछि लय समात्दै सेयर बजार, परिसूचकभन्दा कारोबार रकममा ठूलो बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार २.४७ अंक बढेर बन्द भएको छ । २७४५ अंकमा पुगेको बजारका लागि यो कुनै बृद्धि होइन । ०.०९ प्रतिशतको बृद्धिलाई ‘स्थिरप्रायः’ भन्दा हुन्छ । साताको अन्तिम दिन र दशैँको छेको परेका कारण पनि यस्तो भएको हुनसक्छ ।
तर भर्खरैको दशैँ पछि सेयर बजारले विस्तारै नयाँ रफ्तार समात्न कोसिस गरेको छ । दशैँ अघि २६६८ अंकमा बन्द भएको नेप्से बिहीबारको इन्ट्रा–डे ब्यापारमा २७८१ अंकको नजिक पुगेको थियो । अघिल्ला दुई दिनमा करीब ७५ अंक बढेपछि नेप्सेको बढ्ने रफ्तार मन्द भएको छ ।
बिहीबार जम्मा साढे २ अंकमात्रै बढेर कारोबार बन्द भएको छ । तर कारोबारको आकारमा भने लगातार बृद्धि देखिएको छ । गत मंगलबार ३ अर्ब ३ करोड र बुधबार ५ अर्ब ५० करोडभन्दा कमैमात्र कारोबार भएको नेप्सेमा बिहीबार ८ अर्ब ८८ करोडभन्दा धेरैको सेयर किनबेच भएको छ ।
गत १५ असोजमा एकै दिन ११५ अंकको बढोत्तरी हुँदाको घटनालाई छाड्ने हो भने भदौ ३१ यताकै सर्वाधिक कारोबार बिहीबार भएको छ । यसले बजारमा सेयरको माग बढ्न थालेको देखाउँछ ।
गएको १३ असोजमा २४६४ अंकसम्म झरेपछि नेप्सेमा बृद्धिको नयाँ रफ्तार देखिएको छ । त्यस दिन इन्ट्रा–डे ब्यापारमा नेप्से २४४२ अंकसम्म झरेको थियो । यसरी गएको साउन ७ यताकै न्यून विन्दुमा ओर्लिएर नेप्सेले बाटो मोडेको हो ।
इन्ट्रा–डे ब्यापारको गतिविधी नियाल्ने हो भने भदौ २ मा ३ हजार ४८ अंक पुगेर ओरालो लागेको नेप्से केवल ५ साता हाराहारीमा ६०६ अंक अर्थात् करीब २० प्रतिशत ओर्लिएको थियो । त्यसपछि नेप्सेमा सुधार हुने क्रम देखिएको छ ।
गएको १६ असारमा २ हजार ३७ अंकमा बन्द भएको नेप्से साउन ३१ मा ३ हजार अंकमा पुगेको थियो । इन्ट्रा–डे ब्यापारलाई हेर्ने हो भने त मध्ये असारमा २ हजार ३० अंकमा झरेको नेप्से भदौ लाग्दैगर्दा १ हजार अंकभन्दा धेरैले बढीसकेको थियो ।
यसरी १ हजार १८ अंक बढेर ६०६ अंक घट्दा करीब ५९.५३ प्रतिशतबाट रिट्रेसमेण्ट भएको देखिन्छ ।
बिहीबारको ब्यापारमा कुमारी बैंकको सेयर सर्वाधिक कारोबार भयो । उक्त सेयर २.५३ प्रतिशत महँगिएको छ । एचआईडीसीएलको संस्थापक सेयर ५ रुपैयाँ महँगिएर दोस्रो ठूलो कारोबार हुने ‘स्क्रिप्ट’ बनेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर ११ रुपैयाँ सस्तिएको भए पनि तेस्रो धेरै कारोबार भएको कम्पनी बनेको छ ।
मूल्यका हिसाबले भने गुडविल फाइनान्सका लगानीकर्तालाई बढी फाइदा भएको छ । यो कम्पनीको सेयर ७.६३ प्रतिशत महँगिएको छ । त्यसपछि एनआईसी एसिया सेलेक्ट फण्ड र सनराइज ब्लुचिप फण्डका एकाईहरु ज्यादा महँगिएका छन् । सेयरमा भने गुडविलपछि समाज लघुवित्त र रावा इनर्जीको सेयर मूल्य धेरै बढेका छन् ।
अपर स्याङ्गे र मध्ये सोलु हाइड्रोपावर, सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायत कम्पनीको सेयर मूल्य ओरालो लागेका छन् । बिहीबारको ब्यापारमा १४२ कम्पनीको मूल्य सस्तिएको छ भने ८९ वटा कम्पनीको मूल्य महँगिएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
ब्यापारको अन्तिम घण्टामा २७८० अंकभन्दा माथि पुगिसकेको नेप्से त्यसपछिको ४५ मिनेटमा ओरालो लागेको थियो । यसरी उच्च विन्दुबाट हरेक मिनेटको अन्तरालमा करीब १ अंकको गिरावट भोग्दै झरेपछि नेप्सेले ‘रिभर्स ह्यामर’ आकृति बनाएको छ । यसले आगामी दिनमा बजार ओलारो लाग्नेतर्फ ज्यादा संकेत गर्छ ।
तर यो कारोबार नेप्सेका निम्ति सप्ताहन्त भएकाले तीन दिनपछि बजार खुल्दा लगानीकर्ताको मानसिकतामा कस्तो बदलाव आएको हुन्छ भन्ने यकिन भइसकेको छैन । यद्यपि १३ असोज यता इन्ट्रा–डे ब्यापारमा १३.८४ प्रतिशत अर्थात् ३३८ अंक बढेपछि नेप्सेमा केही सुस्तता आउने संकेत भने देखिएको छ ।
भलै, बढ्दो कारोबारको आँकडाले यस अनुमानलाई बल दिँदैन । तर बिहीबारको ब्यापार प्रबृत्तिले लगानीकर्ताहरु ‘अल्पकालिन नाफा’ सुरक्षित गर्न हतारिएको जस्तो देखिन्छ । यस्तो अवस्थामा नेप्से निरन्तर उकालो लाग्ने भन्दा पनि विस्तारै विस्तारै खुड्किला चढ्ने प्रबृत्ति बन्नसक्छ ।