आजदेखि समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिन सकिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपिओ आजदेखि निष्कासन भएको छ ।
कम्पनीको ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो ।
उक्त एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
उक्त आइपीओ खरिदका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा भने कात्तिक २६ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
एफपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ २५ पैसा पुग्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ ।