‘सेयर बजारलाई अहिलेको स्थितिबाट धेरै अघि बढाउने योजना छ’ « Arthapath.com
११ मंसिर २०८१, मंगलवार

‘सेयर बजारलाई अहिलेको स्थितिबाट धेरै अघि बढाउने योजना छ’



काठमाडौं । नेपाल धितोपत्र बोर्डको नेतृत्व खालि भएको ३२४ दिन पनि सरकारले सन्तोषनारायण श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । सोमबारको मन्त्री परिषद बैठकले उनलाई चार वर्षे कार्यकालका निम्ति बोर्ड अध्यक्ष नियुक्त गरेको हो ।

निकै लामो प्रक्रिया, दुई गठबन्धनको सरकार र कर्पोरेट लबिङका आरोपहरुले रुमल्लिएको नियुक्ति प्रक्रियाबाट गुज्रिएपछि अन्ततः सरकारले श्रेष्ठलाई रोजेको हो । बोर्डको उनको प्रवेशसँगै सेयर बजारलाई अहिलेको अवस्थाबाट निकै माथि उठाउने योजना रहेको बताएका छन् ।

लामो समय वित्तीय क्षेत्र र केही समय जलविद्युत् कम्पनीहरुका रहेर काम गरेका तर व्यावसायिक पृष्ठभूमि भएका श्रेष्ठको आगामी कार्यकाल र उनका रणनीतिबारे अर्थपथले गरेको संक्षिप्त अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

११ महिनासम्म नेतृत्व विहीन नेपाल धितो बोर्डको अध्यक्ष हुनु भएको छ, कसरी अघि बढ्ने योजना छ ?

मेरो स्पष्ट योजना छ । अहिले सेयर बजार जुन स्थितिमा छ, त्यो भन्दा धेरै अगाडि बढाउने योजना छ । गर्नुपर्ने कामहरू धेरै नै छन् । मैले बोर्ड अध्यक्षको तर्फबाट गर्नुपर्ने कामहरू प्राथमिकिकरण गरेर अघि बढ्छु ।

पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि केही महत्त्वपूर्ण र समय सीमालाई मध्यनजर गरेर काम अघि बढाउनुपर्छ ।

अहिलेको स्थितिमा बजारलाई कसरी ड्राइभ गर्ने ?

सेयर लगानीकर्ताको मनोबल बढाउने गरि योजना बनाएर काम गर्नुपर्छ । लगानीकर्ताको सुरक्षाका निमित्त गर्नुपर्ने काम नै पहिलो प्राथमिकतामा हुनेछ । सेयर बजार मात्र नभई समग्र अर्थतन्त्र नै चलायमान बनाउने गरी दीर्घकालीन नीति तथा काम कारबाही अघि बढाउने मेरो मुख्य उद्देश्य हो ।

देशको अर्थतन्त्र र आर्थिक विकासका लागि क्यापिटल मार्केटलाई भरपुर तरिकाले सदुपयोग गर्नुपर्छ ।

समग्रमा अहिले सेयर बजारको स्थिति जुन छ, मैले त्यसलाई रेगुलेटरको तर्फबाट गर्नुपर्ने प्रोत्साहनका कार्यहरू हुनेछन् । बजारमा हुने गलत क्रियाकलापहरू निगरानी र नियन्त्रण केन्द्रित हुनेछौँ ।

अहिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको कुरा पनि आइरहेको छ नि ?

सरकारको जे नीति निर्देशन छ, हामी त्यही अनुरूपमा नै अघि बढ्छौँ ।

बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया निकै लामो समयदेखि अल्झिएको थियो, राजनीतिकरण पनि भयो । अहिले तपाईँलाई कस्तो लागिरहेको छ ?

धितोपत्र बजारको नियमनकारी निकाय लामो समयदेखि नै नेतृत्व विहीन भयो, यो विडम्बना हो । जे हुनु भइहाल्यो, यो बिचमा पुँजी बजारमा जे जस्ता समस्याहरू व्यहोर्नु परेको छ । त्यसलाई अब छिटोभन्दा छिटो समाधान गरेर अघि बढाउनुपर्छ ।

तपाईँलाई कुनै व्यक्ति वा व्यापारिक समूहसँग जोडेर फरक–फरक टिप्पणी पनि बजार आइरहेको छन्, सत्य हो ?

बजारमा के कस्ता कुराहरू आइरहेका छन्, त्यो महत्त्वपूर्ण होइन । मैले त्यसमा मैले कुनै पनि चासो राख्दिन । तर, लगानीकर्ताको सुरक्षाका लागि प्रतिनिधि भएर आएको हुँ । कुनै व्यापारिक घराना र स्वार्थ समूहसँग जोडिएको छैन ।

लगानीकर्ता हकहित र संरक्षणकै लागि प्रतिबद्ध छु । लगानीकर्ताको हित र पुँजी बजारको दिगो विकास नै मुख्य प्राथमिकता हो ।


प्रतिक्रिया दिनुहोस्