गरिमा क्यापिटलले पनि ल्यायो म्युचुअल फण्ड, ७ पुसबाट विक्री खुल्ला
काठमाडौँ । अब विकास बैंकहरुमा पनि सामूहिक लगानी कोष सञ्चालन गर्ने लहर देखिन थालेको छ । मुक्तिनाथपछि गरिमा विकास बैंकले पनि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउन लागेको हो ।
बैंकले प्रबर्द्धन गरेको गरिमा क्यापिटलले आफ्नो सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत पहिलो बन्दमुखी योजना विक्रीमा ल्याउन लागेको हो । ‘गरिमा समृद्घि योजना’ नामको उक्त कोषमा सहभागी भई इकाई खरीद गर्न चाहने लगानीकर्ताले आगामी पुस ७ गतेबाट आवेदन दिन पाउने छन् ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम यो योजना सार्वजनिक रुपमा निष्काशन हुन लागेको हो । यस अन्तरगत प्रतिइकाई मूल्य रू. १० का १० करोड इकाई विक्री गर्न लागिएको छ । जुन १ अर्ब रुपैयाँ बराबरको हुने छ ।
यसरी निष्काशन भएकोमध्ये आधा अर्थात् ५ करोड इकाई विक्री हुनै पर्ने हुन्छ । तर हालै मुक्तिनाथको म्युचुअल फण्ड ‘ओभर सब्सक्राइब्ड’ भएका कारण यस योजनाको पनि इकाई विक्रीमा ठूलो समस्या नहुने देखिन्छ।
यो योजनामा पनि १० करोडभन्दा धेरै इकाइको माग भएमा २५ प्रतिशतसम्म कोषको आकार विस्तार गर्न सक्ने सुविधा कोष व्यवस्थापकलाई हुन्छ । त्यसैले बढीमा १२ करोड ५० लाख इकाई अर्थात् १ अर्ब २५ करोड रुपैयाँ बराबरसम्म कोषको आकार बृद्धि गर्न पाउने छुट हुन्छ ।
१० वर्षमा परिपक्व हुने यो योजनामा लगानी गर्न पुस ११ गतेसम्म आवेदन बुझाइसक्नु पर्ने छ । योजना व्यवस्थापकले आवेदन मिति लम्ब्यायो भने २१ पुससम्म आवेदन दिन पाइन सक्छ ।
बन्दमुखि योजना भएकाले यस योजनाका इकाईहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत गरी कारोवारको व्यवस्था गरिनेछ ।
अनुमानित वार्षिक प्रतिफल दर :
यस योजनामा १ अर्बको कुल कोषमध्ये कम्तिमा १४ करोड रुपैयाँ कोष प्रबद्र्धक गरिमा विकास बैंकले नै लगानी गर्ने छ । अर्को १ करोड रुपैयाँ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटलले लगानी गर्ने छ । बाँकी ८५ प्रतिशत अर्थात् ८५ करोड रुपैयाँका लागि उक्त सार्वजनिक निष्काशन गरिएको आह्वान पत्रमा उल्लेख छ ।
यस योजनाले आगामी १० वर्षभित्र ११० प्रतिशत अर्थात् वार्षिक औसत ११ प्रतिशतको अनुपातमा नगद लाभांश वितरण गर्ने लक्ष्य आह्वानपत्रमा प्रस्ताव गरेको छ ।