हाइड्रोपावरकै हुन्छ धेरै सेयर खरिदबिक्री, बैंक र बीमाको सेयरमा कस्तो छ आकर्षण ?

काठमाडौं । ६ महिनामा ११ खर्ब बढीको सेयर कारोबार भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा ११ खर्ब ९ अर्ब १९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार ६ महिनामा २ अर्ब ५६ करोड ९३ लाख ५४ हजार कित्ता सेयर किनेबच भएको छ ।
कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ३२.५ प्रतिशत छ । ६ महिनामा हाइड्रोपावर कम्पनीहरुको कुल ३ खर्ब ६० अर्ब ८७ करोड ४६ लाख रुपैयाँ बराबरको ९६ करोड ९७ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । गत वर्षको दोस्रो त्रैमासमा भने यस क्षेत्रको कारोबार हिस्सा २४.४ प्रतिशत मात्रै थियो ।
सेयर बजारमा हाइड्रोपावरपछि फाइनान्स र वाणिज्य बैंकमा धेरै आकर्षण देखिएको छ । राष्ट्र बैंकका अनुसार फाइनान्सको हिस्सा ११.९ प्रतिशत वाणिज्य बैंकको ११.२ प्रतिशत छ । चालु आवको ६ महिनामा फाइनान्सको १ खर्ब ३१ अर्ब ९५ करोड २९ लाख रुपैयाँ बराबरको १६ करोड ४४ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । यता, वाणिज्य बैंकको भने १ खर्ब २४ अर्ब ७० करोड ६६ लाख रुपैयाँ बराबरको ४१ करोड ३ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, सेयर कारोबारमा विकास बैंकको हिस्सा ७.७ प्रतिशत, लघुवित्तको ७.१ प्रतिशत, लगानी समूहको ६.६ प्रतिशत छ ।
यता, जीवन बीमा समूहको ५.४ प्रतिशत, निर्जीवन बीमाको ४.४ प्रतिशत उत्पादन तथा प्रशोधनको ४.३ प्रतिशत, होटल तथा पर्यटनको २.२, संस्थापक सेयरको १.२ प्रतिशत छ ।
सेयर कारोबारमा कुन समूहको हिस्सा कति ?
