आक्रामक देखिए ठुला लगानीकर्ता, बैंकबाट ठुलो आकारमा ऋण लिएर धमाधम सेयर किन्दै

काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा यस्तो शीर्षकको कर्जा ३५ प्रतिशत वृद्धि भएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा आइपुग्दा बैंक तथा वित्तीय संस्थाले १ खर्ब १५ अर्ब ११ करोड ३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने ३५.२ प्रतिशत बढी हो । गत आवको सो अवधिमा यस्तो शीर्षकको कर्जा प्रवाह ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ मात्रै थियो ।
राष्ट्र बैंकका अनुसार ठुलो आकारको ऋण बैंक तथा वित्तीय संस्थाहरुबाट लिएर सेयर बजारमा लगानी बढाएको देखिन्छ । विशेषगरि १ करोड माथि सीमाको सेयर धितो कर्जा प्रवाह ४६.२ प्रतिशत बढेको छ । गत माघ मसान्तसम्म आइपुग्दा यस्तो सीमाको सेयर कर्जा ७६ अर्ब ४० करोड १४ लाख रुपैयाँ प्रवाह भएको छ । जबकि, गत आवको सोही अवधिमा आइपुग्दा भने ५२ अर्ब २६ करोड ९५ लाख रुपैयाँ मात्रै प्रवाह भएको थियो ।
अन्यको तुलनामा १ करोड माथिको सेयर धितो कर्जाको माग निकै बढ्दो देखिन्छ । केन्द्रिय बैंकको नीतिगत सहजीकरण, सस्तिँदो बैंक ब्याजदर लगायतका कारण समय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर किन्ने लगानीकर्ताहरु निरन्तर बढी रहेका छन् ।
ब्याजदर सस्तिँदै गएपछि सेयर धितो राखी ऋण लिएर सेयर खरिदबिक्री गर्ने लगानीकर्ता बढेको पाइन्छ । हाल बैंकिङ्ग प्रणालीमा लगानीयोग्य पनि बढ्दो नै छ । तरलता सहज भएपछि बैंकहरुको ब्याजदर घट्दै गएको छ । ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह भने बढ्दै गएको हो । यता, सेयर बजार पनि बढ्दो क्रममा छ । यति बेला लगानीकर्ताहरु बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर धमाधम सेयर बजारमा लगानी गरेको राष्ट्र बैंकको आँकडाले जनाउँछ ।
राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनामा ५० लाख देखि १ करोड सीमाको सेयर धितो कर्जा पनि २२ प्रतिशत वृद्धि भएको छ । जबकि, गत आवको माघ मसान्तसम्म यस्तो सीमा ११ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले १४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यता, २५ लाखदेखि ५० लाख सीमाको सेयर धितो कर्जा प्रवाह पनि १७.४ प्रतिशत वृद्धि भएको छ । ७ महिनामा बैंक तथा वित्तीय संस्थाले यस्तो सीमामा १६ अर्ब २५ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यसैगरि २५ लाख रुपैयाँ सम्मको सेयर धितो कर्जा प्रवाह पनि १०.८ प्रतिशत वृद्धि भई ७ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ कायम भएको छ ।