सेयर बजारमा झिनो अंकको बढोत्तरी : कारोबार रकम घट्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा झिनो सुधार देखिएको छ । मंगलबार बजार १.७३ अंक मात्रै वृद्धि भएको छ ।
साताको दोस्रो कारोबार दिन बजार परिसूचक २ हजार ६७१.८० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहमा बढोत्तरी देखिएको छ । तर, यस बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् । सोमबार पनि बजार ३३.३३ अंक घटेको थियो ।

आज कारोबार रकम भने केही गिरावट देखिएको छ । आज कुल ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छन् ।
उक्त दिन १२१ कम्पनीको सेयर भाउ वृद्धि भएको छ । १२३ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ ।
आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको ४९ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । यता, हिमालयन रिको पनि ४० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, नेपाल रिको २३ करोड १३ लाख, युनाईटेड मोदीको २१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन ।