सेयर किन्न ऋणको होड, बजारमा कसको चल्यो दबदबा ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु सेयर धितो कर्जा प्रवाहमा निकै आक्रामक देखिएका छन् । पछिल्लो समय मार्जिन प्रकृतिको सेयर धितो कर्जा उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ ।
एकातर्फ ब्याजदर घट्दो क्रममा रहेकाले कर्जा सस्तो हुँदै गएको छ । अर्कोतर्फ सेयर बजारमा आकर्षण बढेको छ । योसँगै लगानीकर्ताहरू ऋण लिएर सेयर खरिदतर्फ आकर्षित भएको देखिन्छ ।
पछिल्लो एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित सेयर धितो कर्जा ४४ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा कुल १ खर्ब २४ अर्ब १२ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्रवाह भएको तुलनामा ४४.०२ प्रतिशत बढी हो । गत आवको सो अवधिमा भने यस्तो शीर्षकमा कुल ८६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकको नीतिगत सहजीकरण लगायतले पनि यस्तो कर्जा वृद्धिमा टेवा पुगेको हो । पछिल्लो समय ब्याजदरमा आएको निरन्तर गिरावट र बैंकिङ प्रणालीमा बढ्दो तरलताले सेयर धितो कर्जामा व्यापक वृद्धि ल्याएको हो । कम ब्याजदरको फाइदा उठाउँदै लगानीकर्ताहरूले सेयर धितो राखी कर्जा लिने प्रवृत्ति बढाएका छन् । खासगरी मझौला र ठूला लगानीकर्ताले उच्च परिमाणमा ऋण लिइरहेका छन् ।
राष्ट्र बैंकका अनुसार, १ करोड रुपैयाँ माथिको सीमामा प्रवाहित सेयर धितो कर्जा ६०.९८ प्रतिशत वृद्धि भएको छ । योसँगै यस्तो शीर्षकको कर्जा ८४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आवको चैत मसान्तसम्म यस शीर्षकमा ५२ अर्ब ६१ करोड ३० लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको थियो ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार बजारमा ठूला लगानीकर्ताहरू अझै बढी सक्रिय बनेका छन् । सेयर धितो कर्जाको प्रवाह उच्च दरमा वृद्धि भइरहेको छ । सस्तो ब्याजदर र लगानीयोग्य तरलताको प्रभावमा बजारमा ऋण लिएर लगानी गर्ने प्रवृत्ति तीव्र हुँदै गएको छ । यस्तो प्रवृत्तिले अल्पकालीन रुपमा सेयर बजारमा चहलपहल बढाए देखिन्छ । यद्यपि, दीर्घकालिन रुपमा भने जोखिमपूर्ण परिस्थिति सिर्जना गर्न सक्छ ।
यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्म सीमाको सेयर धितो कर्जा प्रवाह पनि २३.५६ प्रतिशत वृद्धि भएको छ । हाल यो कर्जा १४ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १२ अर्ब ९१ लाख रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो ।
२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सीमाको कर्जा प्रवाह पनि १७.३१ प्रतिशत बढेर १६ अर्ब ६४ करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १४ अर्ब १८ करोड ४७ लाख रुपैयाँ थियो ।
२५ लाख रुपैयाँसम्मको सीमामा प्रवाह भएको सेयर धितो कर्जा पनि ७.६३ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवको चैत मसान्तसम्ममा ७ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, चालु आवको सोही अवधिमा भने ७ अर्ब ९४ करोड १९ लाख रुपैयाँ पुगेको छ ।