बीमा कम्पनीमा फेरिँदो रणनीति: शतप्रतिशत बढाए सेयर बजारमा लगानी, कसको ‘पोर्टफोलियो’ कति ? « Arthapath.com
२५ असार २०८२, बुधबार

बीमा कम्पनीमा फेरिँदो रणनीति: शतप्रतिशत बढाए सेयर बजारमा लगानी, कसको ‘पोर्टफोलियो’ कति ?



काठमाडौं । बीमा कम्पनीहरू सेयर बजारमा थप सक्रिय बन्दै गएका छन् । कम्पनीहरूले बजारमा आक्रामक ढंगले लगानी बढाउन थालेका छन् ।

पछिल्लो एक वर्षको अवधिमा नै बजारमा ९३.४३ प्रतिशत लगानी वृद्धि गरेका छन् । कम्पनीहरुले सो अवधिमा १८ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ बराबरको लगानी थपेका छन् । अहिले १३ वटा जीवन बीमा, १२ वटा निर्जीवन बीमा, दुई वटा पुनर्बीमा र एक लघुबीमा गरि २८ कम्पनीले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण सेयरमा लगानी गरेका हुन् ।

ती कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा बजारमा कुल ३८ अर्ब ८१ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् । जबकि, गत आवको सोही अवधिमा कम्पनीहरुले २० अर्ब ६ करोड ४९ लाख रुपैयाँ मात्रै लगानी गरेका थिए ।

बीमा कम्पनीहरुले कुल लगानीको झन्डै ५ प्रतिशत सेयर बजारमा देखिन्छ । बैंकहरुको मुद्दति निक्षेपमा रमाइरहेका कम्पनीहरु पछिल्लो समय सेयर बजारमा समेत केन्द्रित देखिन्छन् । अर्थतन्त्रका विभिन्न क्षेत्रमा बीमा कम्पनीहरुको कुल ७ खर्ब ८७ अर्ब १२ करोड ३० लाख रुपैयाँ लगानी छन् । त्यसको ४.९३ प्रतिशत सेयर बजारमा लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले लगानी सम्बन्धी नीति लचिलो बनाएपछि बजारमा लगानी बढाएका हुन् । प्राधिकरणको संशोधित नियमन अनुसार बीमा कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको १० प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने छन् । त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पब्लिक कम्पनीहरूको सेयरमा भने १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

बीमा कम्पनीहरूलाई लगानीमा सहुलियत दिने नीति कार्यान्वयनमा आएसँगै पूँजी बजारमा पनि सकारात्मक संकेत देखिएको छ । गत वर्षको तुलनामा नेप्से सूचकांकमा उल्लेख्य बढोत्तरी नै देखिएको छ । कारोबार रकम समेत बढ्दो क्रममा रहेको छ । बीमा कम्पनीहरूको सक्रियता बढेसँगै बजारमा लगानीकर्ताको मनोबल बढेको देखिन्छ ।

पछिल्लो समय बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर निरन्तर घट्दो छ । ब्याजदर घटेपछि बीमा कम्पनीहरू आफ्नो लगानी रणनीति परिवर्तन गर्दै सेयर बजारतर्फ केन्द्रित देखिन्छन् । हाल बैंकहरूको मुद्दती निक्षेपमा ब्याजदर ६ प्रतिशतभन्दा कममा झरेको अवस्था छ । यसले बीमा कम्पनीहरूको परम्परागत लगानी माध्यममा प्रतिफल घटेपछि कम्पनीहरूको सेयरमा लगानी बढाएको हुन सक्ने जानकारहरु बताउँछन् ।

अहिले सेयर बजारमा क्रमिक सुधार छ । अर्कोतर्फ नियमित लाभांश दिने कम्पनीहरूको संख्या बढीरहेको छ, दीर्घकालीन मूल्य वृद्धिको सम्भावनाले पनि सेयर बजारमा बीमा कम्पनीहरूलाई आकर्षित गरिरहेको बताइएको छ ।

हाल बीमा कम्पनीहरुले मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड डिबेञ्चर तथा ऋणपत्र, सरकारको बचतपत्र, नागरिक लगानी कोष र म्युचुअल फण्ड, सेयर बजार, घरजग्गा लगायतका क्षेत्रमा लगानी गर्दै आएका छन् ।

जीवन बीमा कम्पनी निकै आक्रमक, शतप्रशित बढाए सेयर बजारमा लगानी

सेयर बजारमा लगानी वृद्धिमा जीवन बीमा कम्पनीहरु निकै आक्रामक देखिएका छन् । एक वर्षको अवधिमा नै कम्पनीहरुले बजारमा ११९.०८ प्रतिशत बढाएका छन् ।

९ महिनामा १३ जीवन बीमा कम्पनीहरुले ३३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन् । जबकि, गत आवको सोही अवधिमा १५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ लगानी गरेका थिए ।

सबै जीवन बीमा कम्पनीहरुको सेयर बजारमा लगानी बढाएका छन् । सेयर जारमा सबैभन्दा ठूलो लगानी १० अर्ब ६३ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । यो गत वर्षको तुलनामा २७३.५३ प्रतिशत बढाएको छ ।

यस्तै, नेपाल लाइफको ४ अर्ब ८८ करोड ५९ लाख, सूर्यज्योतिको २ अर्ब ७० करोड ४५ लाख, एलआइसी नेपालको २ अर्ब ४२ करोड ७७ लाख र राष्ट्रिय जीवन बीमाको २ अर्ब १५ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

सेयर बजारमा सर्वाधिक लगानी भने सिजिजन लाइफले बढाएको छ । कम्पनीले यस्तो लगानी ५२३.८१ प्रतिशत बढाएर ९६ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा १५ करोड ४० लाख रुपैयाँ मात्रै बजारमा लगानी गरेको थियो ।

झन्डै ३१ प्रतिशत बढाए निर्जीवन बीमाले लगानी, ५ वटा कम्पनीले भने घटाए

समिक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको सेयर बजारमा लगानी झन्डै ३१ प्रतिशत वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा आइपुग्दा कम्पनीहरुले ३ अर्ब ४७ करोड ५९ लाख रुपैयाँ लगानी गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३०.८६ प्रतिशत बढेर ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

निर्जीवन तर्फ राष्ट्रिय बीमा कम्पनीको ठुलो लगानी छ । सेयर बजारमा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । यद्यपि, यो गत वर्षको तुलनामा भने २.४९ प्रतिशत कमी हो ।

लगानी बढाउन एनएलजी इन्स्योरेन्स शीर्ष सूचीमा छ । कम्पनीको लगानी ५८३.२९ प्रतिशत बढेर ११ करोड १ लाख रुपैयाँ पुगेको छ । तर, प्रभू इन्स्योरेन्स, युनाईटेड अजोड, सिद्धार्थ प्रिमियर, सलिकोको सहित ५ कम्पनीले भने घटाएका छन् ।

यता, पुनर्बीमा कम्पनी तर्फ हिमालयन रिले मात्रै सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले यस्तो लगानी २०.४७ प्रतिशत बढाएर १ अर्ब ८ करोड ७ लाख रुपैयाँ पुगेको छ । यस्तै, नेपाल रिको भने ८३.९२ प्रतिशत घटेर ९ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा भने ५८ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, लघुबीमा तर्फ हाल लिवर्टी माइक्रो लाइफले मात्रै सेयर बजारमा लगानी गरेको छ । कम्पनीले हाल बजारमा ८८ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्