लगानीको लहर: अब आउँदैछन् ८८ कम्पनीका आईपीओ, सेबोनले एक्कासी किन स्वीकृति दिन थाल्यो ?

काठमाडौं । निकै लामो समयदेखि रोकिएको आइपीओ निष्कासन अनुमति प्रक्रिया अन्ततः तीव्र बनेको छ ।
व्यापक आलोचना र दबाबपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपीओ स्वीकृति दिन सक्रियता देखाएको हो । अब छिट्टै दर्जनौं कम्पनीका आईपीओ आम लगानीकर्ताको हातमा आउने तयारीमा छन् ।
अहिले साढे सात दर्जन कम्पनीहरुको आइपीओ निष्कासन अनुमतिको पर्खाईमा छन् । हाल ७६ वटा कम्पनीहरुको ५२ अर्ब ४२ करोड ६६ लाख १३ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्कासन प्रस्ताव बोर्डको पाइपलाइनमा छ ।
प्रक्रिया पूरा गरेका कम्पनीहरू अनुमति नपाएर लामो समयदेखि रोकिएका थिए । आइपीओ निष्कासन अनुमति प्रक्रियामा ढिलासुस्ती गरेपछि चौतर्फी आलोचना भएका थियो । आईपीओ अनुमति प्रक्रिया निकै ढिलो हुँदा लगानीकर्ता आक्रोशित बनेका थिए ।
विशेषगरि जलविद्युत क्षेत्रका लगानीकर्ताले चर्को विरोध गरेका थिए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले त आइपीओ स्वीकृत रोकिनुमा बोर्डलाई बिचौलिया चलखेल र ढिलासुस्तीको आरोप लगाउँदै व्यापाक विरोध गरेको थियो ।
तर, यस्ता आलोचना र विरोधपछि बोर्डले प्रक्रिया पुगेका कम्पनीलाई स्वीकृति दिन थालेको छ । पाइनलाइनमा रहेका कम्पनीहरुको आइपीओ अब धमाधम बिक्रीमा आउनेछ ।
अहिले बोर्डले आइपीओ अनुमति दिने कार्यलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । निष्कासनको अनुमति मागेका कम्पनीहरु माथि विशेष अध्ययनसँगै प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ । प्रक्रिया पुगेका योग्य कम्पनीहरुलाई अनुमति दिइएको बोर्डको भनाई छ ।
केही दिन अघि मात्रै बोर्डले मापदण्ड नपुगेका दर्जन कम्पनीहरुलाई सूचीबाट नै हटाएको थियो । बोर्डले आइपीओ निष्कासनको तयारीमा रहेका १४ वटा कम्पनी सूचीबाट हटाएको हो । त्यसमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका थिए । अधिकांशको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेको र केहीको विद्युत् खरिद सम्झौता (पिपिए) अवधि छोटो रहेका थिए ।
अब योग्य कम्पनीहरूले धमाधम अनुमति पाउनेछन् । बोर्डले नियमित प्रक्रिया अनुसार योग्य कम्पनीहरूलाई स्वीकृति दिइनेछ बोर्डले जनाएको छ ।
७६ कम्पनीको साढे ५२ अर्बको आईपीओ पाइपलाइनमा, अधिकांश हाइड्रोपावर
बोर्डका अनुसार हाल ७६ वटा कम्पनीहरु आइपीओ निष्कासनको अनुमति मागेका छन् । ती कम्पनीहरुले कुल ५२ अर्ब ४२ करोड ६६ लाख १३ हजार रुपैयाँ बराबरको २६ करोड ८१ लाख ७९ हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेका हुन् ।
तीमध्ये अधिकांश जलविद्युत कम्पनी छन् । हाल तीन दर्जन बढी जलविद्युत कम्पनीहरु आइपीओ निष्कासन अनुमतिको पर्खाईमा छन् । बोर्डका अनुसार ३७ वटा कम्पनीहरुले १८ अर्ब २८ करोड ६५ लाख रुपैयाँ बराबरको १७ करोड ८७ लाख ९२ हजार कित्ता आइपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।
बोर्डका अनुसार उत्पादन तथा प्रशोधन समूहतर्फ भने १६ वटा कम्पनी पाइपलाइनमा छन् । ती कम्पनीहरुले २४ अर्ब ६२ करोड ५४ लाख २१ हजार रुपैयाँ बराबरको ११ करोड १४ लाख ७२ हजार कित्ता आइपीओ निष्कासनको अनुमति बोर्डसँग मागेका छन् ।
बोर्डका अनुसार होटेल तथा पर्यटन क्षेत्रका ५ वटा कम्पनीले २ अर्ब ३० करोड ७० लाख रुपैयाँ बराबरको २ करोड ४३ लाख २० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति मागेका छन् । होटेल फरेष्ट इन्टरनेशन, बन्दिपुर केबल कार लगायत पाँच वटा कम्पनी छन् ।
यता, लगानी समूहका ३ वटा कम्पनीले पनि २ अर्ब ९३ करोड १० लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ५० हजार कित्ता, लघुवित्त तर्फ स्वस्तिक लघुवित्तले ८० लाख बराबरको ८० हजार कित्ता, विकास बैंक तर्फ साल्पा विकास बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेका छन् ।
यस्तै, लघुबीमा तर्फका तीन वटा कम्पनीहरु पनि पाइप लाइनमा छन् । बोर्डका अनुसार प्रोटेक्टिभ माइक्राो इन्स्योरेन्स, स्टार माइक्रा र लिवर्टी माइक्रो लाइफको कुल ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ६० हजार कित्ता आइपीओ पाइपलाइनमा छ ।
अन्य समूह तर्फका १० वटा कम्पनीहरु पनि पाइपलाइनमा छन् । डिस मिडिया नेटवर्क, आइएमई लिमिटेड लगायत अन्य समूह अन्तर्गतका १० कम्पनीहरुले ३ अर्ब ४२ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि अनुमति मागेका छन् । ती कम्पनीहरुले कुल २ करोड ७४ लाख ९० हजार कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेका हुन् ।
NZgrbO9XPvh9RtOM3tTH8C0m74ui7NP2gVcNMpXa