सेयर बजार सुधारमा धितोपत्र बोर्ड सक्रिय, लगानीकर्ता संघहरूको सकरात्मक समर्थन « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

सेयर बजार सुधारमा धितोपत्र बोर्ड सक्रिय, लगानीकर्ता संघहरूको सकरात्मक समर्थन



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठको नियुक्तसँगै बोर्डले पूँजी बजारमा सुधार ल्याउने उद्देश्यले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनामार्फत कार्य थालनी गरेको छ ।

श्रेष्ठको दीर्घ अनुभव, स्पष्ट दृष्टिकोण र दूरदर्शी नेतृत्वले नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने विश्वास लगानीकर्ताका विभिन्न संघसंस्थाहरूले व्यक्त गरेका छन् ।

मंगलबार सेयर लगानीकर्ता संघ नेपाल, पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बोर्डको पछिल्ला नीतिगत सुधार प्रयासहरू प्रति आभार व्यक्त गरेका हुन् ।

उनीहरूले बोर्डका सकारात्मक पहलहरूलाई प्रभावकारी कार्यान्वयन गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

संघसंस्थाले विशेषगरी नेटवर्थ १० भन्दा कम भएका कम्पनीहरूको आईपीओ प्रस्ताव लेखा समितिको निर्देशनअनुसार पुनरावलोकन गर्ने तथा आईपीओ प्रक्रियालाई पारदर्शी बनाउने कार्यलाई स्वागतयोग्य बताएका छन् ।

त्यसैगरी, आयोजना सम्पन्न नहुँदै हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीहरूले सेयर बिक्री गर्न नपाउने गरी नीति निर्माणको तयारी गरिएको कदमलाई पनि सकारात्मक रूपमा लिइएको उल्लेख गरेका छन् ।

बोर्डले सेयर बजारमा भइरहेका अनैतिक क्रियाकलाप नियन्त्रण, निजी क्षेत्रको सहभागितामा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको तयारी तथा सुदृढ नियमन र सुपरीवेक्षण प्रणाली निर्माणतर्फ चालेका कदमहरूप्रति संघ-संस्थाहरू आशावादी रहेका छन् ।

उनीहरूले धितोपत्र बोर्डलाई एक अभिभावक संस्थाका रूपमा अनुभूति गर्ने वातावरण बनोस् भन्ने अपेक्षा गर्दै पारदर्शिता, सुशासन र लगानीमैत्री वातावरणको विकासमा सबै पक्षको सहकार्य रहने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्