सेयर बजारमा लगानी गर्न ऋण लिने होड, किन आकर्षित भइरहेका छन ठूला लगानीकर्ता ?

काठमाडौं । सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) व्यापाक मात्रामा बढेको छ । पछिल्लो एक वर्षमा नै यस्तो कर्जाको आकार ४६ प्रतिशत वृद्धि भएको छ ।
अन्य शीर्षकमा प्रवाह हुने कर्जा सुस्त छ । तर, सेयर धितो कर्जा प्रवाह भने उच्च मात्रामा वृद्धि भएको देखिन्छ । सस्तो ब्याजदर, नीतिगत सहजीकरण र सेयर बजारप्रतिको उत्साहबीच बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा भने आक्रामक रुपमा बढेको हो ।
बैंकिङ्ग प्रणालीमा तरलता प्रशस्त भएसँगै कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ । हाल सेयर धितो कर्जामा समेत माग तीव्र रूपमा बढेको देखिन्छ । ब्याजदर पनि एकल अंकमा झरेको छ । योसँगै लगानीकर्ताहरू बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण लिएर सेयर बजारमा आकर्षित भइरहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८१–८२ को १० महिना (साउनदेखि बैशाख) सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत बैशाखसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत गत आवको सोही अवधिको तुलनामा भने ४६.०३ प्रतिशत धेरै हो । गत आवको बैशाख मसान्तसम्म आइपुग्दा यस्तो कर्जाको आकार ८५ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।
पछिल्लो १० महिनामै बैंक तथा वित्तीय संस्थाले कुल ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् ।नयाँ नीतिगत सहजीकरणले ऋणमार्फत सेयर बजारमा लगानी गर्न खोज्ने लगानीकर्तालाई थप प्रोत्साहन मिलिरहेको बताइन्छ ।
हालै मात्र राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार अब बैंक तथा वित्तीय संस्थाले दिने सबै सेयर धितो कर्जामा समानरूपमा १०० प्रतिशत जोखिमभार मात्र लागू हुनेछ । अघिल्लो व्यवस्था अनुसार ५० लाख रुपैयाँसम्मको कर्जामा १०० प्रतिशत र त्यस माथिको कर्जामा १२५ प्रतिशत जोखिमभार थियो । यो व्यवस्था हटाइएकाले पूँजी पर्याप्तताको हिसाबले बैंक तथा वित्तीय संस्थालाई सहजता मिल्ने अपेक्षा गरिएको छ । ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह बढेको र त्यसको सकारात्मक असर सेयर बजारमा देखिन थालेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
विशेषगरि सेयर धितो कर्जामा ठुला ऋणीको सक्रियता बढी देखिन्छ । राष्ट्र बैंकका अनुसार १ करोड माथि सीमाको सेयर धितो कर्जाको माग बढी नै छ । यस्तो सीमामा प्रवाह हुने कर्जा एक वर्षमा ६२.३३ प्रतिशत वृद्धि भएको छ । गत बैशाख मसान्तसम्म आइपुग्दा यस्तो सीमाको कर्जा ८५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको सोही अवधिमा यस्तो कर्जाको आकार ५२ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । चालु आवको १० महिनामा मात्रै २९ अर्ब ८० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
ठूला लगानीकर्ता बढी सक्रिय भएका छन् भने मध्यम वर्गका लगानीकर्ताको चासो पनि क्रमशः बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा ५० लाखदेखि १ करोड सीमाको सेयर कर्जा प्रवाह पनि २७.८१ प्रतिशत वृद्धि भएको छ । गत आवको बैशाख मसान्तसम्म यस्तो सीमाको कर्जा ११ अर्ब ७७ करोड ५९ लाख रुपैयाँ रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर १५ अर्ब ५ करोड ९ लाख रुपैयाँ कायम भएको छ । चालु आवको १० महिनामा मात्रै भने यस्तो सीमामा २ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यता, २५ लाखदेखि ५० लाखसम्मको सीमा प्रवाह गर्ने सेयर कर्जा पनि १८.१९ प्रतिशत वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाले बैशाख मसान्तसम्म १६ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकि, गत आवको सोही अवधिसम्म आइपुग्दा भने यस्तो कर्जा १४ अर्ब ६ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको १० महिनामा मात्रै यस्तो सीमामा २ अर्ब २० करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । समिक्षा अवधिमा यस्तो सीमाको कर्जा भने १५.३ प्रतिशत वृद्धि भएको हो ।
राष्ट्र बैंकका अनुसार २५ लाख सीमाको सेयर कर्जा प्रवाह पनि ११.१० प्रतिशत वृद्धि भएको देखिन्छ । अघिल्लो बैशाख मसान्तसम्म आइपुग्दा यस्तो सीमामा ७ अर्ब २९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, गत बैशाखसमम आइपुग्दा भने बढेर ८ अर्ब १० करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आवको १० महिनामा मात्रै यस्तो सीमामा ७९ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।