सेयर बजार : बजेटपछिको अन्योल विस्तारै हट्दै, के खुद्रा लगानीकर्ताको सहभागिता बढ्नेछ ? « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

सेयर बजार : बजेटपछिको अन्योल विस्तारै हट्दै, के खुद्रा लगानीकर्ताको सहभागिता बढ्नेछ ?



काठमाडौं । यो साता सेयर बजारमा सामान्य सुधार देखाएको छ । गत आइतार अर्थात् जेठ २५ गतेदेखि बिहीबार (जेठ २९ गते) सम्म आइपुग्दा बजार ०.५५ प्रतिशत मात्रै बढेको छ ।

पाँच दिनको कारोबार अवधिमा नेप्से परिसूचक १४.४२ अंकले बढेको देखिन्छ । समिक्षा अवधिमा परिसूचक २६५५.३८ विन्दुमा पुगेको छ । यो साता बजार दिन उकालो लागेको थियो भने तीन दिन ओरालो लागेको थियो ।

सूचकहरूमा सुधार

यो साता नेप्सेसँगै अन्य सूचकहरू पनि सकारात्मक रहे । सेन्सेटिभ इन्डेक्स २.७६ अंकले बढेर ४५४.०९ विन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स १.१० अंकले बढेर १८१.३५ विन्दु र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.१० अंकले बढेर १५४.४५ विन्दुमा पुगेका छन्।

कारोबारमा उल्लेखनीय वृद्धि

बजार सुधारसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो सातामा दैनिक औसत ७ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो साता भने दैनिक औसत कारोबार १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ । कारोबार रकम ३८.८७ प्रतिशत बढेको हो । औसत कारोबार संख्या पनि १६.९८ प्रतिशत वृद्धि भई ८६ हजार ३६४ पुगेको छ । औसत कारोबार भएका सेयर संख्यामा ३०.७३ प्रतिशत वृद्धि भएको देखिन्छ । यस्तै, कुल बजार पूँजीकरण २४ अर्ब रुपैयाँ बढेको छ । योसँगै बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब रुपैयाँमा पुगेको छ ।

उपसमूहगत प्रदर्शनः जलविद्युत अगाडि, व्यापार पछि

उपसमूहगत रूपमा हेर्दा कुल १३ उपसमूहमध्ये ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ वटा घटेका छन् । यो साता जलविद्युत उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको । जलविद्यूत यो साता सबैभन्दा बढी बढेको क्षेत्र बनेको छ ।

अघिल्लो साता ३४५०.८३ विन्दुमा बन्द भएको जलविद्युत उपसमूह १९०.३१ अंकले उकालो लागेको छ । यो साता यस समूह ३६४१.१४ विन्दुमा पुगेको छ । यो ५.५१ प्रतिशतको वृद्धी हो । त्यसपछि वित्त उपसमूह ४.३३ प्रतिशत र होटल तथा पर्यटन उपसमूह २.२१ प्रतिशत बढेका छन् । यासँगै यस साता यी दुई समूह क्रमशः २४५४.८४ अंक र ६८८७.३७ अंक बिन्दुमा पुगेका छन् ।

अन्य केही उपसमूहहरू म्युचुअल फन्ड र लगानी उपसमूहमा पनि सामान्य बढोत्तरी देखिएको छ । यो साता अन्य समूह १.२३ प्रतिशत वृद्धि भई २३२८.१७ अंकको बिन्दुमा पुगेको छ । यस्तै, म्युचुअल फन्ड १९.९५ अंक, लगानी समूह ११२.१६ अंकको बिन्दुमा पुगेका छन् ।

यता, जीवन बीमा उपसमूह सबैभन्दा बढी अंकमा घटेको छ । अघिल्लो साताको तुलनामा १५०.०५ अंकले घटेर यो उपसमूह १.१५ प्रतिशतले कमजोर देखिएको छ ।

यो साता व्यापार उपसमूह भने प्रतिशतका आधारमा सबैभन्दा धेरै घटेको क्षेत्र बनेको छ । यो क्षेत्र १.६३ प्रतिशत घटेर ४१८५.६७ विन्दुमा झरेको छ । यस्तै, उत्पादन तथा प्रशोधन, विकास बैंक, बैंकिङ्ग, माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसमूहमा पनि गिरावट देखिएको छ । यी क्षेत्रहरु क्रमशः ७०७६.४७ अंक, १३५३.०८, ४६८२.६७ र १२१५०.२७ अंकमा पुगेका छन् ।

आगामी साता कस्तो ?

बजारले यो साता समग्रमा स्थिर सुधार देखाए पनि विभिन्न उपसमूहबीचको फरक प्रदर्शनले लगानीकर्ताको मनोविज्ञान अझै पूर्णतः विश्वस्त बन्न सकेको छैन ।

हालको बजार प्रवृत्तिले नेप्से अझै स्थिर चरणमै रहेको देखिन्छ । साता अवधिमा परिसूचक सामान्य रूपमा बढेको छ । तर, बजारले स्पष्ट ट्रेन्ड बनाउन सकेको छैन । जलविद्युत्, पर्यटन र वित्त उपसमूहमा देखिएको सुधारले लगानीकर्ता दीर्घकालीन सम्भावना भएका क्षेत्रमा केन्द्रित हुन थालेका छन् ।

जलविद्युत, वित्त र पर्यटन क्षेत्रले आशा जगाए पनि बीमा, व्यापार, र उत्पादनजस्ता प्रमुख क्षेत्रहरूमा देखिएको गिरावटले बजारमा द्विविधा कायमै छ ।

बजेटपछिको अन्योल बिस्तारै हट्दै जाँदा खुद्रा लगानीकर्ताको सहभागिता बढ्ने संकेत देखिएको छ । कारोबार रकम र संख्यामा आएको उल्लेखनीय वृद्धि सकारात्मक पक्ष हो । तर यो साता पनि बीमा, बैंकिङ र उत्पादनजस्ता प्रमुख उपसमूहमा कमजोरी कायमै छ, जसले समग्र बजारलाई अझै पूर्ण गति दिन सकेको छैन ।

आगामी सातामा यीनै क्षेत्रहरूको प्रदर्शनले बजारको आगामी दिशा निर्धारण गर्नेछ । बैंकिङ्ग, बीमा र उत्पादन लगायतका क्षेत्रहरूमा सुधार देखियो भने आगामी साता बजारमा क्रमशः उत्साह आउन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्