आइपीओ ल्याउँदै राष्ट्रिय कृषि कम्पनी, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल « Arthapath.com
२९ पुष २०८१, सोमबार

आइपीओ ल्याउँदै राष्ट्रिय कृषि कम्पनी, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।

आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।

एक कार्यक्रममा राष्ट्रिय कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

“माटो देखि सफलता सम्म” भन्ने यसको मूल नाराका साथ २०८१ साल बैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र कृषक सशक्तिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपालको स्थापना भएको हो ।

कम्पनीले कृषिलाई सजाँयको पेशाबाट गर्वको पेशामा रूपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संशाधन विकासमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

कम्पनीले कृषिको ई–कमर्श र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने कामका साथै कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन र क्यानिङ उद्योग स्थापना जस्ता महत्वपूर्ण कार्यहरू तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउन प्रयासरत रहेको छ । दीर्घकालीन लक्ष्यहरुलाई वित्तीय आधार प्रदान गर्दै राष्ट्रिय कृषि कम्पनी नेपालले कृषक र उपभोक्ताको हितका लागि कृषि क्षेत्रको रुपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न दृढ रहने जनाएको छ ।

लोकन्थली, भक्तपुरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हाल जनकपुर शाखा सञ्चालनमा रहेको छ । निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ बढि प्रभावकारी सेवा दिने कम्पनीको योजना रहेको छ ।

शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श र कृषि उपकरण तथा मलको वितरण लगायत कार्य गर्नेछ । अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रुपैयाँ रहेको छ । भविष्यमा ५० करोड रुपैयाँ जारी पूँजी पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीमा हाल ७०० भन्दा बढी संस्थापकहरु आवद्ध भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्