तिजमा भड्किलाे र खर्चिलोपनलाई हटाउनुपर्नेमा राष्ट्रपतिकाे जाेड « Arthapath.com
६ असार २०८२, शुक्रबार

तिजमा भड्किलाे र खर्चिलोपनलाई हटाउनुपर्नेमा राष्ट्रपतिकाे जाेड



काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले तीजले लैंगिक, जातीय विभेदलगायत सबै प्रकारका असमानता अन्त्य गर्दै समतामूलक प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस भन्ने कामना गरेकी हुन् ।

तीजमा हुने भड्किलोपन र खर्चिलोपनलाई हटाउनुपर्नेमा उनले जोड दिएकी छिन् । उनको शुभकामना सन्देशमा ‘हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ ।’

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको संक्रमण देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा घरैमा बसेर तीज पर्व मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।

तीजको अवसरमा आज शुभकामना दिँदै उनले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आग्रह गरेका हुन् ।

राष्ट्रपतिको शुभकामना

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान् शिव-पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य¸ परिवारको सुख¸ सुस्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्‍वास रहिआएको छ। यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‌भाव कायम गर्न सहयोग पुर्‍याइरहेका हुन्छन् भन्ने मेरो विश्‍वास रहेको छ । हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ ।

अन्तमा, हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद  लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । साथै¸ विश्वव्यापी रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड-१९)को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।

धन्यवाद ।

२०७७ साल भदौ ५ गते शुक्रबार ।


प्रतिक्रिया दिनुहोस्