नवरात्रीको छैटौं दिनः विवाहको आशिर्वाद दिनेवाली मता कात्यायनी « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

नवरात्रीको छैटौं दिनः विवाहको आशिर्वाद दिनेवाली मता कात्यायनी



काठमाडौं । आज नवरात्रीको पाँचौं दिन । तर चन्द्रमास गणना अनुसार षष्ठी अर्थात् छैटौं दिवस पनि आजै हो । यस दिन महादेवी दुर्गाको छैटौं स्वरुप कात्यायनीको पनि पूजा गरिन्छ । माता दुर्गाको यस रुपलाई नवरात्री मात्र होइन, छठ पर्वमा पनि आरधना गरिन्छ । देवीको यस रुपले महिसासुरलाई मारिदिएको बताइन्छ ।

नेपालमा आरधना गरिने तलुजु भवानी पनि कात्यायनीकै स्वरुप हो । राक्षसी अहँकार र अधिनायकत्वले ऋषि मुनीहरु मर्माहत भएपछि ऋषि कात्यायनले भवनी परम्बाको कठोर तपश्या गरे । उनको उपासनाबाट प्रसन्न भएकी माता महाकालीले महर्षिको घरमा उनकै छोरी बनेर जन्म लिइन् ।

उनको स्वरुप ज्योतिर्मय रहेको बताइन्छ । यी देवीको चार हात रहेको बताइन्छ । यिनको दाहिने तर्फको एक हात वर मुद्रामा र अर्को हात अभय मुद्रामा देखिन्छ । देब्रेतर्फको एउटा हातमा तरवार र अर्को हातमा कमलको फूल रहेको छ । देवीको यस स्वरुप सिंहमा सवार रहनेवाली हुन् ।

शास्त्रमा माता षष्ठी देवीलाई भगवान ब्रह्माको मानसपुत्री रहेको मानिन्छ । नेपालको तराई क्षेत्र, भारतको विहार र झारखण्ड राज्यमा स्थानीय भाषामा कात्यायनीलाई छठ मैया भन्ने गर्छन् । माताको पूजाको उल्लेख ब्रह्मवैवर्त पुराणमा गरिएको छ ।

एक पटक रम्भासुर नामका शक्तिशाली राक्षसलाई देवताहरुले मारिदिएका थिए । उनका छोरा महिसासुरले ब्रह्माको कठोर तपस्या गरे । यसरी ब्रह्माजीसँग उनले ‘देवता, दानव वा मानवबाट आफ्नो मृत्युन हुन नसकोस र कोही स्त्रीबाट आफ्नो मृत्यु सुनिश्चित होस्’ भन्ने वरदान मागे । यस्तो बरदान पाए पछि महिसासुरले तीनै लोकमाथि विजय गरेर त्रिलोकपति बनेका थिए ।

यसपछि देवताहरुले देवी कात्यायनिको आरधना गरे । कात्यायनीले त्रिदेव लगायत सम्पूर्ण संसारका पुरुषको शरीरमा भएको ‘नारी शक्ति’ आफूमा समाहित गरिन् । सबै देवताले आफ्ना आफ्ना शस्त्रास्त्र पनि दिए भन्ने कथा छ । माता कात्यायनीको बीज मन्त्र हो, ‘क्लीं श्री त्रिनेत्रायै नमः’ हो । भवानीका नौ स्वरुपमध्ये योगमाया कात्यायनीको स्वरुप सबैभन्दा सुन्दर रहेको वर्णन छ ।

खासगरी विवाहयोग्य कन्याहरुले नवरात्रीको यस दिन ‘षण्ठी पूजन’ गर्ने गरेका छन् । देवीको वैदिक मन्त्र ‘ॐ देवी कात्यायन्यै नमः ।।’ हो । पूर्ण विधी र निष्ठापुर्वक यसरी पूजा गर्नाले एक वर्षभित्रै विवाह हुने भनाइ छ ।

मातालाई कुनै दान वा विशेष भोग लगाउनु पर्दैन । श्रृङ्गार सामाग्रीमार्फत् पूजा गरेर मातालाई खुसी पार्न सकिन्छ । द्वापर युगमा गोपिनीहरुले भगवान कृष्णलाई पतिका रुपमा पाउन भन्दै यमुना नदीको तटमा दुर्गाको यही रुपको आरधना गरेको बताइन्छ ।

पति प्राप्तीका लागि गोपिनीहरुले आरधना गरेको मन्त्रः

कात्यायनी, महामाया महायोगीन्यधीश्वरी
नंद गोप सुतं देवी पति में कुरुते नमः

यस मन्त्रले माताको प्रार्थना गर्न सकिन्छ:

ॐ ह्रीं नमः
चन्द्रहासोज्जवलकराशाईलवरवाहना ।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।


प्रतिक्रिया दिनुहोस्