चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित « Arthapath.com
२६ फाल्गुन २०७८, बिहीबार

चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित



काठमाडौं । स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्क्विस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ । स्याली अल्स्चुलर बिस बर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध थिए । उनी बालसाहित्यको श्रीवृद्धि र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन् । उनी रचनात्मक लेखकका रुपमा चिनिन्छन् ।

स्भेन नोर्क्विस्ट विश्व प्रसिद्ध चित्राङ्कनकर्ताको रुपमा चिनिन्छन् । उनका पेत्सन फिन्दुस र मामा मू विश्व प्रसिद्ध बाल पुस्तकहरू हुन् । कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन् ।

डेनमार्कमा प्रकाशित ‘डेभिड र गोलायथ’ शीर्षकको पुस्तक नेपाली भाषामा अनुवाद एवम् प्रकाशन गरिएको छ । यस पुस्तक जनकपुर साहित्य महोत्सव, जनकपुरमा वि।सं। २०७८ साल फाल्गुन २० गते विमोचन गरिएको थियो । पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुन लेखक स्याली अल्स्चुलर डेनमार्कबाट नेपाल आएका थिए। बालक र बालिका बाट पुस्तक विमोचन गरिएको थियो ।

कथामा हुँडारका झुण्डले भेडाहरुमाथि आक्रमण गर्न खोज्दा रातटाउके भेडागोठालो केटो डेभिड बाँसुरी बजाउँदै आराम गरिरहेको हुन्छ । डेभिड निकै सानै भएपनि उसले आफ्नो घुयेँत्रो घुमाई ती जनावरहरुलाई तर्साएर भगाउने प्रयास गर्छ । डेभिड आफ्नो प्रयासमा सफल पनि हुन्छ तर उसलाई विश्वास गर्ने कोही हुँदैन ।

चित्रकथामा गोलाएथलाई बडेमानको मानिसको रुपमा चित्रित गरिएको छ । गोलाएथ, जो राक्तपिपाशु राक्षसहरुको समुहमा सामेल हुन्छ तर घृणित तुच्छ कुराबाट मुक्त हुन कुहिरो लागेको बेला ऊ सुटुक्क निस्कन्छ। तुच्छ कुराबाट मुक्त हुन निस्केको गोलाएथको भेट अकस्मात डेभिडसँग हुन्छ । सानो डेभिड र भिमकाय गोलाएथ दुई बिच संयोगवस भेट भएपछि कथाले नयाँ मोड लिन्छ ।

चित्रकथा ‘डेभिड र गोलाएथ’ पाँच वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा आठ वर्ष माथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त पुस्तक हो ।


प्रतिक्रिया दिनुहोस्