दसैंको नवौं दिन आजः दुर्गा माताका नवौं रुपहरुको पूजाअर्चना « Arthapath.com
१८ आश्विन २०७९, मंगलवार

दसैंको नवौं दिन आजः दुर्गा माताका नवौं रुपहरुको पूजाअर्चना



आज महा–अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आज विभिन्न ठाँउका मन्दिरहरुमा बोकाको वलि दिईने र घर घरमा खसि, बोका काट्ने गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।


गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि विभिन्न मन्दिरमा विशेष घुँईचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान हुने गर्दछ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।

आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ, सतिदेवीले आफ्नो पती महादेवको आफ्नै पिता दक्षप्रजापतीको मुखबाट गरीएको निन्दा सुन्न नसकेर अग्नीकुण्डमा हामफालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् । शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन वलिदिने चलन छ । यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।

आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ । काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ ।


त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्