आज कृष्णाष्टमी, के तपाईँले कृष्णलाई चिन्नुभएको छ ? « Arthapath.com
१० भाद्र २०८१, सोमबार

आज कृष्णाष्टमी, के तपाईँले कृष्णलाई चिन्नुभएको छ ?



कालोऽस्मि लोकक्षयकृत्प्रबृद्धो लोकान्समाहर्तुमिह प्रवृत्तः ।
अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ।।

म समय हूँ । म प्रलयको मूल कारण एवम् महाकाल हूँ, जो सृष्टिको विनास गर्ने हेतु आउँछ । म नै समस्त सृष्टिको उद्गम हूँ । सम्पूर्ण वस्तुहरु मबाट नै उत्पन्न हुन्छन् । जो बुद्धिमान यो सत्य जान्दछ, ऊ पूर्ण विस्वास, प्रेम एवम् भक्तिका साथ मेरो उपासना गर्छ ।

द्यावापृथिव्योरिदमन्तरं हि व्याप्तं त्वयैकेन दिशश्च सर्वाः ।
दृष्ट्वाद्भुतं रूपमुग्रं तवेदं लोकत्रयं प्रव्यथितं महात्मन् ।।

हे सबै जीवका परम् स्वामी ! स्वर्ग र पृथ्वीको बीचको स्थान र सबै दिसाहरुको बीच तपाइँ एक्लै ब्याप्त हुनुहुन्छ । तपाइँको अद्भूत एवम् भयंकर रुप देखेर तीनै लोक डरले थरथर काँपिरहेको मैले देखेँ ।

अविभक्तं च भूतेषु विभक्तमिव च स्थितम् ।
भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ।।

यद्यपि, परमेश्वर सबै जीवका निम्ति विभाजित प्रतीत हुन्छ । तर ऊ अभिभाजित छ । परमात्मा सबै जीवको पालनकर्ता, संहारक र जनक पनि हो भन्ने हामीले बुझ्नु पर्छ ।

सर्वमेतदृतं मन्ये यन्मां वदसि केशव ।
न हि ते भगवन्व्यक्तिं विदुर्देवा न दानवाः ।।

हे कृष्ण! म तिमीले सुनाएका सबै कथनलाई सत्यको रुपमा स्वीकार गर्छु । हे परम् प्रभू! न त देवता, न त दानव तिम्रो वास्तविक रुपलाई बुझ्न सक्छन् ।

0000000


भागवद्गीता र श्रीमद्भागवतका यी हरफहरुले एक अविच्छिन्न अस्तित्ववाला परमात्माको वर्णन गरेका छन् । त्यही परमात्मा, जो निराकार, स्तब्धता, शान्त एवम् शून्य छ । स्वयम् अनन्त भएकाले ऊ सबैको अन्त्यको कारण बनेको छ ।

ऊ एक विशाल अन्धकार हो, जसको अघिपछि वा तलमाथि के छ भन्ने कोही पनि जान्दैन । उसैले अनन्त ब्रह्माण्डको रचना गर्छ । उसैले यसको संहार पनि गर्छ । त्यही ईश्वरलाई सबैले आआफ्नै तरिकाले मान्दछन् । तर परमात्मालाई चिन्न र बुझ्न अति कठीन छ ।

ब्रह्माको रुपमा सृष्टि, विष्णुको रुपमा पालन र रुद्रको रुपमा विनाश गर्ने वाला उही अनादी, अनन्त, शिव, सत्य वा काल अथवा कृष्ण जे नामले पुकारे पनि उही हो । कसैका लागि ऊ महादेव हो त कसैका लागि ऊ विष्णु हो । कसैका लागि मातृ स्वरुपमा आदी शक्ति हो भने कसैका निम्ति निराकार ब्रह्म हो ।

भक्तले जुन स्वरुपमा चाह्यो, परमात्माले उसै स्वरुपमा दर्शन दिन्छ । हाम्रो आत्मा र परमेश्वर उही हो ।

ईश्वर को हो ? सिद्ध योगीहरुले यस प्रश्नको नजिक पुगेर जवाफ दिएका छन् । हाम्रा योगी महात्माले दिएका तिनै ज्ञानबाट हामी ईश्वरलाई नजिकदेखि चिन्ने कोसिस गर्न सक्छौँ ।

काल अर्थात् समय एक अज्ञात एवम् अनन्त शून्यता हो । समयलाई त्यागेर जीवन जिउन सकिँदैन । जीवनको अस्तित्व नै समयसित गाँसिएको छ न कि, समयको अस्तित्व जीवनसँग । समय हाम्रै बीचमा रहन्छ । उही हामीलाई दुःख दिन्छ र सुख पनि उही दिन्छ । यो सृष्टिको मुख्य आधार नै समय हो ।

समय नै राजालाई कंगाल र कंगाललाई राजा बनाउँछ । तर यो समय के हो ? यसको वास्तविक जवाफ न हामीसँग छ, न हाम्रो विज्ञानसँग छ । समयलाई हामी न त देख्न सक्छौँ, न सुन्न वा छुन नै सक्छौँ । तै पनि प्राचीन कालदेखि नै मानिसहरुले सूर्य, चन्द्र, अनेक नक्षत्रसँगको अन्तरसम्बन्धलाई मापन गरेर अथवा कुनै यान्त्रिक पद्धतिले स्वरुप दिने कोसिस गर्दै आएका छन् ।

आज हामी घडीको माध्यमले समयको गणना गर्छौँ । गणना गणितकै एक मुख्य आधार हो । यो गणित विज्ञानले नै तयार पारेको हो । अर्थात्, जसको अस्तित्व नै छैन, जो कहीँ देखिँदैन, जो कसैले छुन, सुन्न, सुँघ्न वा स्वाद जान्न सकेको छैन, त्यस्तो समयलाई विज्ञानले गणना गरिरहेको छ । तर हामी आज समयलाई जुन रुपमा जान्दछौँ, वास्तवमा ऊ त्यस्तै हो भन्ने पुष्टि कसैले गर्न सक्दैन ।

घडीको १२ कलाले अनन्त ब्रह्माण्डको प्रतिनिधित्व गरेको छ त ? वा भनौँ एक अज्ञात शक्तिरुपी निराकारी समयलाई हामी काल्पनिक स्वरुप प्रदान गर्ने चेष्टा त गरिरहेका छैनौँ ? वास्तवमा भौतिक रुपले समयलाई परिभाषित गर्न मुस्किल छ । एक निराकार शक्ति यस सम्पूर्ण सृष्टिलाई सञ्चालन गरिरहेको छ भन्नेमा विज्ञान पनि स्पष्ट छ, जसलाई समय भनिन्छ ।

यसरी निराकार शक्ति रुपी समयलाई विज्ञानले एक काल्पनिक स्वरुप दिएको छ, जो भौतिक मापदण्डमा आधारित छ । यही समयका आधारमा फेरि पुरा विज्ञान तयार भएको छ । समयको बेगर विज्ञानको अस्तित्व छैन । त्यो यही घडी हो । र घडीले समयको ब्यापक स्वरुपको एक सुक्ष्म हिस्सामात्रै प्रतिनिधित्व गर्छ भन्ने मत सिद्ध सन्तहरुले राख्दै आएका छन् ।

हामीले तयार पारेको मूर्ति, तस्वीर इत्यादी यही घडी जस्तै एक यन्त्र वा उसको खाका मात्र हुन् । जसले सर्वशक्तिमान ईश्वरको कुनै एक गुणलाई प्रदर्शित गर्न सक्षम हुन्छ । तसर्थ, बजारमा अनेकौँ आकार, स्वरुप र रङ्गले सजिएका घडी पाइन्छ, त्यसरी नै हामी भगवानको मूर्तिलाई जसरी चाह्यो त्यसरी नै सजाउन सक्छौँ ।

जुनसुकै र जस्तोसुकै घडीले पनि एउटै समयको गणना गर्छ, ठीक त्यसरी नै विभिन्न प्रकारका ईश्वरीय स्वरुपको कल्पना गरेर भौतिक मायामा लिप्त मान्छेले परमात्मालाई जान्ने कोसिस गरिरहेको हुन्छ । किनकी, भौतिक मायामा लिप्त मनुष्य निराकारको कल्पना गर्न सक्दैन ।

त्यसकारण ईश्वर साकार पनि हो र निराकार पनि हो । ऊ सगुण पनि हो र निर्गुण पनि हो । ऊ सर्वशक्तिमान पनि हो र शक्तिहिन पनि हो । ऊ तपाईँहामी सबैको साथ छ । ईश्वर यो सम्पूर्ण सृष्टिको कारण हो । उही काल रूपी कृष्ण हो ।

ईश्वर सदैव हाम्रो साथ हुन्छ । तर हामी सधैँभरी ईश्वरको साथमा नहुन सक्छौँ । किनकी, हामीमध्ये अधिकांश ईश्वरको अस्तित्वसँग परिचित छैनौँ । ईश्वर हाम्रा निम्ति केवल एक विस्वास प्रकट गर्ने वस्तु हो । ऊ को हो, के हो वा कस्तो हो भन्ने हामीलाई थाहा छैन । ऊ साँच्चै छ वा छैन भन्ने पनि हामीलाई थाहा छैन ।

सिद्ध सन्तहरुका अनुसार हामीहरु आफ्नो जीवनको अन्तिम समयमा क्षणभरका लागिमात्रै कालकृष्णको अनुभव गर्न पाउँछौँ । हामी हाम्रो मस्तिष्कप्रति विस्वास गर्छौँ, जुन केही समय पछि अस्तित्वमा रहने छैन । तर जो सदैव हाम्रो साथमा हुन्छ, त्यही ईश्वरलाई हामी उपेक्षा गरिरहेका हुन्छौँ ।

ईश्वर नहुँदो हो त हामी केवल एक मृत शरीरमात्र हुन्छौँ । पञ्चतत्वले बनेको यो शरीरमा जसले ‘म’ को अस्तित्व बनाएको छ, त्यही ईश्वर हो । हाम्रो मुटुको एक धड्कन नै एउटा घडी हो । त्यसले कालरूपी ईश्वरको संकेत दिन्छ । तर त्यो धड्कनले ईश्वरलाई परिभाषित गर्न सक्दैन ।

यो सम्पूर्ण सृष्टि काल अर्थत् समयद्वारा नै निर्मित छ । यही समय जीवनलाई जीवित राख्छ र निर्देशित पनि गर्छ । हाम्रो कर्ता र धर्ता पनि उही हो । यही समय हामीलाई पुरस्कृत गर्छ र यही हामीलाई दण्ड दिन्छ । जीवनको अन्तिम क्षणमा यही समयले हामीलाई ‘विश्वरूप’ देखाउँछ ।

समयको बिना हामी केही होइनौँ । हाम्रो प्रत्यक क्षेण यही समयले गन्ति गरिरहेको छ । ईश्वर त काल हो, उसलाई बुझ्न र बुझाउन अति कठीन छ । ईश्वरलाई हामी त्यतिमात्रै जान्न सक्छौँ, जति स्वयम् ईश्वरले हामीलाई जान्न दिन्छ । हामी सबैको भित्र र बाहिर पनि ईश्वर नै छ । उसलाई अस्वीकार गरेर कोही चल्न सक्दैन ।

हामीलाई क्रमशः अनुभव प्रदान गर्ने पनि समय नै हो । यसै अनुभवबाट हामी ज्ञान प्राप्त गर्छौँ र त्यही ज्ञानका आधारमा हामीलाई आजिविका प्राप्त हुन्छ । एक किसानले कहिले खेति लगाउने र कहिले भित्र्याउने भन्ने यही ज्ञानका आधारमा तय गर्छ । वास्तवमा हामी सबै समयको साथमा चल्छौँ । समयलाई नै बेचेर खान्छौँ र समयलाई नै प्रमाणका रुपमा अभिलेखित गर्छौँ । साथै समयको अस्तित्वमाथि प्रश्न चिन्ह पनि लगाउँछौँ ।

अहिले कलियुगको प्रभावका कारण मान्छेको शत्रु मान्छे बनिरहेको छ । साम्प्रदायिक हिंसा चरम शिखरमा पुगेको छ । सबैको ईश्वर पनि भिन्न भिन्न प्रकारमा बाँडिएको छ । प्रत्येक सम्प्रदाय आफ्नो आफ्नो आस्था अनुसारको ईश्वरलाई सर्वश्रेष्ठ प्रमाणित गर्ने होडमा लागेका छन् ।

उनीहरु आफ्नो विस्वासलाई पुस्तकको प्रमाणसँग जोड्छन् । त्यही पुस्तकका अक्षर रटेर प्रचार गर्छन्, मानौँ यही हाम्रो धर्म हो । अहिले सिंगो समाज एक दृष्टिहिन जस्तै बनेको छ, जो परिवारका सदस्य वा अरु कसैले बताइदिएको आधारमा कहिल्यै नदेखेको वस्तुको आकृति वर्णन गरिरहेको हुन्छ ।

हामीलाई कसैले भनिदिएको वा कहीँ लेखिदिएको आधारमा ‘प्रमाण’ जुटाउनु परेको छ । धर्मगुरुहरु पनि उसको ‘पाठ्यक्रम’भन्दा बाहिरको प्रश्न कसैले गर्यो वा कोही व्यक्तिले बढी प्रश्न गर्यो भने उसलाई नास्तिक वा धर्म विरोधी घोषित गरिदिन्छन् ।

गीतामा अर्जुनले तबसम्म श्रीकृष्णसँग प्रश्न गरेका थिए, जबसम्म उनको मनमा अन्धकार हटेन । तर श्रीकृष्णले कहिल्यै रोकेनन् र उनलाई नास्तिक वा धर्म विरोधी पनि बनाएनन् । गुरु, आचार्य, पण्डित एवम् ब्राह्मण ज्ञानद्वारा निर्मित हुन्छन् । उनीहरु मानिसको मनबाट अज्ञानता हटाउने काम गर्छन् । त्यसैले उनीहरुलाई सुज्ञ अर्थात् श्रेष्ठ ज्ञाता भनिन्छ ।

तर आजको युगमा मानिसहरु पाठ रटेर पण्डित बन्छन् । केवल शास्त्र रट्नाले केही प्राप्त हुँदैन । त्यसलाई बुझ्नु जरुरी छ । शास्त्रमा उल्लेखित विचारको गूढ तत्व बुझ्नु आवस्यक छ । साथै, स्वयंको जीवनमा यी आदर्श धारण गर्नु आवस्यक हुन्छ ।

यस ज्ञानलाई बुझ्नका निम्ति मानिसलाई एक ब्रह्मनिष्ठ सद्गुरुको आवस्यकता पर्छ । प्रस्थानत्रयी (उपनिषद्, ब्रह्मसूत्र र भगवद्गीता) मा ईश्वरको बारेमा बुझाइएको छ । यसका साथै ईश्वर प्राप्त गर्ने बाटो पनि देखाइएको छ । तर वेद, उपनिषद र ब्रह्मसूत्रमा हामीले जे प्राप्त गर्छौँ, त्योभन्दा बढी भगवद्गीतामा प्राप्त हुन्छ ।

विद्याव्रत परिग्रहमा शिक्षार्थी, कर्मव्रत परिग्रहमा गृहस्थ, धर्मव्रत परिग्रहमा वाणप्रस्थ र आत्मव्रत परिग्रहमा सन्यास आश्रमका मानिसहरुलाई गुरुले ईश्वरसम्बन्धी ज्ञान दिने प्रचलन हाम्रो प्राचीन सभ्यतामा थियो । यसरी ज्ञान हासिल गरेका मानिसहरु परमात्मालाई जान्न सक्षम हुन्थे ।

तर अहिले हामीसँग त्यस्तो अभ्यास छैन र त्यस प्रकासका सद्गुरु पनि भेटिन मुस्किल छ । यस्तो अवस्थामा हामी गीताको कर्मव्रत परिग्रहबारे जान्ने कोसिस गर्छौँ ।

सबैभन्दा पहिले हामीले गीताको पाठ (अध्ययन) गर्दै गर्दा आफूलाई अर्जुनको रुपमा खडा गर्नुपर्छ । श्रीकृष्ण त काल हो, समय हो, ईश्वर हो । उनैले अनन्त ज्ञान हामीलाई प्रदान गरिरहेका छन् ।

गीता पढ्दा हामी हाम्रो जीवनको यस युद्ध भूमिमा आफ्ना अपूर्ण इच्छा र कामनाहरु परिस्थितिवश वा कठीनाइका कारण मरिरहेको देख्छौँ । हामी डरले काम्न लाग्छौँ । हाम्रा सबै स्वप्ना र त्यससँग जोडिएका इच्छाहरु विस्तारै पछि पर्दै र छुट्दै गएका हुन्छन् । हामी परिस्थितिसँग लड्न चाहँदैनौँ ।

हामीलाई जीवनमा कठीनाई पनि मन पर्दैन । यी सबैमा हाम्रो मन उल्झिन्छ र हामी अशान्त बन्छौँ । त्यसै कारण हामी कुनै महत्वपूर्ण निर्णय लिन सक्दैनौँ । तसर्थ अर्जुनकै समान हामी पनि विषदमा डुब्छौँ । त्यसपछि हामी कहिले परमेश्वरलाई, कहिले समयलाई त कहिले आफ्नो भाग्यलाई सराप्न थाल्छौँ । यही विषाद योग हो ।

त्यसपछि हामी दोस्रो अध्यायमा जान्छौँ, सांख्य योग । यहाँ समयरुपी श्रीकृष्ण नै हामीलाई बाटो देखाउँछन् । उनी आफ्नो वचनद्वारा हामीलाई धैर्य प्रदान गर्छन् । साथै हामीलाई हाम्रो कर्तव्य र दायित्व पनि सम्झाउँछन् । गीताले हामीलाई सर्वत्र ईश्वरको चाल सुनाइरहेको छ । तर हामी मायाको वशमा हुनाले आफ्नो कान बन्द गरेर बसेका छौँ ।

हामीले गीता पढ्दा द्वापर युगका एक व्यक्तिको रुपमा देख्ने होइन, स्वयम् काल कृष्ण अर्जुनको स्थानमा मलाई उपदेश दिइरहेका छन् भन्ने भावले पढ्नु पर्छ । कृष्णले काल रुपमा प्रत्यक क्षण हामीलाई गीता उपदेश दिइरहेका छन् । यदी हामीले उनको उपदेश सम्झन सक्यौँ भने जीवन रुपी महाभारत युद्धमा हाम्रो विजय सुनिश्चित छ ।

उही कृष्ण हामीलाई जीवनमा युद्ध लडाउँछन्, उनै हामीलाई वियजी पनि बनाउँछन् र पराजित पनि बनाउँछन् । प्रश्न पनि उनै हुन् र जवाफ पनि उनै हुन् । काल अर्थात् समयभन्दा ठूलो गुरु अरु कोही छैन । किनकी, काल नै कृष्ण हो । काल नै परमेश्वर हो ।


प्रतिक्रिया दिनुहोस्