आज दर खाने दिन, यस्तो छ महत्व « Arthapath.com
२० भाद्र २०८१, बिहीबार

आज दर खाने दिन, यस्तो छ महत्व



काठमाडौं । हिन्दु नारीहरूको पर्व तीज आजबाट सुरू भएको छ । तीजको व्रतको ‘पूर्वतयारी’व्रतको तयारीस्वरूप आज महिलाहरू दर खाने तयारीमा छन् । भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ ।

विशेषगरी नेपाली नारीहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन माइतीले आफ्ना चेलीलाई बोलाएर वा लिन गई दर खुवाउने परम्परा छ । दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्म घरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन् ।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ । यस्तै मौसमी तरकारी–अचार बनाएर पनि खाने चलन छ ।

तीज र दरखाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् ।

शाब्दिक रूपमा दर भनेको दरो या बलियो भन्ने बुझिन्छ । भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई ‘दर खाने दिन’ भनिएको हो ।

आज दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।


प्रतिक्रिया दिनुहोस्