डेपुटी गभर्नरदेखि महिला बैंकर्ससम्म यसरी मनाउँदैछन् तीज « Arthapath.com
२० भाद्र २०८१, बिहीबार

डेपुटी गभर्नरदेखि महिला बैंकर्ससम्म यसरी मनाउँदैछन् तीज



काठमाडौं । हिन्दु नारीहरूको पर्व हरितालिका तीज आजबाट सुरू भएको छ । भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म ४ दिन मनाइने यो चाडको मुख्य दिन भने भोली हो ।

आज दर खाने दिनबाट औपचारिक रूपमा तीजको सुरुवात हुने भए पनि पछिल्लो समय २ साताअघिदेखि नै दर खाने कार्यक्रम सुरू हुन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

तीज आउनुभन्दा अगाडिदेखि बजारमा किनमेल गर्नेको भीड नै लाग्छ । अहिले त हप्ता १० दिनदेखि दर तथा शुभकामना आदानप्रदान गरिने हुनाले सामाजिक सञ्जाल रङ्गीन देख्न सकिन्छ ।

बैंक तथा वित्तीय संस्थाका महिला कर्मचारीहरू पनि दर खाने कार्यक्रम कार्यालयमा नै गर्छन् । उनीहरू सबैले बिदा भने पाउँदैनन् ।

उनीहरूले भने पालैपालो बिदा लिने गर्छन् । तीजमा विशेषगरी बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतले भने बिदा पाउँदैन् ।

उनीहरू डिउटीमै रमाउँछन् । कतिपय बिदा बसे पनि बिदा नबस्नेहरू भने कार्यालयमा नै सेलिब्रेट गर्छन् । यस वर्ष महिला बैंकर्सहरूले तीज कसरी सेलिब्रेट गर्दै छन् भन्नेबारे नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नरदेखि केही महिलाहरूसँग कुरा गरेका छौं ।

नेपाल राष्ट्र बैंककी गभर्नर डा. निलम ढुंगानालाई तीज भन्ने बित्तिकै महिलाहरूको स्वतन्त्रता, शक्ति, प्राथामिकताको झल्को आउँछ । मिठो दर खाएको, आमासँगै मन्दिर गएको, रातो र रंगीचंगी लुगा लगाएको दृश्य अझै उनको मानसपटलमा ताजै छन् ।

उनी ब्रतको दिन सकेसम्म निराहार नै बस्छिन् । ब्रतको दिन मन्दिर जाने गरेको भए पनि यसवर्ष घरायसी कारणले गर्दा मन्दिर जाने र पूजाआज नचल्ने उनले बताइन् ।

‘पहिलेपहिले ब्रतको दिन पूजा गरिथ्यो पशुपति गइन्थ्यो । यस वर्ष चाहिँ घरायशी कारण (नजिकैको आफन्त बित्नुभएको छ)ले मन्दिर गइदैन । घरमै ब्रत बसिन्छ’ उनले भनिन् । ढुंगानालाई बाल्यकालमा तीज असाध्यै मन पर्थ्यो ।

‘बाल्यकालमा ब्रत बसिन्थ्यो । आमाहरू ब्रत बस्नुहुन्थ्यो । मन्दिर जानुहुन्थ्यो । हामी पनि सँगै जान्थ्यौं । तीज भन्ने बित्तिकै रातो लुगा लगाउने झिलिमिली पर्ने । बिहे गरेपछि ब्रत पनि लिनुपर्ने रहेछ भन्ने हुन्थ्यो । रमाइलो हुन्थ्यो। दर खाने दिन खुब रमाइलो हुन्थ्यो ।

अगाडिदेखि नै उत्साह हुन्थ्यो । ढकनी खाने चलन थियो । दिदीबहिनीहरू सबैजना जम्मा हुन्थे । त्यो बेलाको रमाइलो नै बेग्लै थियो’ उनले भनिन् ।

तीजको नाममा भित्रिएका विकृतिदेखि भने उनलाई दुख लाग्छ । ‘अहिले देखिएका विसंगतिहरूलाई हामीले छोड्दै जानुपर्छ । तडकभडक हुनुहुन्न । सुन्ने नसकिने खालको तीजहरू आउनुभएन । तीज भनेको अत्यन्तै राम्रो सांस्कृतिक परम्परा हो’ उनले भनिन् ।

तीजमा शिवजीलाई पाउन पार्वतीले गरेको तपस्याबाट आफूले चाहेको गन्तव्य हासल गर्नका लागि संघर्ष गर्नुपर्छ भन्ने सन्देश लिनुपर्ने उनी बताउँछिन् ।

नबिल बैंककी होलसेल ल्याबिलिटी प्रमुख लक्ष्मी ढकाल यस वर्ष कार्यालयमै तीज मनाउँदै छिन् । बैंकले पनि दर तथा शुभकामना आदानप्रदान गरेको थियो । साँझ दर खान माइत गए पनि ब्रतको दिन कार्यालयमा नै आउने उनले बताइन् । ‘तीजको दिन ब्रत बसिन्छ ।

निराहार भन्ने चाहिँ हुन्न । पानी खान्छु । मन्दिर गइन्छ । आमा काठमाडौं बाहिर हुनुहुन्छ । तीजमा आमासँग भने भेट हुन्न’ उनले भनिन् ।

शुक्रबार तीज परेकोले छिट्टै काम सकाएर दिदीबहिनीसँग रमाइलो गर्ने उनेको तयारी छ । सानैदेखि होस्टेल बसेर पढेकोले बाल्यकालमा परिवारमा बसेर तीज मनाएको किस्सा भने लक्ष्मीले महसुस गर्न पाइनन् ।

होस्टेलबाटै मेला हेर्न गएको र नाचगान गरेको भने उनलाई खुब याद आउँछ ।

माछापुच्छ्रे बैंककी अनुगमन विभागकी प्रमुख प्रतिमा पाण्डे तीज सरल तरीकाले मनाउने सोचमा छिन् । ‘हाम्रो यहाँ लेडिजहरूलाई भनेर छुट्टै कार्यक्रम गर्छौं । हामी एक महिना अघिदेखि तीज मनाउँदैनौं । बाहिर गएर माउने भन्ने नि हुन्न । गिफ्ट प्रदान गर्छौं । मीठोमसिनो खाएर सेलिब्रेट गर्छौं । सबैजना मिलेर रमाइलो गर्छौं । शुभकामना आदानप्रदान गर्छौं । सभ्य तरीकाले मान्छौं । यही नै त हो’ उनले भनिन् ।

बैंकमा सबै महिला कर्मचारीलाई बिदा भने नहुने उनले बताइन् । ‘अल्टरनेटिभ छुट्टी पाउँछौ । न मनाउनेहरू आउनुहुन्छ । क्रिटिकल डिपार्टमेन्टहरू छोड्न नमिल्ने हुन्छ । सबैजनाले छुट्टी पाउने भन्ने हुन्न । ब्रान्च अपरेसनल डिपार्ट, क्रिटिकल डिपार्टलाई भने छोड्न मिल्दैन’ उनले भनिन् ।

कामना सेवा विकास बैंकमा कर्जा प्रशासन विभाग सम्हालिरहेकी पर्मा ढुंगेल पनि तीज सामान्य तरीकाले मनाउने सोचमा छिन् । उनलाई तडकभडक मन पर्दैन । ‘तीज सामान्य तरीकाले मनाउँछु । ब्रत बस्छु । यसपटक छुट्टी छ । माइत गइन्छ । यस्तै त हो’ उनले भनिन् ।

बैंकले पनि दरखाने कार्यक्रम राखेको थियो । पर्मालाई तीज औधी मनपर्छ ।


प्रतिक्रिया दिनुहोस्