देशभर वर्षाको सम्भावना : काटिसकेको बाली तत्काल भित्राउन वडा–वडामा माइकिङ « Arthapath.com
९ आश्विन २०८१, बुधबार

देशभर वर्षाको सम्भावना : काटिसकेको बाली तत्काल भित्राउन वडा–वडामा माइकिङ



काठमाडौं । मौसमविद्ले पानी पर्ने औल्याएपछि दाङको गढवा गाउँपालिकाले काटि सकेको धान बाली तत्काल भित्र्याउन किसानलाई अनुरोध गरेको छ । गाउँ कार्यपालिकाको कृषि विकास शाखाले सूचना जारी गर्दै तत्काल बाली भित्र्याउन किसानलाई आग्रह गरेको हो ।

‘वर्षाले विशेषतः कृषि क्षेत्रमा प्रभाव पार्न देखिएकाले यस गढवा गाउँपालिकाका सम्पूर्ण कृषकलाई माथि उल्लेखित मिति सम्म धान नकाट्न हुन यसै सुचना मार्फत जानकारी गराईन्छ । साथै काटि सकेको धान बाली भए खेतमा नछोडी सुरक्षित ठाउँमा राख्नु हुन अनुरोध छ’ गाउँपालिकाबाट जारी सूचनामा भनिएको छ ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १० गतेदेखि १२ गते सम्मका लागी मनसुनी वर्षाको कारणले मौसममा बदलाब आई मेघ गर्जन/चट्याङ हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यता, कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै आएको छ । नगर प्रहरीहरुले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भारी वर्षा हुने उल्लेख भएकाले सुरक्षित रहन र काटिसकेको भए धानबाली भित्राइहाल्न अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज ७ गते विशेष बुलेटिन जारी गरेर असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचना जारी गरेको थियो ।

प्रक्षेपण अनुसार नै नेपालका धेरै स्थानमा वर्षा भइरहेको छ । यो वर्षाको मात्रा र क्षेत्र दुवै थप बढ्दै जाने छ ।


प्रतिक्रिया दिनुहोस्