उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा, उखु किसानले दशैंअघि नै पाउने
काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता तिर्नका लािग २ अर्ब रुपैयाँ निकासा गरेको छ ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा दुग्ध तथा उखु किसानको बाँकी बक्यौता उपलब्ध गराउने प्रक्रिया सुरु गरेको हो ।
उखु किसानहरुले दशैंअघि नै बक्यौता रकम पाउने भएका छन् । आठ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ ।
सरकारले कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनु पर्ने रकमका लागि निकासा गरेको हो । शुक्रबार मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको हो ।