आज नवरात्रीको पहिलो दिन माता शैलपुत्रीको आरधना गर्दै मनाइने, यस्तो छ महिमा
काठमाडौं । आजबाट नवरात्री शुरु भएको छ । नेपालमा शरदीय नवरात्री बढी महत्वका साथ मनाइन्छ । वर्षमा चार नवरात्री पर्छ । चैत, साउन, असोज र पुसमा । यसमध्ये चैतको वसन्त नवरात्री र असोजको शरदीय नवरात्रीको विशेष महत्व छ । दक्षिण भारतमा वैष्णवहरुले श्रीरामले रावणमाथि विजय गरेको दिनलाई नवरात्रीका रुपमा विशेष महत्व दिन्छन् ।
उत्तर भारत र नेपालमा शैव एवम् शाक्त संस्कृति बढी प्रचलित छ । यही कारण यहाँ शरदीय नवरात्रीलाई बढी महत्व दिइन्छ । यो बेला भारतमा दशहरा व्रत गरिन्छ भने नेपालमा महाकालीलाई बली दिने प्रथा छ । आज घटस्थपना हो । घटको अर्थ जल भरिएको घडा हो । यही दिन विजयादशमीका लागि जमरा राख्ने पनि चलन छ ।
शाक्त सम्प्रदायमा माता दुर्गालाई मुख्य देवीका रुपमा मानिन्छ । शैवले शिवलाई र वैष्णवले विष्णुलाईजस्तै शाक्तले दुर्गालाई परमात्माको रुपमा मान्दछन् । आदि शक्ति, पराशक्ति परब्रह्म इत्यादी नामले पनि उनैको आरधना गरिन्छ । माताको यस स्वरुपलाई अन्धकार वा अज्ञानता रूपी राक्षसमाथि विजय प्राप्त गर्नेवाली, अपर ममतामयी, कल्याणकारी तथा मोक्ष प्रदान गर्नेवाली मानिन्छ । सत्य, धर्म, शान्ति र समृद्धिमा आघात गर्नेवाला राक्ष्सी शक्तिलाई विनास गर्ने शक्तिका रुपमा पनि उनलाई लिइन्छ ।
घटस्थपनाका दिन जमरा राख्नेले विहान राख्छन् । कतिपयले भने द्वीतियाको जुन हेरेर जमरा राख्ने गर्छन् । दुर्गाको प्रसादका रुपमा विजया दशमीका दिन त्यही जमरा दुबो तथा फूलसँग मिसाएर ठूलाबढाले आफूभन्दा सानालाई टीका लगाइसकेपछि शीरमा राखिदिने चलन छ । जसले माता दुर्गाको आशीर्वादन सदैव शीरमा रहोस् भन्ने कामना गरिन्छ ।
नवरात्रीमा नव (नौ जना अर्थात् नौ स्वरुप) दुर्गाको पूजा गरिन्छ ।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।।
शैव–शाक्त परम्परामा शिव पार्वतीका ११ रौद्र स्वरुपको वर्णन गरिएको छ । कपाली, पिंगल, भीम, विरुपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्य, शम्भु, चण्ड र भव एकादश रुद्रका स्वरुप बताइएको छ । यिनै स्वरुपको रुद्रायणीका रुपमा नभए पनि माता दुर्गाका समेत ११ मुख्य स्वरुपको वर्णन गरिएको छ । ती हुन्- जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा ।
यिनै एघार रौद्र (विनाशकारी) स्वरुपमध्येको दुर्गा स्वरुपमा पनि माता आदी शक्तिले ९ रुप ग्रहण गरेकी बताइन्छ । यिनै ९ स्वरुपकी दुर्गालाई अहिलेको दशैंमा पूजा आरधना गरिन्छ । ती हुन्, शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कंदमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री ।
आज घटस्थपनाको दिन माता शैलपुत्रीको पूजा आरधना गरिन्छ । देवी पार्वतीले शैल अर्थात् हिमालय पर्वतकी छोरी बनेर जन्म लिएपछि शैलपुत्रीको नामले पुकारिन्छ । पुराणमा बताइए अनुसार माता शैलपुत्रीको स्वरुप ‘सेतो साँढेमाथि चढेकी, शीरमा अर्धचन्द्र सुशोभित भएकी, दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल लिएकी’ वर्णन छ ।
यही कुरालाई शैलपूत्रीको ध्यान मन्त्रमा यसरी उल्लेख गरिएको छ:
वन्दे वांच्छित लाभाय चंद्रार्धकृतशेखराम् ।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम् ।।
माता शैलपुत्रीको बीजमन्त्र ‘ह्रीं शिवायै नमः ।’ हो । नर्वाण मन्त्रका साथ जोडेर शैलपुत्रीको पूजा गर्दा ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डाय विच्चे ॐ शैलपुत्री देव्यै नमः’ मन्त्रको जप गरिन्छ । माताको वैदिक मन्त्र हो, ‘ॐ शं शैलपुत्री देव्यैः नमः ।’