अध्यात्म र योग साधनामा दशैँको अस्तित्व के छ ?
नेपाल र पुरा भारतवर्षका साथै अमेरिका, बेलायत, अस्ट्रेलियादेखि दक्षिण पूर्वी एसिया र ल्याटिन अमेरिकासम्म पनि हिन्दु आवादी बढी भएका मुलुकहरुमा दशैंलाई एक विशिष्ट उत्सवका रुपमा मनाइन्छ । दशैं र सोह्र श्राद्धलाई नेपालमा आर्यहरुले एकै शिलसिलाको रुपमा देख्ने चलन छ । यदी कसैको घरमा जुठो (परिवारको सदस्य मृत्यु भएमा) परेको अवस्थामा बाँकी एकोद्दिष्ट श्राद्ध गरिन्छ, तर पार्वण श्राद्ध (सोह्र श्राद्ध) गरिँदैन । पार्वण श्राद्ध गर्ने व्यक्तिले दशैंमा दुर्गा पूजा गरेर टीका जमरा लगाउँछ ।
यो चलन धार्मिक, सांस्कृतिक हिसाबले मात्रै नभएर योगिक मतबाट पनि निकै महत्वपूर्ण मानिन्छ । १०० भाइ कौरव जन्माएको महाभारतमा उल्लेखित कथाजस्तै अचेल फाट्टफुट्ट ‘टेस्ट्युब बेबी’ जन्माउने प्रविधि विकास भएको छ । यसलाई छाड्ने हो भने संसारका हरेक मानव जातिले धर्तिमा पाइला टेक्नुअघि माताको गर्भमा ९ महिना व्यतित गर्नुपर्छ ।
हामी सबै पिताको आत्माको अंश धारण गरेर ब्रह्मबीज माताको गर्भमा गृह निर्माण गर्न जान्छौं । माताको ममता र प्रेमद्वारा यो शरीर निर्माण हुन्छ । यसरी ९ महिनामा मातामय शरीर र सदाशिवरूपी आत्मा हुर्किएपछि हामी धर्तिमा निस्कन्छौं । त्यसपश्चात् प्राण वायु हाम्रो शरीर प्रवेश गर्छ । प्राण सार्वभौकिम आद्या शक्ति हो । यसले हाम्रो नश्वर शरीरको जागृत गर्छ ।
नाक र मुखको माध्यमबाट प्राणवायु हाम्रो शरीरमा प्रवेश गर्छ । जो नवद्वार मध्येकै अंग हो । आत्मा तटस्थ, निराकार र शून्य छ । जसरी गणितमा शून्यबाट शून्य घटाउँदा वा जोड्दा वा गुणा/भाग गर्दा पनि उत्तर शून्य नै आउँछ । त्यसैगरी हामीले पिताबाट शून्यरूपी आत्मा सन्तानमा सर्छ । प्रकृतिरूपी मातामार्फत शरीर निर्माण हुन्छ ।
वेदका अनुसार हाम्रो शरीमा नौ द्वार छन् । पितृ पक्ष वा देवी पक्षमा एक उच्च कोटीको साधकले प्राणरूपी माता जगदम्बालाई जान्नका निम्ति घोर तपस्या गर्छ । पितृ पक्षमा व्यक्तिले पुरुष अर्थात् आत्मासँग प्रार्थना गर्छ । देवी पक्षमा उसैले प्रकृति अर्थात् प्राण शक्तिको आरधना गर्छ । यसरी पितृ पक्ष र दुर्गा पक्षका एक महिनामा व्यक्तिले आफ्नो शरीरमा बसेको आत्मा र प्राण शक्तिको आरधना गर्छ ।
यसरी एक साधकले आफ्नो मानस तत्व (शरीर), प्राण तत्व (स्वास) र आत्मा तत्व (निकाकार आत्मा)लाई एक साथ जोड्नु आवस्यक हुन्छ । योगिक मार्गमा यसैलाई योग भनिन्छ । वस्तु (Matter), ऊर्जा (Energy) र समय (Time or Space) यी तीन तत्व यस सृष्टिको सृजनका निम्ति उत्तरदायि छन् । प्रकृतिले यी तीन तत्वका घटकहरुलाई विभाजन गरेर नव–कोश अर्थात् नौ वटा सन्दुक (बट्टा)मा लुकाइदिएको छ । यसलाई ‘नव निधी’ पनि भनिएको छ ।
सिद्धि प्राप्तिका लागि साधकले आफूभित्रका यी तीन वटै घटक र नवनिधी खोज्नु पर्ने हुन्छ । त्यसपछि यी सबैलाई एकत्रित गर्नुपर्छ र योग प्रक्रियाद्वारा ती सबै निधीलाई जोड्नु पर्छ । तर यसका लागि साधकले सबैभन्दा पहिले नव–मात्रा, नव–द्वार र नव–पुरुषलाई राम्रोसँग जान्नु आवस्यक हुन्छ । त्यसो नभए कोही पनि साधक कहिल्यै पनि सिद्धि हासिल गर्न सक्दैन । यस्तो अवस्थालाई योगिक मार्गमा ‘भ्रष्ट साधक’ भनिन्छ । यस्ता भ्रष्ट साधकले सिद्धि प्राप्त गर्न नसकी आजीवन भौंतारिइरहन्छन् ।
नवमात्रा, नवद्वार र नवपुरुष के हो ?
योगीहरु हाम्रो भौतिक शरीरका नौ अंगलाई नवमात्रा भन्छन् । प्राण शक्ति शरीरमा ओहोर दोहोर गर्ने मार्गलाई नवद्वार भनिन्छ । नवपुरुष भनेको चाहीँ निराकार अविनाशी आत्माको नौ स्थिति हो, जुन हाम्रो शरीर भित्र र बाहिर पनि रहेको हुन्छ । साधकले यी सबै कुरा बुझिसकेपछि योग तथा ध्यान साधनाद्वारा यी सबै तत्वलाई आपसमा जोडेर संयुक्त बनाउने प्रयास गर्छ ।
जब शरीर, प्राण र आत्मा एकाकार हुन्छन्, त्यसबाट उत्पन्न हुने समष्टि तत्वलाई नै ब्रह्मतत्व भनिएको हो । यही अवस्था साधकको परम सिद्धि हो । पितृ पक्ष र देवी पक्ष एक साधकका लागि सिद्धि प्राप्त गर्ने उत्तम समय हो । आश्विन महिनामा प्रकृतिले आफ्नो पूर्ण स्वरुप देखाउँछ । चारैतर्फ दैवीय ऊर्जा प्रसारित हुन्छ । यो ऊर्जाले प्राण शक्तिलाई बलियो बनाइदिन्छ । यसबाट ध्यान एवम् साधनामा मन स्थिर रहन्छ । यही कारण योगिक मार्गमा नवरात्रीको अधिक महत्व रहेको हुन्छ ।
नारी शक्ति एवम् मातृ आराधनामा सबै मान्छे लिप्त हुन्छन् । तर सबै मानिसहरु शक्ति आरधना गर्न योग्य चाहीँ हुँदैनन् । महेश्वर महासयले भनेका छन् ‘केवल एक मर्यादित पुरुषोत्तम नै शक्ति आरधना गर्न योग्य हुन्छ ।’ अर्थात् त्यस्तो मान्छे, जो प्रत्येक नारीमा देवी भगवतीको रुप देख्छ । जो गृहस्त भएर पनि पुरुषार्थको पालन गर्छ र कुनै पनि परिस्थितिमा आफ्नो पुरुषत्तोको मर्यादा उल्लंघन गर्दैन भने त्यस्तो व्यक्तिमात्रै शक्ति आरधनाका लागि योग्य हुन्छ ।
त्यस्ता व्यक्तिले आवहान गरेको खण्डमा मात्रै देवी महामाया प्रकट स्वरुपमा दर्शन दिन्छिन् । माताले उनैलाई बुद्धि, सिद्धि, निधि र मोक्ष प्रदान गर्छिन् । पुरुषोत्तम रामले अकाल मोचनका लागि माताको आरधना गरेका बेला माता जगदम्बाले प्रकट स्वरुपमा दर्शन दिएकी थिइन् । रामकृष्ण परमहंस, तारापुत्र बामाखेपाजस्ता अनेक ऐतिहासिक साधकले माताको प्रकट रुपको दर्शन गरेका छन्, उनीहरु सबै मर्यादित पुरुषोत्तम थिए ।
नवदुर्गाको साधना
नवरात्रीमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । यी सबै योगिक अभ्यास र कुण्डलिनी जागृतिसँग जोडिएका छन् । माता शैलपुत्रीको साधनाले मूलाधार चक्र जागृत हुन्छ । ब्रह्मचारिणीको साधनाले स्वाधिष्ठान चक्र जागृत हुन्छ । चन्द्रघण्टाको साधनाले मणिपुर चक्र जागृत हुन्छ । कूष्माण्डाको साधनाले अनाहत चक्र र स्कन्दमाताको साधनाले विशुद्धि चक्र जागृत हुन्छ ।
स्कन्दमाताको साधनाले र माता कात्यायनीको साधनाले आज्ञा चक्र जागृत हुन्छ । शरीरको सबैभन्दा उँचो स्थान (तालु)मा रहेको सहस्रार चक्र जागृत गर्न माता कालरात्रीको आरधना गरिन्छ । योगिक विधीद्वारा यस चक्रलाई सक्रीय गर्न सक्छ । यसै अवस्थालाई नव निधीमा शंख निधी भनिन्छ । साधनाद्वारा शंख निधी प्राप्त गरेपछि साधकले दिव्य ब्रह्माण्डीय ऊर्जासँग स्वयंलाई जोड्न सक्षम हुन्छ । त्यसपछि उसले आफ्नो चारैतर्फ शंखनादको ध्वनी सुन्नथाल्छ । त्यसपछि साधक एक गम्भीर समाधीमा पुग्छ । जसलाई आत्मपाक पनि भनिन्छ ।
माता महागौरी मायाकी स्रोत हुन् । उनको वास सप्त चक्रभन्दा माथि सोम चक्रमा हुन्छ । सोमचक्रबारे धेरै मानिसहरु जानकार नहुन सक्छन् । सहस्रार चक्रबाट उन्मुक्ति पाएपछि सोम चक्रबाट सोमरस (अमृत)को वर्षा हुन्छ । यसले साधकलाई इच्छामृत्यु एवम् पूर्ण आरोग्यता प्रदान गर्छ ।
यसका लागि साधकले आफ्नो वीर्यलाई योगबलले प्राण शक्तिसँग बाँधेर धागोजस्तै ब्रह्मरेतसूतमा परिवर्तन गर्छ । त्यस्तो बीर्ययुक्त धागो सहस्रार चक्र भेदन गरेर माथि गएपछि ब्रह्माण्डीय अमृतको स्वाद चाख्छ । यसबाट साधकले परमशान्तिका साथै परमानन्द प्राप्त गर्छ । यस स्थितिमा साधक आफ्नो साधनाबाट बाहिर आउन चाहँदैन ।
माता सिद्धिदात्री सर्वसिद्धि रूपी परब्रह्म हुन् । उनको वास सोमचक्रभन्दा पनि माथि पराविन्दुमा हुन्छ । पराविन्दुको विषयमा पनि अधिकांश मानिसहरुलाई थाहा नहुन सक्छ । सोमचक्र उन्मुक्ति पश्चातमात्रै साधकले आफ्नो ध्यान पराविन्दुमा केन्द्रित गर्न सक्छ । साधकले अभिसमस्यति प्रणालीद्वारा आफ्ना तीनै तत्व (मानस, प्राण र आत्मा)लाई एकत्रित गर्नुपर्छ । त्यसरी एकत्रित भएको ऊर्जालाई विष्टम्भ प्रणालीद्वारा सङकुुचित पार्दै कुनै एक विन्दुमा परिणत गर्नु पर्छ ।
यति काम गर्नमा साधक जब सक्षम हुन्छ, तब उसमा र परमात्मामा कुनै अन्तर बाँकी रहँदैन । सबै चिज एक हुन जान्छ । नवनिधीमा यही महापद्म हो । जसलाई प्राप्त गरेपश्चात् साधकले सम्पूर्ण सृष्टिको सकल रहस्य जान्दछ । त्यसपछि ऊ सबै बन्धनबाट मुक्त हुन्छ । यही अवस्थालाई मोक्ष भनिएको हो । नवरात्रले दिएको अवसर यही मोक्षमा पुग्ने मार्ग हो । जसलाई पृष्ठपोषण गर्न आत्माशक्तिको आरधना गर्ने पितृपक्षको निकै ठूलो भूमिका हुन्छ ।
शक्ति आरधनाको योग्यता र लाभ
यदी नारीहरुप्रति कसैको मनमा श्रद्धा र सम्मान छैन, बरु लोभ, लालच, भोग विलासले मनमा राज गरेको छ भने शक्ति आरधनाबाट कुनै लाभ हुँदैन । नारी भोगको वस्तु होइन, श्रद्धा एवम् पूजाको योग्य हो । ऊ नै प्रकट शक्ति स्वरुपा हो ।
माता जगदम्बा जगत–जननी हुन् । उनका लागि संसारका सबै मानिस बराबरका सन्तान हुन् । यसर्थ माता आदिशक्तिको दृष्टिमा संसारका हरेक पुरुष र नारीहरु दिदी–भाई वा दाजु–बहिनीको नातामा बाँधिएका हुन्छन् । यस्तो अवस्थामा कोही पुरुष अर्को नारीमाथि वा कोही नारी अर्को पुरुषमाथि कुदृष्टिले हेर्छ भने ती आफ्नौ दाजुभाई वा दिदीबहिनीमाथि कुदृष्टि लगाए समान हो । नारी हुन् वा पुरुष, ती सबै माता जगदम्बाका सामुन्ने एक अपराधी देखिन्छन् । उनीहरु माताको ममता र करुणाबाट सधैं बञ्चित हुन्छन् ।
यस हिसाबले पति–पत्नी पनि दाजु–बहिनी हुनुपर्ने हो । तर पत्नी अर्धाङ्गिनी हुन्छिन् । अर्थात् पतिको आधा अंग पत्नी र पत्नीको आधा अंग पति हुन्छ । विवाहलाई प्रेम एवम् एकताको बन्धन भनिन्छ । यसबाट पुरुष र प्रकृति एकाकार हुन्छ । यी दुई ऊर्जाको मिलनबाट नै नविन सृष्टिको रचना आरम्भ हुन्छ । ठीक त्यसरी नै निराकार (शिव) एवम् साकार प्रकृति (शक्ति)को मिलनबाट यो सृष्टि सम्भव भएको थियो ।
हरेक पुरुष निराकार हो र नारी शक्ति हो । नारीको बिना पुरुष अपूर्ण रहन्छ– उद्देश्यहिन, कार्यहिन एवम् शक्तिहिन । निराकाररूपी पुरुष सदैव शक्ति प्राप्तिका निम्ति कार्य गर्छ । यो सम्पूर्ण सृष्टि नारीरूपी आद्याशक्तिका कारण नै सञ्चालित भइरहेको छ । यसै कारण वैदिक संस्कृतिमा हामी नारीलाई देवीको पद दिन्छौं ।
नारीप्रति मनमा लालसा एवम् लोभ बोकेर माताको आरधना गर्नु असम्भव छ । जीवनमा सफल र अध्यात्ममा उत्तिर्ण हुनका लागि नारीको सम्मान गर्नु अपरिहार्य छ । प्राचिन वैदिक संस्कृति हामीलाई यही कुरा सिकाउँछ ।