बाल्यकालकै दशैँ रमाइलो, अहिले त मौलिकता हरायो : बैंकर सञ्याल
काठमाडौं । दशैँ नेपालीहरूको महान पर्व हो । दशैँलाई असत्यमाथि सत्य जितको प्रतीकका रूपमा मनाउने गरिन्छ । दशैँ भन्ने बित्तिकै रातो टिका, जमरा, मासु, नयाँ लुगा, पिङ, चंगा र तास मानसपटलमा आइहाल्छ । वर्षदिनको दुख पीडा भुलाएर दशैँले हर्षका बहार ल्याउने गर्दछ ।
वर्षमा दिनमा लै लै
हर्षका दिनै लै लै
दशैँ तिहार चाड र बाड
खुशीले सारा भर्यो नि संसार
रवि श्रेष्ठको शब्द तथा गायक सुगम पोखरेलको आवाजमा रहेको यो गीतको अन्तराले भने झैं दशैँले हर्ष र उल्लास लिएर आउँछ । दशैँले सबैलाई छुन्छ । सबैको लागि दशैँ विशेष छ । दशैँको सबैको आ-आफ्नै अनुभव हुन्छन् । आफन्तलाई एकजुट बनाउने काम दशैँले गर्छ । एक अर्कामा खुशी साटासाट गरिन्छ ।
ठूलाको हात, सानाको माथा, आशिष् दिँदै दशैँ आउँछ…!
मुग्लान फिल्ममा समावेश ‘दशैँ आयो’ बोलको गीतको अन्तराले पनि दशैँलाई झल्काउने गर्छ । दशैँमा आफूभन्दा ठूलाबडाले आशिर्वादसहित टिका र जमरा लगाइदिन्छन् ।
त्यसैले त दशैँ भन्ने बित्तिकै बालबालिकामा छुट्टै उत्साह देखिन्छ । अधिकांशलाई बाल्यकालकै दशैँ राम्रो लाग्ने गर्छ । सानिमा बैंकका चिफ डिजोपिट अफिसर हेम राज सञ्जेललाई पनि बाल्यकालमै दशैँ रमाइलो लाग्ने गरेको बताउँछन् । उनलाई दशैँमा पिङ खेलेको, नयाँ लुगा किनेको चंगा उडाएको याद आउँछ । ‘बाल्यकालमा दशैँ एकदम रमाइलो हुन्थ्यो । टाढा-टाढा रहेका आफन्तसँग भेटघाट हुन्थ्यो । चंगा उडाइन्थ्यो, पिङ खेलिन्थ्यो । दशैँ भन्ने बित्तिकै नयाँ लुगा लगाइन्थ्यो । मासुभात खाने, आफन्तजनसँग टिका थाप्ने, रमाइलो गर्ने हुन्थ्यो ।’ उनले भने ।
गाउँघरमा मनाइने दशैँ सम्झिँदा उनले अहिले पनि रमाइलो लाग्छ । कालिकोटमा जन्मिएका सञ्जेललाई त्यहाँको दशैँ त्यति याद नभए पनि सानैमा बसाइ सरेर कैलालीको टिकापुर आइसकेपछिको दशैँका पलहरू अझै झल्झल्ति आउँछ ।
पछि उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आइसकेपछि त कहिले दशैँ आउला र घर जाउँला जस्तो हुने गरेको उनले सुनाए । ‘पहिले पहिले दशैँ नजिकियो भन्ने बित्तिकै एउटा छुट्टै खालको उत्साह हुन्थ्यो । घर जाने दिन नजिकिँदै जाँदा मन पनि चंगा झैँ उड्न थाल्थ्यो। त्यतिबेला यातयात सहज थिएन । सञ्चारको पहुँच थिएन । दशैँमा छुट्टी हुन्थ्यो । बल्ल घर जान पाइन्थ्यो । घरबाट धेरै टाढा भएकोले पनि घर जान पाउँदा उत्साहित हुन्थ्यो’ उनले भने ।
काठमाडौंको दशैँ सञ्जेललाई खल्लो लाग्छ । अहिले पनि उनलाई दशैँ भन्ने बित्तिकै गाउँघर कै याद आउँछ । ‘काठमाडौंको दशैँ त साह्रै खल्लो हुन्छ । यहाँ त सुनासन हुन्छ । गाउँघर त दशैँले उज्यालो हुन्थ्यो’ पुरानो दिन सम्झिँदै उनले भने ।
दशैँमा विकृत्ति देखिएकोप्रति उनी चिन्तित छन् । ‘पहिलेको दशैँ र अहिलेको दशैँमा धेरै नै भिन्नता छ । त्यो बेलाको दशैँ मौलिक थियो । त्यो बेलाको महत्व अहिले हराउँदै गइरहेको छ । अहिले दशैँमा मौलिकताभन्दा देखासिकी बढी छ । खर्च गर्ने प्रवृत्ति बढ्दो छ । आय र खर्चको सन्तुलन मिलाउन नसक्ने अवस्थामा पुगिसकेको अवस्था छ’ उनले भने ।
यसपाली भने सञ्जेलको घरमा टिका नभएको बताउँछन् । यद्यपि आफन्तसँग भेटघाट गरेर मीठोमसिनो खाएर दशैँ मनाउने योजनामा छन् । वर्षभरी गरेको कामको प्रेसरलाई भुलेर रमाइलो गर्ने उनको योजना छ । बिदा लामो भए पनि घुम्न जाने योजनामा छैनन् ।
उनलाई चाडबाडको नाममा भड्किलो खर्च गर्न मन पर्दैन । ‘आवश्यकताको आधारमा खर्च गरिन्छ । दशैँकै लागि भनेर सपिङ्ग गरिँदैन । त्यति भड्किलो खर्च गरिन्न’ उनले भने ।
दशैँको मौलिकता जोगाएर, यसको महत्व बुझेर मनाउनुपर्ने उनी बताउँछन् । चाडपर्वको नाममा विकृति ल्याउनु नहुने उनी बताउँछन् ।