महानवमी पनि आजै, दशैँको अन्तिम रात यसरी गर्नुहोस् माता सिद्धिदात्रीको आरधना
काठमाडौं । नवदुर्गामा नवौं अर्थात् अन्तिम स्वरुप माता सिद्धिदात्री हुन् । माता सिद्धिदात्री आदि पराशक्तिको सौम्य स्वरुप हुन् । माता कूष्माण्डा रुपी हिरन्यगर्भ (प्रकाशपुञ्ज)बाट महाविष्णुको आदुर्भाव भयो । उनको नाभीबाट महाब्रह्मा अवतरित भए । महाब्रह्मालाई गहिरो ध्यानमा रहँदा माता कूष्माण्डाद्वारा सृष्टिको रचना गर्ने आदेश प्राप्त भयो । त्यसपछि महाब्रह्मा विष्मित भएर उठे ।
त्यसबेला महादेवीले अर्धनारीश्वर (एकै शरीरमा आधा शिव र आधा शक्ति वा सती समाविष्ट भएको) स्वरुप धारण गरेर ब्रह्मदेवलाई दर्शन दिएकी थिइन् । त्यही स्वरुप देखेर ब्रह्मदेवले नारी र पुरुषको अन्तर जान्न सके । त्यसपछि उनले सृष्टिको निर्माण कार्य आरम्भ गरे । तर यो काम पुरा गर्न महाब्रह्मालाई ब्रह्म शक्ति आवस्यक थियो । त्यसपछि माता जगदम्बाले सिद्धिदात्रीको रुप धारण गरिन् । त्यसरी महाब्रह्मालाई अष्ट सिद्धि, नव निधीका साथै ब्रह्मशक्ति प्रदान गरिन् ।
शास्त्रमा माता सिद्धिदात्रीलाई स्वेतवर्णा, आनन्दमयी, सर्वसिद्धि प्रदायिनी एवम् अति सौम्य स्वरुपमा प्रस्तुत गरिएको छ । उनी चतुरभुजा शक्ति स्वरुपा हुन् । उनले दाहिने तर्फको एक हातमा गधा र अर्को हातमा चक्र धारण गरेकी छिन् । देब्रे तर्फको एक हातमा कमल पुष्प र अर्को हातमा शंख रहेको छ । बैजनी रंगको वस्त्र पहिरिने हुनाले उनलाई नील-लोहिता नामले पनि पुकारिन्छ ।
देवी भागवत् पुराणका अनुसार भगवान स्वयम् शिवले पनि उनै भगवती सिद्धिदात्रीको कृपाका कारण अनेक सिद्धि प्राप्त गरेका थिए। भगवान शिवको आधा शरीर देवीमा रुपान्तरित भएपछि उनी संसारमा अर्द्धनारीश्वरका रूपमा स्थापित भए।
माताको यस रुपमा उनको स्वरुप चतुर्भुज अर्थात् चार हात भएकी सिंहवाहिनी अर्थात् सिंहमा आरुढ हुनेवाली बताइएको छ । माताको यस रुपलाई गतिमान हुँदाको अवस्थामा सिंहमाथि रहेको र अचल भएर बसेको बेलामा कमलको फूलमाथि रहेको देखिन्छ । नवरात्रीको नौ दिनमात्रै पूर्ण श्रद्धा र समर्पण सहित माताको आरधना गर्ने भक्त वा साधकका लागि सृष्टिमा कुनै पनि कुरा पाउन असम्भव नरहेको शास्त्रमा भनिएको छ । यस्ता साधकले पुरै ब्रह्माण्डमाथि विजय प्राप्त गर्न सक्छन् ।
माताको यस रुपलाई सर्वज्ञानपदायिनी नामले पनि चिनिन्छ । उनी आफ्ना भक्त एवम् साधकलाई ब्रह्म ज्ञानसहित सर्वसिद्धि प्रदान गर्छिन् । माता सिद्धिदात्री सर्वज्ञानको प्रतीक हुन् । उनको साधना गर्नाले मानिसलाई चारै पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) प्राप्त हुने मान्यता छ । उनी अति सौम्य स्वभावकी छिन् । यिनको साधनाबाट अष्टसिद्धि प्राप्त हुन्छ ।
उनी परब्रह्म स्वरुपा हुन् । ज्ञान, बुद्धि, सिद्धि, शान्ति तथा मोक्षको वरदान दिनेवाली माता दयालु, ममतामयी र करुणामयी छिन् । उनी आफ्ना सबै भक्तको समस्त इच्छा पूर्ण गर्छिन् । समस्त प्रकारका समस्याबाट मुक्ति पाउन पनि माता सिद्धिदात्रीको आरधना गरिन्छ । उनलाई आदि पराशक्तिको सुक्षेम (अतिशय समृद्धि वा अत्यन्त सुख शान्ति) कोटी स्वरुपमा वर्णन गरिएको छ ।
माता मन र कल्पनाको पहूँचभन्दा पर छिन् । यिनको भक्ति गर्नाले सबै क्षेत्रमा विजय प्राप्त हुन्छ । वैदिक ज्योतिष अनुसार बुद्धि, ज्ञान, मर्मज्ञ, अन्तरदृष्टि एवम् मानसिक क्षमताको दाता केतु ग्रह माता सिद्धिदात्रीद्वारा शासित हुन्छ । अर्थात् यिनको पूजा गर्नाले केतुको खराब प्रभाव हटाउन र महादशा एवम् कालशर्प योगको प्रभाव घटाउन सकिन्छ ।
यिनको पूजा अर्चनाले गृहस्थ प्राणीले सुख, समृद्धि, धन, दीर्घायु, आरोग्यता, शत्रु नाश, ज्ञान, शान्ति एवम् मोक्ष प्राप्त गर्न सक्छ । साधकले यिनको साधना गरेर माया शक्तिलाई नियन्त्रणमा राख्न सक्छ । माता सिद्धिदातृ सर्वसिद्धि रुपी परब्रह्म हुन् । उनको वास सोमचक्रभन्दा पनि माथि पराविन्दुमा हुन्छ ।
पराविन्दुको विषयमा पनि अधिकांश मानिसहरुलाई थाहा नहुन सक्छ । सोमचक्र उन्मुक्ति पश्चात मात्रै साधकले आफ्नो ध्यान पराविन्दुमा केन्द्रित गर्न सक्छ । माता सिद्धितात्री गुणमा विश्वभूता, तत्वमा परातत्व र भेदहरुमा पराशक्ति हुन् ।
साधना एवम् पूजा विधी
साधकले अनाहत नादको प्रयोगबाट बीजमन्त्र ‘ ॐ ’को जप गर्दै नवरात्रीको नवौं दिनको मध्यरातबाट माता सिद्धिदातृको साधना प्रारम्भ गर्नु पर्छ । यस साधनाद्वारा साधकले पराविन्दु चक्र जागृत हुन्छ । त्यसपछि उसमा र परमात्मामा कुनै अन्तर बाँकी रहँदैन । त्यसपश्चात् साधकले सम्पूर्ण सृष्टिको सकल रहस्य जान्दछ । यही अवस्थालाई ‘मोक्ष’ भनिएको हो ।
तर गृहस्त मानिसले माता सिद्धिदात्रीको पूजा प्रत्येक मंगलबार गर्न सक्छन् । यसका लागि ‘ॐ देवी सिद्धिदात्र्यै नमः’ मन्त्रको १००८ पटक जप गरेर शिव लिङ्ग वा माताको मूर्तिमा जल अभिषेक गर्नुपर्छ । त्यसपछि चम्पाको माला र चम्पाकै फूलले पुष्पाञ्जली प्रदान गर्नुपर्छ । यसबाट मानिसको सम्पूर्ण कष्ट निवारण भई सुख, समृद्धि, धन, दीर्घायु, बुद्धि, ज्ञान, मर्मज्ञ, अन्तरदृष्टि एवम् शान्ति प्राप्त हुन्छ ।