आज काग तिहार, के तपाइँलाई कागबारे यस्ता रोचक तथ्य थाहा छ ?
काठमाडौँ । आज यमपञ्चकको पहिलो दिन अर्थात् काग तिहार । नेपाली समाजमा यस्ता कयौँ जीवजन्तुको पूजा आरधना गर्ने अलग अलग पर्वहरु छन् । तर त्यसमा पनि कागको महत्व विशेष छ । केही वर्षअघि सम्म अधिकांश हिन्दु घरमा पहिले कागलाई खाना दिएरमात्रै मानिसले भोजन गर्ने प्रचलन थियो ।
तिहारको पहिलो दिन हामी कागको पूजा गछौँ । यसलाई खबरको सम्बाहक र चेतावनी दिने सचेतकको रुपमा पनि लिइन्छ । कागको महत्व हेर्ने हो भने त्योभन्दा ज्यादै ठूलो छ ।
हामीमध्ये कतिपयले काकभुशुण्डिको कथा सुनेका हौँला । बाल्मिकीय रामायण र श्रीरामचरितमानसमा कागभुशुण्डिको वर्णन पाइन्छ । योगवासिष्ठमा त उनको बारेमा धेरै अध्याय नै छन् ।
काकभुशुण्डिको अर्थ खोज्ने हो भने काकको अर्थ कौआ वा काग हो । भुशुण्डिको अर्थ अग्नीशस्त्र हो । धनुर्वेदमा १०० भन्दा धेरै हतियारको वर्णन गरिएको छ, त्यसमध्ये एउटाको नाम भुशुण्डि रहेको पाइन्छ ।
एक शिवभक्त ऋषिले ध्यानमग्न भएका कारण आफ्ना गुरु आएको समेत थाहा नपाएपछि गुरुले उनलाई १००० जुनीसम्म पशुयोनीमा जन्म लिने श्राप दिएका थिए । त्यसपछि उनी मानव रुपमा जन्मिएका थिए । तर फेरि लोमश ऋषिको श्रापले उनी काग बने । उनले ११ पटकको रामायण र १६ पटकको महाभारत युद्ध देखेका थिए भन्ने मान्यता छ ।
योगवासिष्ठमा उनै काकभुशुण्डिले ब्रह्माण्डको सबैभन्दा सटीक वर्णन गरेका छन् । त्यसमा उनले विद्याधर नामक अर्को पत्रसँगको सम्बादमा ‘मल्टिभर्स’को अवधारणा प्रस्तुत गरेका छन् । उनै काकभुशुण्डि संसारमा रामको सच्चरित्र र रामायण कथा सुनाउने सबैभन्दा ठूला प्रवक्ता थिए ।
उनको नाम जोडिएकाले मात्रै होइन, काग आफैँमा एक अद्भूत र रोचक पंक्षी हो । कागसँग जोडिएका केही तथ्यहरु हामीले जान्नु आवस्यक छ ।
१. उच्च बुद्धिमत्ताः काग संसारका सबैभन्दा बुद्धिमान पंक्षीहरुमध्येको एक हो । उसको मानसिक क्षमता ७ वर्षको मानिस (बच्चा)को बराबर हुन्छ । यो पंक्षीमा समस्याहरुको समाधान निकाल्ने, हतियारहरुको उपयोग गर्ने र जटिल कार्यलाई पनि बुझ्न सक्ने क्षमता हुन्छ ।
२. स्मरण शक्तिः यो पंक्षी उत्कृष्ट स्मरणशक्तिका निम्ति चिनिन्छ । मान्छेको अनुहारलाई पहिचान गर्न सक्ने भएकाले कागले आफूलाई असल वा खराब व्यवहार गर्ने मान्छेका बारेमा लामो समयसम्म याद राख्न सक्छ । त्यतिमात्रै होइन, कागले आफूमाथि कुनै मानिसले गरेको भलाई वा खराब कामको बारेमा आफ्नो समूहका अरु कागलाई पनि जानकारी दिन्छ ।
३. सामाजिकताः काग पनि मानिसजस्तै अत्यधिक सामाजिक प्राणी हो । उनीहरु समूहमा रहन्छन् । उनीहरु मिलेर सिकार गर्छन् र सामूहिक रुपमा भोजन गर्छन् ।
४. सर्वाहारी पंक्षीः काग एक सर्वाहारी पंक्षी हो । यिनीहरु फल, अन्न, मासुदेखि फोहोरसम्म पनि खाइदिन्छन् । यद्यपि, काग आफ्नो परिस्थिति अनुकुलको भोजन खोज्न माहिर हुन्छ ।
५. संवाद कौशलः कागले आपसमा संवाद गर्न विभिन्न किसिमका अलग–अलग ध्वनीको उपयोग गर्छ । कुनै खरताको चेनावनी दिनुपर्यो वा कुनै पनि भिन्न परिस्थितिका बारेमा सम्वाद गर्दा भिन्न आवाजको प्रयोग गर्छ ।
६. उपकरणको उपयोगः काग कयौँ औजार र हतियारको उपयोग गर्न सक्षम हुन्छ । काठ, पातपतिङ्गर, ढुंगा लगायत वस्तुहरुको उपयोग गरेर खाना निकालेको हामीले देख्न सक्छौँ ।
७. संस्कार र शोकः काग पनि हामी मानिसजस्तै आफ्ना मृतक साथिप्रति ज्यादा संवेदनशील हुन्छन् । कुनै एउटा काग मरेको छ भने उसका सबै साथिहरु त्यसलाई घेरिरहेका हुन्छन् । मानौँ त्यहाँ उनीहरु घटनाको अनुसन्धान गरिरहेका छन् र केही सिकिरहेका छन् । यसलाई उनीहरुको ‘शोक मनाउने शैली’ मानिन्छ ।
८. मिहेनतीः ‘संस्कृत सुभाषिता’मा विद्यार्थीको पाँच लक्षण बताइएको छ । ‘काकचेष्टा बकोध्यानं श्वाननिद्रा तथैव च। अल्पहारी गृहत्यागी विद्यार्थी पंचलक्षणम्॥’ भनिएको छ । यसको अर्थ कागको जस्तो प्रयत्न वा मिहेनत, बकुलाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, थोरै खाने र घरदेखि टाढा सदाचारयुक्त जीवन बाँच्ने मानिसमात्रै विद्यार्थीको रुपमा सफल हुन्छ भन्ने हो । यस भनाइले पनि कागलाई अथक मिहेनत गर्ने र प्रयत्न गरिरहने प्राणिको रुपमा अथ्र्याएको छ ।
धार्मिक मान्यताहरु
काग (कौवा)लाई खीर, दहि खुवाउँदा सबै ग्रह दोष शान्त हुने मान्यता छ । काग निकै बुद्धिमान हुन्छन् । स्मरणशक्ति पनि तेजिलो हुन्छ । काग भविष्यद्रष्टा पनि हुन्छ । यसलाई रोटी खुवाउने हो भने कुण्डलीको कालसर्प दोष शान्त हुने मानिन्छ ।
कागलाई यसराजको दूत वा प्रतीकका रुपमा मानिन्छ । त्यसकारण उसलाई नियमित भोजन खुवाउँदा यमराज खुसी हुन्छन् भन्ने मान्यता छ । सन्तान प्राप्ति हुन नसकेका परिवारले पनि कौवालाई नियमति भोजन गराउँदा सन्तान प्राप्त हुन्छ भन्ने पनि पौराणिक मान्यता छ । यसरी रोटी वा खाना खुवाउनु अघि पानीमा डुबाएर खुवाउँदा लाभ हुने भनाइ छ ।
ज्योतिष शास्त्रमा न्यायका देवता र कर्मफलदाता भनेर चिनिने शनि देवको बहान पनि काग नै हो । शनि त्यस्तो ग्रह हो, जसले राहु र केतुजस्ता अरु दुई छायाँ ग्रहलाई आफ्नो अनुकुल चलाउँछ । कालो कागलाई शनि देवको पनि प्रतीक मानिन्छ । त्यसैले कागलाई खाना खुवाउँदा शनिको साढेसाती वा अढैया दशाको नकारात्मक प्रभाव कम गर्न सघाउ पुग्छ ।
मनमा कुनै अनिष्ठ हुने संभावना वा खराब विचार उठिरहेको छ, शत्रुबाट तनाव खेप्नुपरेको छ भने पनि कागलाई तेलमा रोटी चोपेर खुवाउँदा विस्तारै समस्या हल हुने बताइन्छ । ऋणबाट मुक्ति पाउन वा कार्यक्षत्रमा सफलता पाउन पनि कागलाई खाना खुवाउनु राम्रो मानिन्छ ।
पितृदोषबाट मुक्त हुन पनि कागलाई खाना खुवाउनु आवस्यक हुने विभिन्न पुस्तकमा उल्लेख छ । कागको शरीरमा जुनसुकै आत्माले सबैभन्दा सहज ढंगले प्रवेश गर्न सक्छ भन्ने मान्यता सनातन धर्मालम्बीमा छ । त्यसैले पितृपक्षमा आफ्ना पितृहरु कागको शरीरमा प्रवेश गरेर आउँछन् भन्ने मान्यताको आधारमा कागलाई अन्न खुवाइन्छ ।
यस्ता कयौँ मान्यता र प्रमाणले कागलाई विशिष्ट बनाएको छ । त्यही विशिष्ट प्राणीलाई संरक्षण र सम्बद्र्धन गर्न हिन्दु समाजले यसको पूजन गर्ने गरेको छ ।