दीपावलीमा महालक्ष्मीको स्वागत कसरी गर्ने ?

हरियो गोबरले लिपेको
लक्षिमी पूजा गरेको
हे औँशी बारो, गाईतिहारो…. भैलो
यादव खरेलले लेखेको यो गीत शम्भुजित बास्कोटाको संगितमा लोचन भट्टराई र नूतन प्रधानले गाउँदा गौरी मल्ल छमछमी नाचेकी थिइन् । २०५४ सालमा रिलिज भएको फिल्म ‘स्वर्ग’मा यो गीत सुन्न र हेर्न पाइन्छ । यही गीतमा भनिएजस्तै सामान्यतया ‘गाई तिहारे औँशी’को राती लक्ष्मी पूजा गर्ने गरिन्छ ।
तर अचेल तिथिको घटबढले यो साल पनि लक्ष्मी पूजा आजै अर्थात् कुकुर तिहारकै दिन गर्नुपर्ने भएको छ । आज दिउँसो सवा ४ बजेदेखि चतुर्दशी सकिएर औँशी तिथि आरम्भ हुने छ । औशी तिथि भोलि साँझ ६ बजेर ३६ मिनेटसम्म मात्रै रहन्छ ।
देवी महालक्ष्मीको शक्ति आरधना गर्दा मध्येरातमा जाग्राम बस्ने चलन छ । यही जाग्रामलाई सहयोग पुर्याउन र सुतेका भक्तजनलाई पनि जगाउन भनेर यस रात भैलो खेल्ने चलन सुरु भएको हो । माता महालक्ष्मीकै स्वरुप मानिने कुमारी कन्याहरुले घरघरमा पुगेर भैलो घन्काउँछन् । उनीहरुलाई कार्तिक दान गरेर भक्तजनले पून्य कमाउँछन् ।
तिहारको यही रोमाञ्चक संरचना अनुसार औँशीको रातमा माता महालक्ष्मीको आरधना गर्न लक्ष्मी पूजा गर्ने, दीपावली गर्ने र रातभर श्रीसूक्त लगायतको पाठ गर्ने, नवार्ण मन्त्र र अन्य लक्ष्मी मन्त्र तथा कुवेर र गणेशका मन्त्रहरु जप गर्ने गरिन्छ ।
लक्ष्मी पूजामा माता लक्ष्मी र उनका सुपुत्रका रुपमा गणेश जीलाई पनि सँगै पूजा गरिन्छ । धनको देवता कुवेरको पनि पूजा हुन्छ । तर आर्यहरु कुवेरलाई ‘लोभी’ मान्दछन् । त्यसैले लक्ष्मीको आदेशमा पनि कुवेरले कञ्जुस्याईँ गर्ने भन्दै गणेशको गुहार लगाएर प्रसस्त धन दौलत एवम् ऐश्वर्यको कामना गर्ने गरिन्छ ।
दीपावली लक्ष्मी पूजाकै एक अंश हो । लाटोकोसेरोलाई बहान बनाएर अँध्यारो रातमा संसारको अवलोकन गर्नेवाली माता महालक्ष्मीलाई स्वागत गर्न मानिसहरुले घर, कोठा, चौकोस, बाटो, मठ सबैतिर उज्यालो पार्छन् । यसका निम्ति दीपावली गर्ने गरिएको छ ।
दीपावली र भेद

हिन्दु समाजमा मूलतः दुई भेद छ । एउटा वैष्णव र अर्को शैव–शाक्त परम्परा । भारतको काँशी र गङ्गा मैदानमा वैष्णव संस्कृतिले जरा गाढेको छ । त्यसै कारण उनीहरु आफ्ना परम्परालाई ‘वैदिक’ भन्छन् । हिमालय क्षेत्र (नेपाल र उत्तरी भारत) को परम्परालाई ‘तान्त्रिक’ भन्ने गरेका छन् ।
अर्कातर्फ वैष्णवहरु समय–चक्रमा पनि भिन्नता देखिन्छन् । उनीहरु मूलतः त्रेता युग र रामलाई महत्व दिन्छन् । शैव–शाक्त परम्परामा सत्यगुगका घटनालाई ज्यादा महत्व दिइएको पाइन्छ । यी कारणले भारत र नेपालका कयौँ परम्परामा भिन्नता छ । यसैको उपज हो, हाम्रा दशैँ, तिहार ।
दशैँमा भारतमा श्रीरामले रावणसँग ‘युद्ध जितेको दिन’ भनेर विजया दशमी मनाइन्छ । दशैँलाई दशहराको रुपमा मनाइन्छ । तर नेपालमा माता दुर्गाको आरधना गरिन्छ । सत्ययुगमा कयौँ महाबली दानवहरुको संहार गरेको कथा प्रसंग जोडेर दुर्गाको आरधना गरिन्छ ।
त्यस्तै दीपावलीको सम्बन्धमा पनि यही भेद छ । भारतमा राम लंकाको युद्ध जितेर अयोध्या आइपुगेको दिन दीपावली गर्ने भन्छन् । तर नेपालमा माता महालक्ष्मीको स्वागतमा दीपावली गरिन्छ । यसले पनि भारतीय वैष्णव परम्परामा पुरुष प्रधानतालाई पुजिन्छ भने नेपाली शैव–शाक्त परम्परामा नारीलाई पुजिन्छ ।
यसैले नेपाल र नेपाली भाषा तथा संस्कृतिको प्रभाव परेको स्थानमा मातृशक्तिको पूजा गरिन्छ । भारतको पश्चिम बंगालमा पनि मातृशक्ति पूजा गर्ने चलन छ । पछिल्लो समय मानिसहरुमा धन पैसाको महत्व बढ्दै गएको छ । यसले भारतमा पनि माता लक्ष्मीको पूजा गर्ने प्रबृत्ती विस्तारै बढ्न थालेको छ ।
कसरी भित्र्याउने लक्ष्मी ?

घरमा अन्न धेरै भित्रियोस् भनेर लक्ष्मीको पूजा गरिन्छ। घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिड्ने बाटो तयार गरिन्छ। त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुत्लामा बत्ती बाल्ने गरिन्छ।
आज धन-धान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मी पूजा मनाइन्छ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरको चारैतिर सफा सुग्घर गरीआँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।
जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्ने भन्दै लक्ष्मी पूजाको महिमा सुरु भएको धार्मिक विश्वासका आधारमा आजको दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीको पूजा र दीपावली गरेर गर्ने परम्परा रहेको हो । लक्ष्मी पूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ।
त्यसैले घरका झ्यालढोकाबत्ती बालेर झकिझकाउ पारिन्छन् । बत्ती बालेपछि लक्ष्मीमाता स्थापना गरिन्छ घरमा भएका गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी, फूलमाला आदि सामग्री चढाएर लक्ष्मीको पूजाअर्चना गरिन्छ ।
लक्ष्मीपूजाका दिन गरगहनाको पूजा गरिने भएकाले बजारबाट सूनचाँदी लगायत धनमाल किन्ने चलन छ । थन्क्याएर राखिएका पूराना गरगहना समेत आज झिकेर लक्ष्मीस्थापना गरिएको कोठामा विधिपूर्वक राखी पूजा गरिन्छ ।
आज गाउँघर शहर बजारका घरघरमा केराको बोट गाडेर घरसजाएर लक्ष्मीपूजा गरिने हुँदा केराको बोटको बिक्री अत्याधिक हुने गर्दछ । मानिसहरु गाउँगाउँबाट केराको बोट ल्याएर बिक्री गर्ने गर्दछन् ।
लक्ष्मी पूजाको अवसरमा आज मानिसहरुले घरमा लक्ष्मीको पूजा गर्ने, घर सफासुग्घर राखी रङ्गीचङ्गी बिजुलीका बत्तिबाट झकिझकाउ पार्ने तथा दियोबाल्ने परम्परा छ भने ग्रामीण क्षेत्रका बालबालिका सन्ठीको विडो बनाएर हुकाहुकी खेल्ने चलन छ ।
आजकै लक्ष्मीको प्रतिक स्वरुप गौमाता अर्थात गाईको पूजा गरिन्छ । जनै पूर्णिमाका दिन नाडीमा बाँधेको रक्षा बन्धन (डोरो) फुकाएर त्यसैमा उनेको माला आज लक्ष्मी पूजाका दिन गाईलाई लगाईदिंदा सजिलै बैतर्णी नदी तर्न सकिने पौराणिक लिखत छ ।
लक्ष्मी पूजामा गाउँघरमा विशेष उल्लासका साथ गाईको पूजा गरिन्छ । तर शहर बजारमा भने गाई पाल्नेहरु निकै कममात्रै हुने भएकाले मनिसहरु गाईलाई खोजीखोजी पूजा गर्दछन् ।
कुनै पनि धार्मिक एवं पितृ कार्य सम्पन्न गर्दा पूजास्थललाई गोबरले लिपेर शुद्ध पारिन्छ । देवीदेवताको पूजा गर्दा गाईको दूधबाट बनाइने पञ्चामृत अनिवार्य चाहिन्छ । जुठो सुतक पर्दा शुद्ध हुन गौमुत्र (गहुँत) खाने चलन छ भने घर शुद्ध बनाउन पनि गहुँत छर्किनु पर्दछ ।
गाईको दूधबाट तयार हुने सवै परिकारहरु मानव शरिरका लागि अमृततुल्य र पोषिलो हुने गर्दछ । त्यहि भएर हिन्दू समुदायमा गाईलाई आमापछि कि माता भनि गौमाताका रुपमा पूजा गर्ने चलन छ । लक्ष्मी पूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन पनि छ ।
यो साल गाई तिहार भने भोलि शुक्रबारमात्रै परेको छ ।