तिहारमा के उपहार दिने ? यी हुन सक्छन् उपयुक्त विकल्प

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएको छ । तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, लगनखेल, बानेश्वर, कोटेश्वर, ठिमीलगायतका बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड लाग्न थालेको छ ।
विशेष गरी तिहारका लागि आवश्यक पर्ने, माटोका पाला, झिलिमिली बत्ती, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, भाइमसला, कपडा लगायतको किनमेल बढ्न थालेको छ ।
माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउने यस पर्वमा दाजुभाइ र दिदीबहिनीले एक अर्कालाई आफ्नो क्षमताअनुसार उपहार दिने लिने चलन समेत रहेको छ । दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवं दीर्घायुको कामनाको साथ यो पर्व मनाइन्छ ।
दिदीबहिनीले सप्तरंगी टिका लगाइदिएपछि एक अर्कालाई उपहार दिन चलन रहँदै आएको छ । खासगरी तिहारमा दिदीबहिनीले दाजुभाइलाई मिठामिठा परिकार खुवाउने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई क्षमताअनुसारको दक्षिणा, लत्ताकपडा लगायत उपहार दिने प्रचलन छ
पछिल्लो समय उपहार दिने प्रचलन पनि केही फेरिँदै गइरहेको छ । अहिले महंगा उपहार दिने प्रचलन बढेको छ ।
के दिने उपहार ?
तिहारमा आफ्ना दिदीबहिनीलाई दक्षिणामा केही दिनुपर्छ । यसका अलावा आफ्नो क्षमताअनुसारको उपहारहरू पनि सकिन्छ । स्मार्ट घडी, ह्याण्ड ब्याग, स्मार्ट फोन वा ग्याजेट, ज्वेलरी, सजावटको सामान पनि उपहारको रूपमा दिन सकिन्छ । त्यस्तै, मेकअपमा रुचि हुनेहरुलाई मेकअपको सामानहरु पनि दिन सकिन्छ । भगवानको मूर्ति, पेन्टिङ, कपडा कप/ मग, फोटो फ्रेम लगायतका उपहार पनि दिन सकिन्छ ।
त्यस्तै दाजुभाइलाई पनि आफ्नो क्षमताअनुसार स्मार्ट घडी, लत्ताकपडा, पर्स, मफलर, टोपी, पञ्जा, ज्याकेट, टिसर्ट, स्वेटर, जुत्ता आदि उपहार दिन सकिन्छ। उनीहरूको आवश्यकतालाई महसुस गरेर दिइने उपहारले महत्व राख्छ ।
यसका अलावा तिहारमा दाजुभाइ र दिदीबहिनीले एक अर्कालाई गिफ्टमा उपन्यास, कुनै जीवन उपयोगी किताबहरु, कथाका किताब, कुनै प्रख्यात व्यक्तिको जीवनीहरु पनि दिन सकिन्छ।
त्यसैगरी ड्राइफुट पनि उपहारका लागि राम्रो हुन सक्छ । दिदीबहिनीलाई उत्कृष्ट स्थानको भ्रमणमा पनि लैजान सकिन्छ ।
तिहारमा दक्षिणा र उपहार भन्दा पनि दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्धलाई महत्त्व दिनुपर्छ । एक-अर्कामा दीर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना नै सबैभन्दा ठूलो दक्षिणा वा उपहार हुन सक्दछ ।