विधि पुर्‍याएर कसरी गर्ने भाइटिकाको पूजा ? « Arthapath.com
१८ कार्तिक २०८१, आईतवार

विधि पुर्‍याएर कसरी गर्ने भाइटिकाको पूजा ?



काठमाडौं । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान, विभीषण, पर्शुराम अष्ट चिरञ्जीवीभित्र पर्छन ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो र सयपत्रीको माला चाहिन्छ । त्यसैगरि रोटी र मीठा–मीठा परिकार पनि तयार गरिन्छ ।

सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ ।

पानी र तेलले सात घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन र लाभाले पूजा गरी दाजुभाइको शीरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ ।

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ ।

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ। टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ। दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन ।


प्रतिक्रिया दिनुहोस्