पाँच वर्षमा लाग्ने गढीमाई मेला यो मंसिरमा, यस्तो छ कहानी
काठमाडौँ । हरेक ५ वर्षको अन्तरालमा मेला लाग्ने गढीमाई मन्दिरमा यो साल मैसिरमा मेला लाग्दै छ । बारा जिल्लाको बरियापुरमा लाग्ने गढीमाई मेला मंसिर १ गतेबाट सुरु हुने छ । यो मेला मंसिर ३० सम्म लाग्ने छ ।
गढीमाई मेला शुरु हुनु अगाडी नै दशैँको घटस्थपनाका दिन हजारौँ श्रद्धालु भक्तजन सहभागी भएर शोभायात्रा निकाल्ने गरिएको छ । यो साल पनि घटस्थपनाकै दिन शोभायात्रा निकालि सकिएको छ ।
गढीमाई मेला महिनाभर चल्ने भए पनि यसको विशेष पूजा भने मंसिर २३ देखि २५ सम्म हुने र ३० गते आईतबार विसर्जन गरिने मेला व्यवस्थापन समितिले जनाएको छ । विशेष पूजामा सहभागि हुन भक्तजनले ५०० रुपैयाँ मन्दिरलाई दान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
गढीमाईमा विशेष पूजाका रुपमा मंसिर शुक्ल सप्तमी तिथिमा झाँक्रीले विशेष तान्त्रिक पूजा गरी पञ्चबली दिने चलन छ । यसका लागि सबैभन्दा पहिले तान्त्रिक धामीले आफ्नो शरीरको पाँच अङ्गबाट रगत निकालेर चढाएपछि बलि खुल्छ ।
धामीले रातभर देवीको तन्त्रोक्त पूजा गरेपछि आफ्नै निधार, कान, जिब्रो, दाहिने छाति र दाहिने तिघ्राको रगत देवीलाई चढाउने गरिएको छ । यसलाई ‘नरबली’ भनिन्छ । त्यसपछि पञ्चबली सुरु हुन्छ । यहाँ सेतो मुसा, परेवा, हाँस, सुङ्गुर र राँगोको पञ्चबली दिइन्छ ।
थारु समुदायले पूजा गर्ने भएकाले पञ्चबली पनि थारु समुदायसँगै गाँसिएको छ ।
किम्बदन्तिमा के छ ?
मकवानपुर गढीमा माता तुलजा भवानीको मन्दिर थियो । त्यसैले उनलाई ‘गढीमाई’ भनिन्थ्यो । यो मन्दिर तुलजा भवानीमा समर्पित थियो ।
बारामा सिम्रौनगढ राज्य अलग्गै थियो । त्यहाँका राजा हरिहरसिंह देवले चौधौँ शताब्दीमा मुसलमानहरुको आक्रमणबाट जोगाउन माता तुलजा (तलेजु, तुर्जा, तलेजी आदि नामले पनि चिनिन्छ) भवानीलाई काठमाडौँ उपत्यका भित्र्याएका थिए ।
सिमरौनगढ (सिम्रौनगढ) त्यसबेलाको तिरहुत वा मिथिलाको राजधानी थियो । दिल्लीमा मुसलमान शासन चलिसकेपछि वर्तमान नेपालको तराई भेगका राज्यहरुमा पनि उसको आक्रमण हुन थाल्यो । सन् १३२५ मा मुसलमानको आक्रमणबाट जोगिन कर्नाटवंशी राजा हरिहरसिंह देवले आफ्नो परिवार र दलबल सहित तुलजा भवानीलाई पनि लिएर नेपाल राज्यमा छिर्न खोजेका थिए ।
तर काठमाडौँ उपत्यका प्रवेश गर्न नपाउँदै दोलखाको तीनपाटनमा उनको मृत्यु भयो । त्यसपछि उनकी रानी देवलदेवीले दलबलको नेतृत्व गरी नेपाल राज्यमा प्रवेश गरेको र तुलजा भवानीलाई पनि भक्तपुरमा स्थापित गरिएको मान्यता छ ।
तर यो कथा मकवानपुर गढीकी तुलजासँग जोडिन्छ । सम्भवतः सेन बंशको राज्य रहेकै बेलामा भगवानदास थारु नाम गरेका एक व्यक्ति हत्या आरोपमा जेल परेका थिए । उनलाई एक दिन सपनामा माता तुलजा भवानीलाई आफूलाई आफ्नै स्थानमा फर्काउन आग्रह गरिन् भन्ने किम्बदन्ति छ ।
माताले निद्रामा प्रकट भएर ‘मलाई तिम्रो गाउँमा स्थापित गर । त्यसपछि मात्रै तिमी जेलमुक्त भएर तिम्रा दुःख नास हुन्छन्’ भनिन् । त्यसपछि भगवानदासलाई एक त्रिशूल दिइन् । उज्यालो भएपछि उनले यो घटना प्रशासनलाई सुनाए र त्रिशूल देखाए ।
त्यसपछि सरकारले उनलाई जेलमुक्त गरिदियो र उक्त त्रिशूल स्थापित गर्न लगायो । उनै भगवानदासले बरियापुर (वर्तमान गढीमाई मन्दिर)मा लगेर त्रिशूल गाढे र पूजा गर्न थाले । तिनै थारुका सन्ततीले अहिले पनि मन्दिरको पुजारीको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।
यो किम्बदन्ति १७ औँ शताब्दीदेखि चलिआएको बताइन्छ । अहिलेका पुजारी मंगल थारु आफूलाई भगवान दासको १० औँ पुस्ता मान्छन् ।
को हुन् तुलजा भवानी ?
अहिले भक्तपुर, काठमाडौँ र लतिलपुर तिनै प्रमुख शहरका दरबार क्षेत्रहरुमा तलेजु भवानीको मन्दिर स्थापित छन् । यी मन्दिरहरुमा नेवार समुदायका कर्माचार्य, जोशी, राजोपाध्यायहरुले पूजा गर्ने गरेका छन् । अहिले काठमाडौँ वसन्तपुर स्थित हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिर हरेक साल बडादशैँको नवमीका दिनमात्रै सर्वसाधारणका लागि खुला गर्ने गरिन्छ ।
कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौती, नाला लगायत स्थानमा पनि तलेजु भवानीको पूजा आरधना गरिँदै आएको छ । दक्षिण भारतको हैदराबाद र तिब्बतमा पनि तुलजा भवानीको मन्दिर छ ।
तलेजुलाई मल्ल राजाहरुले आफ्नो इष्टदेवीका रुपमा पूजा गर्दै आएका थिए । राजा रत्न मल्लले सबैभन्दा पहिले तलेजुको मन्दिर बनाएको बताइन्छ ।
तर अहिले वसन्तपुरमा भएको मन्दिर चाहीँ वि.सं. १६२० मा राजा महिन्द्र मल्लले बनाएका हुन् । नेपालमा प्रख्यात मुद्रा ‘महिन्द्र मल्लि’ उनकै पालामा चल्तिमा आएको हो । यही तलेजुको माथिल्लो तलाबाट राजा महिन्द्रले उपत्यकाको शहर नियाल्ने गरेको र जनताको घरको धूरीबाट धुवाँ निस्किएपछि मात्रै आफूले खाना खाने गरेको किम्बदन्ति पाइन्छ ।
तर १५ औँ शताब्दीका अभिलेखहरुमा तत्कालिन मल्ला राजाहरुले तलेजु भवानीलाई अधिकतर ‘मन्मानेश्वरी’ भनी सम्बोधन गरेको पाइन्छ । वि.सं. १७५५ मा भूपतीन्द्र मल्लले र १७५६ मा जितामिश्र मल्ल र योगनरेन्द्र मल्लले मिलेर तलेजु चोकमा राखेको अभिलेखमा ‘श्री ३ तलेजु’ उल्लेख गरेको पाइन्छ ।
यी आधारहरु केलाउँदै केही इतिहासविदले ‘मानेश्वरी देवी’ उपत्यकामा लिच्छविकालिन समयदेखि नै अर्थात् मानदेवकै पालदेखि भएको र सिम्रौनगढका राजाले नल्याएको बताउँछन् । मल्लकालिन समयदेखि तलेजु मन्दिर पालुङ शहरको बीचमा रहेको प्रमाणहरु पनि पाइन्छन् । तर काठमाडौँ उपत्यकाका शिलालेख तथा अन्य प्रमाणमा तुलजा नामको प्रगोग गरेको पाइँदैन ।
भातरको महाराष्ट्रका भोस्लेवंशी राजा छत्रपति शिवाजी महाराज र उनको वंशले पनि कुलदेवीको रुपमा तुलजा भवानीलाई मान्ने गरेको थियो । नेपालमा थुप्रै राजवंशले तुलजा वा मानेश्वरीलाई इष्टदेवीको रुपमा मान्ने गरेको देखिन्छ ।
तुलजालाई महिसासुर मर्दिनी पनि भन्ने गरिन्छ । उनले महिसासुर दैत्यको संहार गरेको कथन महाराष्ट्रमा प्रख्यात छ ।
संसारको सबैभन्दा ठूलो बलि
गढीमाईमा विश्वकै सबैभन्दा ठूलो बलि संस्कार दिने गरिएको छ । एकै स्टानमा ३५ हजारभन्दा धेरै राँगा र हजारौँ बोकाको बलि चढ्ने गरेको गढीमाईमा पछिल्ला वर्षमा बलिको संख्या केही कम भएको छ । पशु अधिकारकर्मीको चर्को विरोधका कारण मानिसहरु केही हच्किएको भए पनि आफ्ना भाकल पुरा भए पछि बलि चढाउने गरिएको छ ।
यसअघि हरेक मेलामा २ लाखभन्दा बढी पशुको बलि दिने गरिएको थियो । बलि नचढाउनेहरुले भने अचेल मन्दिरमा पुगेर परेवा उडाउने नयाँ प्रचलन बढ्दै गएको छ ।
यस वर्ष पनि १००० विगाह क्षेत्रमा मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापक समितिले जनाएको छ । मेला अवधिमा नेपाल र भारतका गरी करीब २ करोड मानिसले मन्दिर दर्शन गर्ने अनुमान छ । यसमध्ये ६० देखि ७० प्रतिशत भक्तजन भारतबाट आउने गरेको स्थानीय बताउँछन् ।