१५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काट्छौं : कुलमान

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन फेरि काटिने बताएका छन् । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
‘हामीले मन्त्रिपरिषद्को निर्णयानुसार उद्योगहरूमा पुन: लाइन जोडेका छौं । यसअघि पनि ३ पटक उद्योगहरूको लाइन विच्छेद गरेका थियौं । तर सरकारको निर्देशनमा पुन: लाइन जोडियो । ४ औं पटक कात्तिक ८ गते लाइन काटियो । सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएको छ । हामी १५ दिन भित्र बक्यौता उठाउन लाग्नेछौं । त्यस अवधिमा बक्यौता नबुझाउने हो भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं,’ उनले भने ।
कानुनी रूपमा बक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको र त्यसलाई मान्नुपर्ने बाध्यता रहेको उनले सुनाए । अब बक्यौता उठाउने जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि भएको उनले बताए ।
डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
उनले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको बताए । टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने उनको भनाइ थियो ।
उनले पटक पटक लाइन काट्ने, फेरि जोड्ने र बक्यौता नउठ्ने क्रम अब रहनुनहुने बताए । विद्युत प्राधिकरणले औद्योगिक वातावरण बिगार्यो भन्ने आरोप लागे पनि प्राधिकरण उद्योगमैत्री रहेको जिकिर गरे । बक्यौता नतिरेर उद्योगीहरूले बक्यौतालाई विवादित बनाएर राजनीतिकरण गर्ने काम धेरै भएको उनले बताए । ‘बक्यौता तिर्नेभंदा बक्यौतालाई विवादित बनाउने र राजनीतिकरण गर्ने काम धेरै भयो’ उनले भने ।
विद्युत प्राधिकरणमा ठूला औद्योगिक घरानाका लाइन जोड्ने र सानाका १००० रुपैयाँ नतिर्नेको लाइन काट्ने अवस्था रहे प्राधिकरणको अवस्था नाजुक बन्ने समेत उनले बताए ।