नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउने, ३५ लाख ४७ हजार आर्थिक संकलन

नुवाकोट । नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयले आफ्नो ५० औं जन्म जयन्ती (स्वर्ण जयन्ती) मनाउने भएको छ ।
विद्यालयले विभिन्न कार्यक्रमहरू आयोजना गरि स्वर्ण महोत्सव पुस ७ मा गर्ने जानकारी गराएको हो । विद्यालयले गत मङ्सिर ३० गतेदेखि विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधिहरूसहित विशेष कार्यक्रमहरू गरेको छ ।
विद्यालयले ६१ सदस्यीय विद्यालय स्वर्ण जयन्ती मूल समारोह आयोजक समिति गठन गरिएको छ । समितिको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खतिवडा छन् ।
विद्यालयले उक्त अवसरमा आर्थिक सङ्कलन उपसमिति पनि गठन गरेको छ, जसको संयोजकता विकास खतिवडाले सम्हाल्दैछन् । उक्त समितिले हालसम्म ३५ लाख ४७ हजार ७१५ सङ्कलन गरेको छ ।
आर्थिक सङ्कलनका लागि अभिभावक, समाजसेवी, शिक्षाविद्, बुद्धिजीवी, जनप्रतिनिधि र विद्यालयका पूर्व विद्यार्थीहरूबाट स्वैच्छिक चन्दा संकलन भइरहेको जानकारी विद्यालय जनाएको छ ।

नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा र बागमती प्रदेशका सांसद राम प्रसाद ढुङ्गानाको विशेष आतिथ्यमा स्वर्ण महोत्सव उद्घाटन हुनेछ ।
समारोहमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, खेलकुद गतिविधिहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिने छ । साथै, स्वर्ण महोत्सवको सफलताका लागि आर्थिक र भौतिक सहयोग पुर्याउने दाता, जग्गा दाता, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मानित गरिने कार्यक्रम पनि समावेश गरिएको विद्यालयले जनाएको छ ।
आरुखर्क माध्यमिक विद्यालयले विसं २०३१ सालको पौष ७ गते औपचारिक रूपमा स्थापना भएको थियो । विद्यालयले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ ।