आरुखर्क माविको स्वर्ण जयन्तीमा उठ्यो साढे ६१ लाख, दुई वर्षभित्र उत्कृष्ट विद्यालय बनाउने लक्ष्य
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका– १ स्थित आरुखर्क माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीमा साढे ६१ लाख रुपैयाँ संकलन भएको छ ।
विद्यालयले गत पुस ७ गते आइताबर स्वर्ण जयन्ती भव्य रुपमा मनाएको छ । उक्त समारोहमा ६१ लाख ६६ हजार ३९८ रुपैयाँ आर्थिक संकलन भएको हो ।
आर्थिक सङ्कलन उपसमितिका अनुसार रसिद आय (आर्थिक सहयोग रसिद)र अक्षयकोषको योगदान पनि रहेको छ । जसमध्ये ७ लाख ५९ हजार ४७४ रुपैयाँ खर्च भएका उपसमितिका संयोजक विकास खतिवडाले जानकारी दिए ।
आरुखर्क मावि विसं २०३१ सालको पौष ७ गते औपचारिक रूपमा स्थापना भएको थियो । विद्यालयले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
विद्यार्थीलाई देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउन सक्षम बनाएको विद्यालयका प्रधानाध्यापक सुर्दशन खतिवडाले बताए । उनले विद्यालयको आर्थिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गरि अगाडि बढ्ने जानकारी दिए । आगामी दुई वर्षभित्र विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य रहेको उनको भनाई छ ।
स्वर्ण जयन्तीमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शनी गरिएको थियो । यसका साथै खेलकुद गतिविधिहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । साथै, स्वर्ण महोत्सवको सफलताका लागि आर्थिक र भौतिक सहयोग पुर्याउने दाता, जग्गा दाता, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मान पनि गरिएको विद्यालयले जनाएको छ।